Pokharapatra National Daily

रेडियो जननी ९०.६ को वार्षिक साधारणसभा

रेडियो जननी ९०.६ को ११औँ वार्षिक साधारणसभा शनिबार एक कार्यक्रमकाबीच सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथिं वरिष्ठ पत्रकार एवं रेडियो जननीका सल्लाहकार नारायण कार्कीले सुचना प्रवाहका निम्ति रेडियो एक सशक्त माध्यम रहेको बताउनुभयो । यस २१औँ शताब्दीमा पनि रेडियोको विकल्प नरहेको भन्दै यस्तो माध्यममा संलग्न हुन पाउनु नै सौभाग्यको कुरा रहेको उहाँले बताउनुभयो । ‘कोभिड–१९ ले विश्व नै आक्रान्त बनिरहेको अवस्थामा सञ्चार क्षेत्र पनि अछुतो छैन्, आर्थिक क्षेत्र धरासायी बनिरहेको यो अवस्थामा मिडिया क्षेत्रमा अझ चुनौती थपिएको छ, सोही कारण आर्थिक पाटोलाई सशक्त बनाउनुपर्छ, जसका निम्ति अरू क्षेत्र स्वस्थ्य हुनु आवश्यक छ,’ उहाँले भन्नुभयो । यसका निम्ति सबैको सहकार्य आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो । रेडियोले सुरूवाती अवस्थादेखि नै उद्मशीलताको क्षेत्रलाई विशेष जोड दिदैँ आएको भन्दै रेडियो जननी ९०।६ का अध्यक्ष मिलन थापाले यस विषम परिस्थितिमा पनि रेडियोलाई निरन्तरता दिदैँ आएको जानकारी गराउनुभयो । महामारीको रूपमा फैलिएको कोभिड–१९ का कारण रेडियो जननीका प्रमुख कार्यक्रमहरू समेत स्थगित गर्नुपरेको भन्दै समयानुकुल ती कार्यक्रमहरूलाई पनि निरन्तरता दिँदै जाने उहाँले बताउनुभयो ।
सो अवसरमा बोल्दै रेडियो जननी ९०।६ का संस्थापक अध्यक्ष हिरा भट्टराईले विभिन्न आरोहअबरोह पार गर्दै उद्मशिलता तर्फ लाग्ने नेपालकै पहिलो रेडियो रेडियो जननी रहेको बताउनुभयो । रेडियोलाई निरन्तरता प्रदान गर्न सम्पुर्णको सहकार्यको खाँचो रहेको समेत उहाँको भनाई थियोे । ‘स्थापनाकालको छोटो अवधिमा पनि रेडियोले समाजमा सकरात्मक प्रभाव पारेको छ, यसले रेडियोलाई आगामी दिनमा अझ सशक्त रूपमा अगाडि बढाउन हौसला मिलेको छ,’ भट्टराईले भन्नुभयो । कोरोना महामारीका कारण राष्ट्रिय सञ्चारमाध्यमहरू धरासायी बन्दै गईरहेको अवस्थामा मौफसलमा रहेर पनि रेडियो जननीले आफ्नो कार्यलाई निरन्तरता दिनु पनि आफैमा एक सफलता रहेको रेडियोका संस्थापक सेयर सदस्य एवं थ्री सिस्टरका प्रबन्ध निर्देशक लक्की कार्की क्षेत्रीले बताउनुभयो । संस्थापक सेयर सदस्य लक्ष्मी पाण्डले राज्यले मिडियामा सोचे अनुरूपले लगानी नगरेको भन्दै मिडियाको आर्थिक पाटो निकै कमजोर रहेको बताउनुभयो । उहाँले उद्मयमी वर्ग साथै समाजमा रहेका आवाजविहिनको आवाजलाई बुलन्द बनाउन रेडियो जननीले अझ प्रभावकारी भुमिका खेल्नेमा आफु विश्वस्त रहेको बताउनुभयो । सो कार्यक्रममा सफल मिडिया प्रा।लिका निर्देशक एवं रेडियो जननीका सल्लाहकार दुर्गा हुमागाईले कोभिडको असरबाट मिडिया अछुतो नरहेको भन्दै चुनौतीलाई आत्मसाथ गर्दै अगाडि बढ्न सुझाव दिनुभयो । साथै मिडिया क्षेत्र निकै प्रतिस्पर्धात्मक रहेको यस समयमा रेडियो जननीले समाजमा छुट्टै छाप छोड्न सफल भएको प्रति उहाँले खुसी व्यक्त गर्नुभयो । रेडियो जननी ९०.६ का प्रवन्ध निर्देशक सविता शेरचनले रेडियोलाई प्रत्यक्ष एवं अप्रत्यक्ष रूपबाट सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिदैँ आगामी दिनमा पनि यस्तै साथ सहयोगको अपेक्षा रहेको बताउनुभयो । कार्यक्रममा रेडियो जननीका अध्यक्ष मिलन थापाले २०७४–७७ को प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने रेडियोका सेयर सदस्य एवं कोषाध्यक्ष जुना पन्तले रेडियोको २०७४–७७ बिच भएगरेका आयव्ययको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । रेडियोका कानुनी सल्लाहकार दामोदर अधिकारी, सेयर सदस्य एवं कर्मचारीको उपस्थिति रहेको सो कार्यक्रममा संस्थामा रहेर संस्था संचालनमा पु¥याएको योगदान स्वरूप रेडियो जननीका कर्मचारीहरूलाई सम्मानपत्रद्वारा सम्मानसमेत गरिएको थियो । रेडियो जननीका अध्यक्ष मिलन थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन सचिव हसिना बस्नेतले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्