Pokharapatra National Daily

उद्योगी–व्यवसायीको कुरा सुन्न र अप्रिय निर्णय नलिन कास्कीका सिडिओलाई पोउवा संघको आग्रह

पोखरा उद्योग वाणिज्य संघले लय समात्न लागेको उद्योग–व्यवसायलाई असर पार्ने कदम नचाल्न र सचेतनामूलक कार्यक्रम संचालन गर्न कास्की प्रशासनसँग माग गरेको छ ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइराला नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सोमबार कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई भेटी सो माग गरेको हो । कोभिड–१९ को दोस्रो लहर सुरु भएको भन्दै स्वास्थ्य मन्त्रालयले सूचना जारी गरेसँगै बढेको आशंकालाई मत्थर पार्नु प्रशासनको दायित्व भएको अध्यक्ष कोइरालाले बताए । ‘लामो लकडाउनले नेपालको अर्थतन्त्रमा पु¥याएको असरबारे सबै जानकार छौँ’, उनले भने, कोभिड–१९ मत्थर नभएको बेला सचेत बन्नुपर्छ, यसको लागि प्रशासनले सचेतताको लागि प्रचार गर्नुपर्छ ।
मास्क लगाउन र सामाजिक दूरी कायम गर्नुपर्छ तर बजार र व्यवसाय बन्द गरिनु हुँदैन ।’ लकडाउन र त्यसपछिको विषम परिस्थितिमा पोखरा उद्योग वाणिज्य संघले नागरिकलाई सचेत रहन सार्वजनिक आह्वान गरेको स्मरण गर्दै उनले कास्कीको सिडिओको रुपमा गौतमको कार्यकालको सफलताको कामना पनि गरे । सो अवसरमा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले संकटको बेला उद्योगी–व्यवसायीले सरकारलाई ठूलो सहयोग गरेको स्मरण गरे । राज्यकोष नै रित्तिन लागेको बेला व्यवसायीहरुले कर तिरेर ठूलो गुण लाएको बताउँदै उनले स्थानीय प्रशासन निजी क्षेत्रको समस्याप्रति जानकार र लचिलो भएको उल्लेख गरे । प्रतिनिधिमण्डलमा संघका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्की, महासचिव सुरेन्द्रमान बिजुक्छे, कोषाध्यक्ष बलराम आचार्य, उपमहासचिव केशवबहादुर खत्री र कार्यसमिति सदस्य हर्कबहादुर अधिकारी सहभागि थिए । उनीहरुले प्रमुख जिल्ला अधिकारीसमक्ष पोखरा नगर क्षेत्रको ट्राफिक र फुटपाथ व्यवस्थापन, शान्ति सुरक्षालगायतका विषयमा प्रशासनको ध्यान जानुपर्नेमा जोड दिएका थिए ।

प्रतिकृया दिनुहोस्