Pokharapatra National Daily

फुटबलको विकासमा सहयोग गर्छाै ः एन्फा कास्की अध्यक्ष गुरुङ

सामाजिक क्रियाकलापमा सक्रिय रहदै आएको पोखरा महानगरपालिका १ बगर स्थित भीमकाली क्लबको पहिलो साधारण सभा सम्पन्न भएको छ ।
पोखरामा एक कार्यक्रमको आयोजना गर्दै शनिबार पहिलो वार्षिक साधारण सभा सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङले गरे । सो अवसरमा बोल्दै अध्यक्ष गुरुङले भीमकाली क्लबको सामाजिक क्रियाकलापसँगै फुटबलको इतिहास सकरात्मक रहेको बताउदै आगामी दिनमा समेत निरन्तर लाग्नुपर्ने बताए ।
उनले आफ्नो कार्यकालमा विभिन्न अवरोधका बाबजुद पनि धेरै फुटबल प्रतियोगिता सम्पन्न गरेको स्मरण गर्दै भीमकाली क्लबलाई सक्दो सहयोग गर्नै प्रतिवद्धता व्यक्त गरे । ‘अहिले फेरी यो क्लब उठ्न खोजेको छ । भीमकालीसँग मेरो सानै देखीको सम्बन्ध छ, उनले भने, ‘अहिले दर्ता प्रक्रियामा छ । यसको लागि मैले सहयोग गर्ने प्रतिबद्धता जनाउँछु ।’ पोखरामा पछिल्लो समय लोकप्रिय बन्दै आएको सेभन ए साईड फुटबलले नै फुटबललाई जोखाउन सघाउ पुर्याएको बताउदै सबै मिलेर अघि बढ्नुपर्ने धारणा राखे ।
अध्यक्ष गुरुङले कास्कीको भिडाबारीमा फुटबलको ड्रिम प्रोजेक्ट निर्माण हुने उल्लेख गर्दै छिट्टै निर्माणको कार्य थालनी हुने जानकारी दिए । फुटबलको क्षेत्रमा काम गर्ने संस्था एन्फामा खेलकुद बुझेको र विगतमा फुटबलमै लागेका खेलाडीहरु आउनु पर्ने भन्दै भीमकालीका सदस्यहरुलाई सोही अनुरुप अघि बढ्न समेत सुझाएका थिए । उक्त कार्यक्रममा बगर भाईखलकका अध्यक्ष डिल बहादुर गुरुङ, बगर ट्याक्सी ईकाई समितिका अध्यक्ष रमेश बिक लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सोही अवसरका क्लबका भुतपूर्व सचिव भाईराज रानामगरलाई जेसीआईको महासचिव पदमा निर्वाचित भएको भन्दै सम्मान समेत गरिएको थियो । क्लबका अध्यक्ष कृष्ण गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्लबका सल्लाहकार प्रकाश गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने चाईना गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए । क्लबले यस अघि ‘कोभिड–१९’ कोरोना भाईरसको प्रभावलाई मध्यनजर गर्दै खुल्ला रक्तदान कार्यक्रमको आयोजना सहित विपन्न परिवारलाई राहात र वडा प्रहरी कार्यालयमा बगरमा विभिन्न स्वास्थ्य सामाग्रीहरु समेत वितरण गरिसकेको छ ।

प्रतिकृया दिनुहोस्