Pokharapatra National Daily

काँग्रेसले कास्कीका तीन निर्वाचन क्षेत्रमा बिरोध प्रर्दशन

नेपाली काँग्रेस कास्कीको समन्वयमा क्षेत्रीय समितिको आयोजनामा सरकारले संसद् विघटन गरेको विरोधमा मंगलबार कास्कीका ३ वटै निर्वाचन क्षेत्रमा बिरोध प्रदर्शन गरेको छ ।
कास्की क्षेत्र १ को अर्घाैंचोक, क्षेत्र २ को सभागृहचोक, क्षेत्र ३ को पोखरा जिरो किलोमिटर तथा हरिचोकबाट प्रदर्शन सुरु गरिएको थियो । क्षेत्र १ को तालचोकमा, २ को सिमलचौरमा र ३ को बागलुङ बसपार्कमा विरोध सभा भएको थियो । वक्ताहरुले ओली नेतृत्वको सरकारले चालेको असंवैधानिक कदमका विरुद्ध नेपाली काँग्रेस सडकमा आएको बताएका थिए ।
तालचोकको विरोधसभामा बोल्दै पूर्व सभामुख एवं काँग्रेसका पूर्व महामन्त्री तारानाथ रानाभाटले कम्युनिष्ट सरकारले लोकतन्त्रमाथि ठाडो अपहरण गरेको टिप्पणी गरे । सरकारको असंवैधानिक कदम नसचिएसम्म आन्दोलन जारी रहने उनको भनाई थियो । कम्यूनिष्टहरुको कारण देशमा विदेशी शक्तिहरुले चलखेल गर्न लागेको नेता रानाभाटको भनाई थियो । सरकारको स्थिरताका लागि जनताको दुइतिहाइको अभिमत धोखा भएको उनले आरोप लगाए । पार्टीभित्रको विवादलाई लिएर लोकतन्त्र नै धरापमा पर्न गएको नेता रानाभाटको भनाइ थियो । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद्को विघटनको असंवैधानिक कदम, सरकारका पछिल्ला गतिविधिको बिरुद्ध र संविधानको रक्षाको लागि विरोध प्रदर्शन गरेको कास्की काँग्रेसका सभापति कृष्ण केसीले बताए । उनका अनुसार क्षेत्रगत रुपमा प्रदर्शन गरिएकोमा सम्बन्धित क्षेत्रका नेता तथा कार्यकर्ता आफ्नै क्षेत्रको प्रदर्शनमा सहभागी थिए । उनले सबैले अहिले सर्वोच्चको फैसला कुरिरहेको उल्लेख गरे ।
काँग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा पुस १६ मा पार्टी कार्यालय चिप्लेढुङ्गामा प्रवचन कार्यक्रम समेत गर्ने कास्की काँग्रेस प्रवक्ता नवीन सिग्देलले बताए ।

प्रतिकृया दिनुहोस्