विज्ञान प्रदर्शनीमा डिज्नील्यान्ड एकेडेमी प्रथम

विज्ञान शिक्षक समाज नेपाल जिल्ला कार्यसमिति कास्कीको आयोजनामा राष्ट्रिय विज्ञान दिवसको अवसरमा आयोजित स्ट्यान विज्ञान प्रदर्शनी २०८३ हालै सम्पन्न भएको छ ।
विद्यार्थीमा वैज्ञानिक सोच, खोज तथा अनुसन्धानको भावना, सिर्जनशीलता, नवप्रवर्तन र समस्या समाधान गर्ने क्षमताको विकास गर्ने उद्देश्यले आयोजित जिल्ला स्तरीय विज्ञान प्रदर्शनीमा कास्कीका २८ विद्यालयका ३६ समूहमा १ सय ३६ विद्यार्थी सहभागी भएका थिए । पोखरा–९, नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजित प्रदर्शनीमा विद्यार्थीहरूले विज्ञान तथा प्रविधिमा आधारित विभिन्न परियोजना तथा नमुना प्रस्तुत गरेका थिए । उनीहरूले वैकल्पिक ऊर्जा तथा दिगो समाधान, फोहोरमैला व्यवस्थापन, आधुनिक प्रविधि तथा स्मार्ट सिटी, स्थानीय प्रविधि र मौलिक नवप्रवर्तनलगायतका विषयमा सिर्जनात्मक परियोजना प्रदर्शन गरेका थिए । कार्यक्रमको उद्घाटन गण्डकी विश्वविद्यालयका कुलपति प्रा. डा. इन्द्रप्रसाद तिवारी र कार्यक्रमका सभापति महेशकुमार प्रधानले संयुक्त रुपमा ब्यानरमा हस्ताक्षर गरेर गरेका थिए । कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाइ, कास्कीका प्रमुख लोकनाथ आचार्य र पोखरा उद्योग वाणिज्य संघकी अध्यक्ष शोभा गौतम विशिष्ट अतिथिका रूपमा सहभागी थिए । कास्कीका अध्यक्ष महेशकुमार प्रधानको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कास्कीका सचिव दुर्गाप्रसाद सुवेदीले गरेका थिए । कार्यक्रम संयोजक भेषबहादुर केसीले साहित्यमय लयमा स्वागत गरेका थिए । विभिन्न परियोजनाको मूल्याङ्कनपछि डिज्नील्यान्ड एकेडेमी, मासबार प्रथम भएको छ । ताराकुञ्ज माध्यमिक विद्यालय, पाटनबेँसी द्वितीय र मदरल्याण्ड माध्यमिक विद्यालय, मासबार तृतीय भएका छन् ।
त्यसैगरी बालोदय माध्यमिक विद्यालय, बिरौटा चौथो भएको छ भने एक्स–आर्मी पब्लिक माध्यमिक विद्यालय र पिस जोन एकेडेमीले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः १६ हजार, १३ हजार र १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्, परियोजनाको मूल्याङ्कन डा. अनिल सुवेदी, डा. विदुर देवकोटा र डा. हेम चौलागाईंले गरेका थिए । विद्यालयस्तरीय विज्ञान तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले पालिका प्रोत्साहनअन्तर्गत विभिन्न स्थानीय तहबाट सहभागी विद्यालयलाई समेत सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । अन्नपूर्ण गाउँपालिकाबाट श्री धारापानी माध्यमिक विद्यालय, माछापुच्छ्रे गाउँपालिकाबाट श्री महेन्द्र माध्यमिक विद्यालय र पोखरा महानगरपालिकाबाट श्री कालिका माध्यमिक विद्यालय, रामबजारलाई पालिका प्रोत्साहनअन्तर्गत सम्मान गरिएको थियो । कार्यक्रम संयोजक भेषबहादुर केसीका अनुसार सम्मानित विद्यालयलाई प्रोत्साहनस्वरूप जनही चार हजार रुपैयाँ प्रदान गरिएको थियो ।













