
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको नवनिर्मित कार्यालय भवनको शुक्रबार उद्घाटन गरिएको छ ।
महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले पोखरा महानगरपालिका–७ रत्नचोकमा कास्की शाखाको माथिल्लो तलामा निर्मित प्रदेश समितिको कार्यालय भवनको उद्घाटन गरेका हुन् ।
अध्यक्ष आचार्यले महासंघको नीति र कार्यान्वयनका लागि महासंघमा साझा नेतृत्व आवश्यक रहेको बताए । महासंघलाई पत्रकारको साझा संस्थाका रुपमा विकास गर्दै सबै अटाउने गरी नेतृत्व चयन गर्नुपर्नेमा जोड दिँदै उनले पत्रकारलाई नागरिक हितका लागि सदैव आवाज उठाउन आग्रह गरे । महासंघको इतिहासमा पहिलोपटक केन्द्र, प्रदेश र जिल्ला शाखाको एकैपटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत नेतृत्व चयन गरिने जानकारी दिँदै उनले आगामी चैत १६ गते स्थापना दिवसका दिन पदभार हस्तान्तरण गर्ने गरी निर्वाचन कार्यक्रम प्रकाशन गर्न निर्वाचन समितिलाई अनुरोध गरिएको जानकारी दिए । अध्यक्ष आचार्यले संस्थाको गरिमा बचाउन राजनीतिकरण अन्त्य हुनुपर्ने आवश्यकता औँल्याउदै हालको कार्यसमितिले निर्वाचित जनप्रतिनिधि र राजनीतिक पार्टीको पदाधिकारीमा रहेकालाई महासंघको सदस्यबाट हटाइएको बताए ।
गण्डकी प्रदेश सरकारको रु १४ लाख ५० हजार, प्रतिनिधिसभाका सांसद विद्या भट्टराईको निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषको १० लाख तथा अन्य सहयोगी दाताको आर्थिक सहयोग गरी कूल ३५ लाख लागतमा कार्यालय भवन निर्माण गरिएको निर्माण समितिका संयोजक इन्द्र पौडेलले जानकारी दिए । सांसद विद्या भट्टराईले लोकतान्त्रिक मान्यतालाई संस्थागत गर्न राज्य सञ्चालकबाट कन्जुस्याई हुने गरेको भन्दै त्यसका विरुद्ध पत्रकारले आवाज उठाउनुपर्ने बताउँदै लोकतन्त्रका मान्यतालाई जनताको बीचमा पु¥याउने दायित्वसमेत सञ्चारजगत्को रहेको स्पष्ट पारिन ।
महासंघ प्रदेश समितिका अध्यक्ष त्रिभुवन पौडेलले प्रदेश समितिको संस्थापक अध्यक्षको जिम्मेवारी लिँदै कार्यालय भवन बनाउने संकल्प लिएकामा त्यसलाई पूरा गर्न सफल भएको बताउँदै आउने नेतृत्वले भवनको सदुपयोग गर्न आग्रह गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यद्वय रामकृष्ण ज्ञवाली, नविन कुुँइकेल, प्रदेश समितिका उपाध्यक्ष शान्ति गुरुङ, महासचिव गणेश पौडेललगायतले कास्की शाखालगायत सबैको साथ र सहयोगबाट कार्यालय भवन निर्माण सम्पन्न भएको बताए
थिए ।