Pokharapatra National Daily

मन्त्रालय अगाडिको पार्किङ क्षेत्रमै छैनन् सिसि क्यामरा

गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय तथा विभिन्न मन्त्रालय अगाडीको पार्किङ क्षेत्रमै हालसम्म सिसि क्यामरा जडान भएको छैन् । यसरी अति नै संवेदनशिल क्षेत्रमा हालसम्म सिसि क्यामरा जडान नहँुदा उक्त क्षेत्रमा हुने घटना तथा दुर्घटनाको बारेमा सत्य तथ्य पक्ता लगाउन आफुहरुलाई निकै मुस्किल पर्ने भएको सुरक्षा निकायले जनाएको छ ।
पोखराको केही भागमा सिसि क्यामरा जडान भए पनि गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय तथा विभिन्न मन्त्रालय अगाडीको पार्किङ क्षेत्रमा हाल सिसि क्यामरा जडान नभएको कास्कीका प्रहरी प्रमुख जीवन कुमार श्रेष्ठले बताए । उनले भने “पोखराका अति सम्वेदनशिल क्षेत्रमा सिसि क्यामरा जडानको लागि पोखरा महानगरसंगको समन्वय गर्दै छौं, शान्ति सुरक्षाको लागि अहिलेको अबस्थामा सिसि क्यामरा अनिवार्य जस्तै भएको छ ।” पोखराको बैदाम, रामबजार, जिल्ला प्रहरी कार्यालय अगाडी लगायतका ठाँउमा हाल सिसि क्यामरा जडान भएको बताएका एस.पी. श्रेष्ठले त्यसको अनुगमन (मनिटरिङ) थप व्यबस्थित ढंगले कार्यालयबाटै गर्ने तयारी गरेको बताए । यसैबिच, सोमबार दिउँसो करिब ३ः०० बजे गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय तथा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अगाडीको पार्किङ क्षेत्रबाटै एउटा स्कुटर चोरी भएको छ । नेपाल सरकारका पूर्व प्रशासक (पूर्व सिडिओ) नरहरी बरालको ग ४ प १५५३ नम्बरको स्कुटर चोरी भएको हो ।
पर्यटन मन्त्रालयमा केही कामले उक्त क्षेत्रमा पार्किङ गरी राखेको स्कुर करिब एक घण्टा पछि आउदा चोरी भएको उनले बताए । विभिन्न मन्त्रालय अगाडी दिउँसै स्कुटर चोरी हुनु लाजमर्दो घटना भएको पूर्व सिडिओ बरालले जनाए । कास्कीका अति नै सम्बेदनशिल सडक तथा पार्किङ क्षेत्रमा सिसि क्यामरा आवश्यक पर्ने कास्कीका ट्राफिक प्रहरी प्रमुख सन्तोस रोकाले बताए । दशैं अघि पोखरामा ९ वटा स्कुटर तथा मोटरसाइकल चोरी भएको जसमा दुई जनालाई पक्राउ समेत गरिएको उनले जनाए । स्कुटर चोरीमा संलग्न व्यक्तिको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्