Pokharapatra National Daily

देशभक्तसिंहको छेस्का संग्रह ‘सुहाना’ लोकार्पण, २ सम्मानित

अलौकिक कवि देशभक्तसिंह कुँवरको छेस्का संग्रह ‘सुहाना’ शनिबार पोखरामा लोकार्पण गरिएको छ ।
कृति लोकार्पण गर्दै प्राडा कुसुमाकर न्यौपानेले नेपाली साहित्यको श्रीवृद्धिमा ‘सुहाना’ थपिएको बताए । उनले स्रष्टा कुँवरले साहित्यका विभिन्न विधामा कलम चलाउँद आएकोमा खुसी व्यक्त गर्दै अझ प्रगतिको कामना गरे । पृथ्वीनारायण क्याम्पस नेपाली विभाग प्रमुख समेत रहेका न्यौपानेले नेपाली विभागको पुस्तक संकलन अभियानले साहित्यकार र समीक्षक जोड्नसमेत सहयोग गरेको भन्दै सहयोगको अपील गरे ।
कृति समीक्षा गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सूर्य खड्का विखर्चीले कविताका नयाँ नयाँ उपविधा पोखरामा भित्राउने स्रष्टा कुँवर आँसुकवि भएको बताए । राष्ट्रले उनको योगदानको सम्मान गर्नुपर्ने उनको जोड छ । कृतिमार्फत समाजका विकृति, विसंगति अलावा सुसंस्कृतिको उजागर गरिएको उनले बताए ।
लोककवि अलिमियाँ वाङ्मय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँले लगातार कृति प्रकाशित गरेकोमा स्रष्टा कुँवरलाई बधाई दिए । स्रष्टा कुँवरले साहित्यको साधनामा आफू निरन्तर लागिरहने प्रण गर्दै कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्णमा आभार प्रकट गरे । सो अवसरमा साहित्यकार रमा प्रासरलाई उत्कृष्ट साहित्यकार अवार्ड र लोकगायिका कमला सुनारलाई उत्कृष्ट लोकगायिका अवार्डसहित सम्मान गरिएको थियो । स्रष्टा परिचय संचारकर्मी अम्बिका राणा, स्वागत प्रतिष्ठान कोषाध्यक्ष संचारकर्मी तिर्सना गुरूङ र संचालन देवेन्द्र एसके शाहीले गरेका थिए ।
आयोजक अलौकिक कवि देशभक्तसिंह कुँवर प्रतिष्ठानका अध्यक्ष प्राडा यमबहादुर पौडेल क्षत्रीको अध्यक्षतामा भएको कार्यक्रममा कृतिमा समेटिएका केही छेस्का संचारकर्मी उषा सिग्देलले वाचन गरेकी थिइन् ।
स्रष्टा कुँवरका पछिल्लो ३ वर्षयता १० कृति पुस्तककारका रूपमा आइसकेका छन् । उनी साहित्यकार अलावा संचारकर्मी, मोडल, नायक, गायक, संगीतकार, रचनाकार, निर्देशक पनि हुन् । मेघा एफएमका प्रबन्ध निर्देशक उनी २०४८ सालदेखि कला साहित्यका विभिन्न विधामा क्रियाशील छन् ।

प्रतिकृया दिनुहोस्