Pokharapatra National Daily

बसाईसराईका कारण गाँउका विद्यालय संकटमा

श्री शितला माध्यमिक विद्यालय गलेम, फेदीखोला स्याङजाले ६३ औं वार्षिक कार्यक्रम विविध कार्यक्रम सञ्चालन गरी फाल्गुन ९ गते आइतवार भव्यतापूर्वक सम्पन्न गरेको छ ।
सो अवशरमा विभिन्न वक्ताहरुले शहरमा वसाइ सराईका कारण ग्रामीण भेकका विद्यालयहरु संकटमा परेको धारणा राख्दै गाँउमा आर्थिका गतिविधि हुनुपर्नेमा जोड दिए । सो अवशरमा प्रमुख अतिथि फेदीखोला गाँउपालिकाका अध्यक्ष घनश्याम सुवेदीले फेदीखोला गाँउपालिकाले गाँउपालिकाको विकासका लागि प्रविधि, पूर्वाधार र प्रोत्साहनलाई जोड दिएको स्मरण गराए । उनले भने ‘गाँउको पैसा बजार गएको छ । गाँउलेका लागि आफ्नो भिरपाखा, वन, पानीको माया छ । आर्थिक कृयाकलाप अभावका कारण जीवनयापन गर्न गाह्रो छ ।’ सुन्दर र समुन्नत फेदीखोलाको नारा बोकेर गाँउपालिका अघि बढिरहेको स्मरण गर्दै सुवेदीले भने ‘अहिले गाँउपालिकाले बाँझो जमिनमा खेती गर्नेलाइ प्रति रोपनी २००० अनुदान दिएका छौँ ।’
सो अवशरमा फेदीखोला गाँउपालिका वडा नं.४ का अध्यक्ष माधव सुवेदीले भने ‘गाँउपालिकाले आफ्नै हावा, पानी, माटो चिनाउने गरी आफ्नै पाठ्यक्रम तयार गर्दैछ ।’ कार्यक्रममा फेदीखोला शिक्षा शाखा प्रमुख रामचन्द्र गरुङले भने ‘विद्यार्थी भनेको विद्यालयको मुटु हो ।’ आफ्नो सन्तानलाई सामुदायक विद्यालयमा पढाउन आग्रह गर्दै गुरुङले भने ‘गाँउको विकास गर्न व्यावहारीक शिक्षाका लागि प्रोजेक्टर समेत वितरण गरेका छौँ ।’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेजर दिलबहादुर गुरुङको सभापतित्वमा भएको शुभकार्यक्रममा कर्मफाइट फाउण्डेशनका म्यानेजिङ डाइरेक्टर प्रेमबहादुर कुँवर, साहित्यकार रवीन्द्र माकाजू, शिक्षक अभिभावक संघका अध्यक्ष, छविलाल शर्मा पौडेल, छात्रा नन्जिता गुरुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने विभिन्न छात्र,छात्राले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा कर्मफल्याइट फाउण्डेशनतर्फबाट विद्यालयलाई खेलकुद सामाग्री हस्तान्तरण गरिएको थियो ।

प्रतिकृया दिनुहोस्