Pokharapatra National Daily

पोखराको ताल वराही मन्दिरमा पर्यटक जान थाले

कोरोनाको कारण ९ महिना देखि बन्द भएको पोखराको धार्मिक एवं पर्यटकीय गन्तव्य तालवराही मन्दिर बिहीबारदेखि पुनः खुल्ला भएसंगै पर्यटक जान थालेका छन् ।
कोरोनाको कारण गत चैत ११ देखि बन्द भएको तालवराही मन्दिर विहीबारदेखि निश्चित मापदण्ड लागु हुने गरी खुल्ला गरिएसंगै पर्यटक आगमन सुरु भएको तालवराही मन्दिर गुठी व्यबस्थापन समितिका अध्यक्ष हिकमत बहादुर कुवंरले बताए । उनका अनुसार अब बिस्तारै पर्यटकहरुको आगमन हुन्छ । बिहीबारदेखि मन्दिर भित्र एक पटकमा एक जना मात्र भक्तले दर्शन गर्न पाउने छन भने तालवराही मन्दिर प्रबेशमा एक तर्फ मात्र बाटो खुल्ला गरिएको छ ।
हात धुने र सेनिटाइजर गर्ने अनिवार्य मास्कको प्रयोग गर्ने र न्यूनतम २ मिटर टाडाको दुरी कायम गर्ने रणनिती अनुसार हाल मन्दिर खुल्ला गरिएको अध्यक्ष कुवँरले जनाए । लामो समय देखि मन्दिर बन्द हुदा आफुहरुको व्यवसाय राम्रोसंग संचालन नहुदा धेरै समस्या भएको फेवा डुंगा व्यवसायी संगठनका अध्यक्ष बुद्धिबहादुर नेपालीले बताए । मन्दिर खुल्ला भएसंग अब आफुहरु आशाबादी भएको उनले जनाए । यसैबिच, आगामी केही दिनमा पोखराको पर्यटकीय गन्तव्य शान्ति स्तुपाः समेत खुल्ला हुने भएको विश्व शान्ति स्तुपाः संरक्षण समितिका अध्यक्ष उत्तममान बुद्धचार्यले बताए । उनले भने“ प्राविधिक कारणशव हाम्रा ८ जना कर्मचारी मध्य हाल दुई जना मात्र स्तुपाः क्षेत्रमा रहेका छन शनिबार हाम्रो बैठक बसेर अब छिट्टै शान्ति स्तुपाः खुलाउने पक्षमा हामी छौं ।” कोरोनाको कारण लामो समयदेखि शान्ति स्तुपाः बन्द हुदा त्यस क्षेत्रमा सरसफाई सहितको अन्य तयारी गर्न केही दिन लाग्ने उनले जनाए । पोखराको धार्मिक पर्यटकीय गन्तव्य विन्ध्यवासिनी मन्दिर, पोखराको क्षेत्रिय म्यूजियम, पोखराको डेभिडफल लगायतका गन्तव्यहरु हाल खुल्ला भएका छन् ।
खुल्ला भएका पर्यटकीय एवं धार्मिक क्षेत्रमा पर्यटकहरुको आगमन सुरु भएको पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी बहादुर भट्टराईले बताए । उनले भने “अब कोरोनासंग स्वास्थ्य मापदण्ड पालना गर्दै पर्यटकीय गतिविधि संचालन गर्नुको विकल्प छैन, अब पर्यटकीय गन्तव्यहरु बन्द गर्नु हुदैन् ।” पोखराका केही धार्मिक एवं पर्यटकीय गन्तव्यहरु खुल्ला भएका छन भने केही अझै खुल्ला हुने क्रममा रहेका छन् ।

प्रतिकृया दिनुहोस्