Pokharapatra National Daily

घरबासका लागि कौरा सिक्दै युवती

घरबास र सांस्कृतिक कार्यक्रम पर्यायवाची नै हो । घरबासमा पुग्ने पाहुना सांस्कृतिक कार्यक्रममा रमाउन चाहन्छन् । सोही कुरालाई मध्यनजर गर्दै तनहुँको भीमाद नगरपालिका–९ पाथर्दी सामुदायिक घरबास समितिले स्थानीय युवतीलाई कौरा नृत्य प्रशिक्षण प्रदान गरेको छ ।
गत वर्षदेखि शुरु भएको पाथर्दी सामुदायिक घरबासमा पर्यटकलाई आकर्षित गर्न समितिले पहिलोपटक यहाँका युवतीलाई कौरा नृत्य प्रशिक्षण दिएको हो । मगर समुदायमा निकै प्रचलित रहेको कौराले पर्यटक आकर्षित गर्न सक्ने भएकाले यहाँका युवतीलाई सहभागी गराइ कौरा नृत्य प्रशिक्षण गराइएको पाथर्दी सामुदायिक घरबास समितिका अध्यक्ष शिवकुमार आलेले जानकारी दिनुभयो । “घरबासमा आउने पर्यटकलाई स्वागत गर्न र नयाँपन दिन कौरा नृत्य देखाउन युवतीलाई यसबारेमा प्रशिक्षण दिएका छौँ”, उहाँले भन्नुभयो । सामुदायिक घरबास समितिको सांस्कृतिक विभागले २० जना युवतीलाई सहभागी गराई नृत्य सिकाएको छ । “पर्यटन र कृषिलाई सँगसँगै अगाडि बढाउने उद्देश्यले घरबास सञ्चालन गरेका हौँ”, उहाँले भन्नुभयो, “यसमा सांस्कृतिक पाटो पनि जोडिन्छ ।” मौलिक कला र संस्कृति जगेर्ना गर्दै थालिएको कौरा नृत्य प्रशिक्षणले पर्यटकलाई आकर्षित गर्नुका साथै संस्कृति संरक्षणमा पनि टेवा पुग्ने सोही वडाका अध्यक्ष इमानबहादुर थापाले बताउनुभयो । नृत्य निर्देशक सर्जन थापा मगरले युवतीलाई कौरा नृत्य प्रशिक्षण दिनुभएको छ । समितिका अध्यक्ष आलेका अनुसार यहाँका १० घरमा घरबास सञ्चालन गरिएको छ । यहाँ आउने पर्यटकलाई अर्गानिक खानेकुरा दिइन्छ । बोयर जातको बोकाको स्रोत केन्द्रका रुपमा परिचित यस गाउँमा प्रत्येक घरधुरीले व्यावसायिकरुपमा बाख्रापालनसमेत गरिरहेका छन् । अध्यक्ष आलेका अनुसार पर्यटकलाई भट्ट, कोदोको रोटी, ढिँडो, लोकल कुखुरा, निउरो लगायतका खानेकुरा दिइन्छ । “गत वर्षदेखि घरबास सञ्चालन गरिएको भए पनि केही व्यवस्थापनका काम अझै गर्न बाँकी छ”, आलेले भन्नुभयो, “तयारी हुँदै गर्दा कोरोनाले प्रभावित भयो ।” उहाँका अनुसार अहिले घरबास खुला नगरिएको र केही समयभित्रै सबै व्यवस्थापन सकाएर घरबास शुरुआत गरिनेछ ।
यहाँ आउने पर्यटकलाई सोही वडामा रहेको सिद्ध गुफा, चुलिडाँडा, इलुङ झरना लगायतको पनि भ्रमण गराइनेछ । पाथर्दी गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको मुख्यमन्त्री नमूना वातावरणमैत्री कृषि गाउँसमेत हो ।

प्रतिकृया दिनुहोस्