Pokharapatra National Daily

सराङकोटको धार्मिक तथा पर्यटन पूर्वाधार निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने

पोखरा १८ स्थित सराङकोटको धार्मिक एवं पर्यटन पूर्र्वाधार निर्माणमा गण्डकी प्रदेश सरकारले पुनः सहयोग गर्ने भएको छ । प्रदेश सरकारले यस अघि सराङकोट भ्यूटावर निर्माणमा करिब ९० लाख लगानी गरे पनि पुनः सराङकोट क्षेत्रको धार्मिक एवं पर्यटनको क्षेत्रमा सहयोग गर्ने प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहितका मन्त्रीहरुले बताएका हुन् ।
सराङकोट धार्मिक क्षेत्र विकास समितिले आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुलाई स्वागत तथा अवलोकन गर्न आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले प्रदेशको मुख्य आकर्षणको रुपमा रहेको सराङकोट क्षेत्रको विकास गर्न आफुहरु कटिवद्ध भएको बताए । प्रदेशको समृद्धिको मुल आधार पर्यटन तथा धार्मिक पर्यटन भएको उल्लेख गर्दै उनले गजेन्द्र मोक्षधाम त्रिवेणी, देवघाट, विन्ध्यवासिनी, सराङकोट, पुम्दीकोट हुदै मुक्तिनाथसम्म धार्मिक करिडोरको रुपमा विकास गर्नुपर्नेमा जोड दिए । दक्षिण तर्फ रहेको मित्र राष्ट्र भारतमा एक अर्व जनसङख्या हिन्दुधर्मलम्बी भएको बताएका मुख्यमन्त्री पोखरेलले चार धाम मध्य एक धाम मुक्तिनाथ समेत रहेकोले त्यसको प्रबद्र्धन गर्न सके धार्मिक पर्यटनबाट प्रदेशको आर्थिक विकास हुने दाबी गरे ।
कार्यक्रममा गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले शिव, पार्वती, गणेश भन्दा पनि जनता आफ्नो लागि ठुला भएको बताए । उनले भने “म जनताको सेवक हुँ, जनताको लागि पहिलो आधारभूत आवश्यकता के हो त्यसमा हाम्रो ध्यान केन्द्रित हुनुपर्छ, शिव, पार्वती, गणेशको मन्दिर बनाउर मात्र जनताको आवश्यकता पुरा हुन सक्दैन् ।” पर्यटन पूर्वाधार निर्माण गरेसंगै पर्यटकहरुलाई समय विताउने र घण्टौं समयसम्म भुलाउने स्थल नभए लगानी अनुसारको पर्यटनबाट आर्थिक लाभ लिन नसकिने मन्त्री बरालको भनाई थियो । प्रदेशका भौतिक पुर्वाधार, सहरी विकास तथा यातायात व्यबस्था मन्त्री कुमार खड्काले प्रदेश सरकारको बजेटको आधारमा जनताको आवश्यकतालाई मध्यनजर गरी बजेट विनियोजन हुने बताए । प्रदेशका पर्यटन उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री मणिभद्र शर्माले सराङकोटको पर्यटन प्रबद्र्धन गर्न आवश्यक बजेटको व्यबस्था गर्न पहल गर्ने जनाए । प्रदेशका कानून, संचार तथा प्रदेश मामिला मन्त्री बिन्दु कुमार थापाले सराङकोटको डाँडामा पर्यटन पूर्वाधार निर्माण भएसंगै यस क्षेत्रको बाटोलाई समेत स्तरोन्नती गर्नुपर्ने, सराङकोटको डाँडामा रहेको एनटिभिको टावरलाई स्थान्तरण गर्नुपर्नेमा जोड दिए । समितिका प्रमुख संरक्षक भागवत भाष्कर प.कमलनयन गौतमले सराङकोटको विकास विना पोखराको विकास अधुरो हुने बताए । पोखरा १८ का वडा अध्यक्ष रण बहादुर थापाले सराङकोटको विकासमा प्रदेश सरकराले उल्लेखनिय भूमिका खेलेको बताए । काग्र्रेंस नेतृ शारदा पौडेलले सराङकोटको विकासमा सवै एक हुनु पर्ने बताइन । समितिका अध्यक्ष प्रेम बहादुर जिसीले प्रदेश सरकार सहित अन्य सहयोगबाट सराङकोटमा हाल २ करोड ५० लाखको लागतमा भ्यू टावर निर्माण हुन लागेको बताए ।
सराङकोटको बृहत योजना अन्र्तगत हालसम्म करिब २० करोडको केही काम भएको बाँकी करिब २१ करोडको काम बाँकी रहेको समितिले जनाएको छ । समितिले भ्यूटावर, गणेश मन्दीर, हुमन कुण्ड सहितका भौतिक संरचना बनाउनै छ ।

प्रतिकृया दिनुहोस्