Pokharapatra National Daily

जनअपेक्षानुरूप काम गर्न निर्देशन

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले जनअपेक्षानुरूप काम गर्न वडाध्यक्ष एवं वडासचिवहरूलाई निर्देशन दिएका छन् ।
महानगरपालिकाको आर्थिक वर्ष २०७७÷७८ को बिहीबार आयोजित प्रथम चौमासिक प्रगति समीक्षा बैठकमा उनले स्वच्छ प्रणालीको विकास गरी वडा कार्यालयका समस्या समाधान गर्ने कार्यमा आफू लागिपरेको बताए । सुशासनको प्रत्याभूत हुने गरी काम गर्न आग्रह गर्दै जिसीले वडाले भोग्दै आएको आर्थिक व्यवस्थापनको समस्या केही दिनभित्रै समाधान हुने उल्लेख गरे । महालेखा परीक्षकको कार्यालय र नेपाल राष्ट्र बैंकले महानगरका वडामा खाता सञ्चालनको अनुमति दिइसकेकाले विगतजस्तो समस्या नहुने उनको भनाइ छ ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले जनताका काममा भएको ढिलासुस्तीमा प्रशासनलाई मात्र दोष दिन नहुने बताउ । बजेट बनिसकेपछि मात्र आफू पोखरा महानगरमा नियुक्त भएको भन्दै उनले समस्याको पहिचान गरेर निकास दिने गरी काम गर्ने बताए । कर्मचारी र जनप्रतिनिधिको साझा लक्ष्य जनताको सेवा नै भएकाले एक भएर अगाडि बढ्नुपर्ने उनले
बताए । महानगरपालिकाका शहरी योजना आयोगका उपाध्यक्ष डा आरसी लामिछानेले विकास जहिले पनि चलायमान हुने भएकाले भोलिका सन्ततिले याद गर्ने किसिमको विकास आजको आवश्यकता भएको औल्याए । बैठकमा पोखरा महानगरका ३३ वटै वडाका वडाध्यक्ष र सचिवले चार महिनाको अवधिमा गरेका भौतिक पूर्वाधारका काम बाटोघाटो, बिजुली, खानेपानी, पुलपुलेसा विकास निर्माण आदिबारे अवगत गराएका थिए । कोरोना भाइरस सङ्क्रमणका कारण विकासका काममा सोचेजस्तो प्रगति हुन नसकेको र वडाको विकास बजेट अपुग भएको, खाता सञ्चालन नहुँदा उधारोमा धेरै काम गर्नुपरेको उनीहरूको गुनासो छ ।
विशेषतः गाउँ विकास समितिबाट सिधै पोखरा महानगरमा गाभिएका वडाहरूले विकास बजेट थोरै हुनुलगायतका कारण जनअपेक्षानुसार काम हुन नसकेको समस्या सुनाएका थिए ।

प्रतिकृया दिनुहोस्