Pokharapatra National Daily

‘बन्दकोठामामै हराउँछ हाम्रो आवाज’ः द्धन्द्ध पीडित एकल महिला

द्वन्द्व प्रभावित एकल महिलाहरुले व्यवस्था बदलिए पनि अवस्थामा परिवर्तन हुन नसक्दा पीडितको आवाज बन्दकोठामा मात्रै सिमित हुने गरेको बताएका छन् ।
मानव अधिकारको लागि महिला, एकल महिला समूह गण्डकी प्रदेशले बुधबार पोखरामा गरेको संक्रमणकालीन न्यायको लागि द्वन्द्व प्रभावित महिलाहरुको पहुँच विषयक प्रदेश स्तरीय एक दिने कार्यशाला गोष्ठीमा सहभागी महिलाले पीडा र छटपटिका स्वरले कार्यक्रम हल गुञ्जेपनि कार्यक्रमसँगै आवाजहरु विलिन हुँदा न्याय पाउन नसकेको गुनासो गरेका हुन् । सहभागीहरुले परिवर्तित व्यवस्थाका लागि आफ्ना परिवारका सदस्यले बलिदानी गरेको स्मरण गदै पीडितले परिवर्तनको आभाष गर्न नसकेको बताएका हुन् । बागलुङकी द्वन्द्व पीडित जशोदा शर्माले २०५८ सालमा वेपत्ता भएका श्रीमान्को बाटो हेर्दा हेर्दैै १९ वर्ष बिताएका भोगाइहरु पोखिन । “राती कतै ढक ढक आवाज सुन्दा पनि श्रीमाननै आउनु भयो कि भन्ने हुन्छ, बेखबर श्रीमान्को सम्झनामा १९ वर्ष बित्यो, यथार्थ कहिले आउँछ ? भोग्नेको पीडा सुन्नेले अनुभुति गर्न सक्लान र ? ” उनले वेपत्ता परिवारको समस्याको लागि जुनै आयोग बने पनि पीडितलाई न्याय दिन नसकेको गुनासो गरिन ।
नवलपुरकी द्वन्द्वपीडित एकल महिला अमृृता सिग्देलले सत्यनिरुपण आयोगले पीडितका आवाज सुन्न नसकेको बताइन । नामको लागि गठन हुने र सेवा सुविधामा मात्र लिने आयोगले पीडितको पक्षमा काम गर्न नसक्ने उनको जिकिर थियो ।
पर्वतकी द्वन्द्व पीडित एकल महिला मनरुपा शर्मा २०६१ सालमा श्रीमान मारिएको पीडा सुनाउँदै न्याय नपाएसम्म शान्तिको अनुभूति हुन नसक्ने बताइन । उनले मानव अधिकार उल्लंघनका कुराहरु उठाउँदा शान्ति प्रक्रिया भत्किन्छ भन्ने मानसिकताले द्वन्द्व पीडितले न्याय नपाएको बताइन ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य विन्दुकुमार थापाले विगतको तुलनामा महिला सशक्त हुँदै अधिकारका लागि एकतावद्ध हुन थालेको बताए । “हिजो भन्दा आज महिलाहरु एकतावद्ध भएर अधिकारको लागि आवाज उठाउनु भएको छ । अब आउने दिनमा अझै सशक्त हुनुहोस् ।” महिलालाई राज्यले विनाधितो १५ लाख ऋण सस्तो ब्याजमा दिएको जानकारी दिदै उद्यमशिलतामो बाटोमा महिला आउने सके हिंसा र विभेदको अन्त्य हुँदै जाने उनको भनाइ थियो । सो अवसरमा उनले एकल महिलाले कहिकतै जग्गा पाएमा भवन निर्माणको लागि आर्थिक सहयोग गर्न प्रतिवद्धता समेत व्यक्त गरे ।
कार्यक्रममा संकल्पका निर्वतमान क्षेत्रीय संयोजक दुर्गा न्यौपानले एकल महिलाले रातो लगाउँदा झस्किने समाज अहिले परिवर्तन उन्मुख हुँदै गएको धारणा राखिन । उनले समातामूलक र न्यायिक समाजको लागि निरन्तर आवाज उठाएर समाजमा जगडिएका कथित मूल्य मान्यताको अवशेषलाई उखेलेर फाल्न एकल महिलाले आत्मवल बलियो बनाउनु पर्र्ने धारणा राखिन । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत टंक खनालले आत्मसम्माम पूर्वक बाच्ने मानवअधिकार मैत्री समाज निर्माणमा सबै जुट्नु पर्ने धारणा राखे । कार्यक्रमा एकल महिला समूह गण्डकीका अध्यक्ष प्रमिला तझ्याले एकल महिला सामाजिक आर्थिक मानसिक सांस्कृति विविध हिंसा र विभेदमा परेको उल्लेख गर्दै उनीहरुलाई मनोपरामर्श सहित आत्मनिर्भर बनाउन सीपसँग जोडेर लाग्नुपर्ने बताए । उनले कोभिड–१९ का कारण सिर्जित अवस्थाले पनि एकल महिलाले थप समस्या झेल्नुपरको बताए । समुहका जिल्ला अध्यक्ष जुना केसीले जिउँदा सतिका रुपमा रहेका एकल महिलाको अवस्था बदल्न समुुहले विभिन्न कार्यक्रम गर्दैआएको जानकारी दिइन ।
इन्सेक गण्डकीका कार्यक्रम संयोजक सवनम शर्माले द्वन्द्व प्रभावित महिला र एकल महिलाहरुको लागि संक्रमणकालीन न्यायको लागि द्वन्द्व प्रभावित महिलाहरुको पहुँच विषयमा अहिले सम्म भएका अभ्यासका बारेमा कार्यपत्र प्रस्तुत गरे । कार्यक्रममा कोसिस नेपालका मनोपरामर्शकर्ता जमुना शर्मा, नागरिक समाज सञ्जालका अध्यक्ष विष्णु बराल, वडा नं ३० का जनप्रतिनिधि रमा नेपालीले द्वन्द्व पीडित एकल महिलाको अवस्थाको बारेमा आआफ्नो धारणा राखेका थिए । सो कार्यशाला गाष्ठिमा प्रदेशका ८ जिल्लाका ५५ जनाको सहभागिता रहेको समूहका प्रदेश सचिव मिना अधिकारीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्