Pokharapatra National Daily

सगरमाथाको उचाइ आठ हजार ८४८.८६ मिटर

विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले बढेर आठ हजार ८४८.८६ मिटर कायम भएको छ ।
नेपालले पहिलोपटक आफ्नै स्रोत, साधन र जनशक्तिले सगरमाथाको उचाइ मापन गरेको सुखद् घटनाले केवल सगरमाथाको उचाइका निम्ति मात्र नभई विश्वमा नेपालको पहिचान बढेको छ । यसले नेपाल र नेपालीको सम्मान र स्वाभिमान पनि बढेको सरकारका वरिष्ठ मन्त्रीहरूले उल्लेख गरेका छन् । सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्न मंगलबार आयोजित समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सगरमाथाको उचाइ बढ्नु नेपालका निम्ति अविष्मरणीय र गौरवपूर्ण घटना भएको बताए “नेपालको पहिचान र गौरवको रुपमा रहेको सगरमाथाको उचाइ मात्र घोषणा भएको छैन, नेपालले आफ्नै जनशक्ति र स्रोत व्यवस्थापन गरी नेपाली प्राविधिकबाट भएको यो अविस्मरणीय र गौरवपूर्ण क्षणले नेपाली प्राविधिक क्षमताको उचाइमाथि पुगेको छ, यस कार्यमा संलग्न सम्पूर्णमा हार्दिक बधाई दिन चाहन्छु”, परराष्ट्र मन्त्री ज्ञवालीले भने । उहाँले सगरमाथाको उचाइ घोषणासँगै सगरमाथाबारे आधिकारिक, वैज्ञानिक तथ्य आम सहमतिमा प्राप्त भएको उल्लेख गरे । उनले अगाडि थपे ‘‘हामी सबैलाई थाहा छ, सगरमाथाको उत्तरी पाटो जनवादी गणतन्त्र चीनसँग सम्बद्ध छ ।
यसको उचाइ संयुक्त रुपमा घोषणा गरिनु आवश्यक पनि थियो विश्वसनीयताका लागि । खुशीको कुरा नेपालको नापी विभागले शुरु गरेर डेटा प्रोसेसिङ गरी जुन बिन्दुमा ल्याएको थियो ।
चिनियाँ मित्रहरूले गरेको सर्भे र उहाँहरूको तथ्याङ्क प्रशोधनमा पनि सोही तथ्य सही रुपमा देखापरेका छन्, यसले अब तथ्य र एकरुपता पनि कायम गरेको छ ।” परराष्ट्रमन्त्री ज्ञवालीले भूमि व्यवस्था मन्त्रालयबाट यो वर्ष भएका दुई महत्वपूर्ण काम नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा र सगरमाथाको नयाँ उचाइ मापन कार्य सम्पन्न भएकामा मन्त्री अर्याललाई धन्यवाद ज्ञापन गरे ।
नेपालले करिब दुई वर्ष लगाएर उचाइ मापन गरेको थियो । गत वर्ष चीनका राष्ट्रपति सी चिनफिङ्को नेपाल भ्रमणका क्रममा दुवै देशले मिलेर सगरमाथाको उचाइ घोषणा गर्ने सम्झौता गरेका थिए । सोहीअनुरुप नेपाल र चीन सरकारले आज संयुक्तरुपमा सगरमाथाको उचाइ वृद्धि भएको घोषणा गरेका हुन् । अब सगरमाथाको उचाइ आठ हजार ८४८.८६ मिटर हुने भएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अर्यालले १७० वर्षे सगरमाथा मापनको इतिहासमा नेपाल आफँैले स्रोत व्यवस्थापन र जनशक्ति परिचालन गरेर सगरमाथाको उचाइ मापन कार्य सम्पन्न गरेसँगै सगरमाथाको उचाइबारे भएका दुविधा र आशङ्काको निवारण भएको बताइ ।
सगरमाथाको नयाँ उचाइ नेपालका तर्फबाट परराष्ट्र मन्त्री ज्ञवाली र चिनियाँ विदेशमन्त्री याङयीले भर्चुअल माध्यममार्फत संयुक्तरुपमा सार्वजनिक गरेका थिए । सो अवसरमा दुवै देशका राष्ट्रपतिको शुभकामना सन्देश पढेर सुनाइएको थियो । नेपालको तर्फबाट परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्रति विद्यादेवी भण्डारीको सन्देश पढेर सुनाएका थिए । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागले सगरमाथाको उचाइ मापन गरेको हो । विभागले रु १३ करोड खर्चेर झण्डै दुई वर्षको अवधिमा सगरमाथाको मापन कार्य सम्पन्न गरेको थियो ।
विसं २०७२ मा गएको भूकम्पपछि सगरमाथाको उचाइ घटबढ भएको हुनसक्ने विषयमा अन्तर्राष्ट्रिय बहस शुरु भएपछि नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ नापेको हो ।

प्रतिकृया दिनुहोस्