अक्षर चिनेको विद्यालयको भविष्य उज्यालो बनाउन नेतृत्वमा दीपक कार्की

जीवनको पहिलो अक्षर चिनेको, सपनाको पहिलो पाइला टेकेको र बाल्यकालका अविस्मरणीय सम्झना बोकेको विद्यालयमा एक दिन नेतृत्व सम्हाल्ने अवसर सबैलाई प्राप्त हुँदैन । तर यही दुर्लभ अवसरलाई जिम्मेवारीका साथ आत्मसात् गरेका छन् दीपक कार्कीले । आफूले कक्षा १ देखि ५ सम्म अध्ययन गरेको शीतलादेवी सामुदायिक माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा सर्वसम्मत चयन भएपछि उनी आफ्नै विद्यालयलाई गुणस्तरीय शिक्षा, अनुशासित वातावरण र उत्कृष्ट शैक्षिक गन्तव्य बनाउने अभियानमा जुटेका छन् ।
सानो कद, सरल स्वभाव, थोरै बोल्ने तर व्यवहारबाट सबैको मन जित्ने कार्की आफ्नो परिचय शब्दले होइन, कर्मले बनाउन रुचाउछन् । उनको विश्वास छ— “हरेक घरमा शिक्षा पुगेपछि मात्र समाजमा वास्तविक चेतना, सभ्यता र समृद्धिको आधार निर्माण हुन्छ।“ यही विश्वासलाई जीवनको मूल मन्त्र बनाएर उनी वर्षौंदेखि शिक्षा, सामाजिक सेवा र नेतृत्वका विविध क्षेत्रमा सक्रिय रहँदै आएका छन् ।
कार्कीका लागि विद्यालय केवल पठनपाठन हुने संस्था होइन, समाज परिवर्तनको आधारशिला हो । त्यसैले विद्यालयमा गुणस्तरीय शिक्षाको सुनिश्चितता, बालमैत्री र अनुशासित वातावरण, आधुनिक शिक्षण–सिकाइ पद्धति, शिक्षक–अभिभावक–विद्यार्थीबीच सुदृढ सम्बन्ध तथा समग्र शैक्षिक सुधारलाई उनले आफ्नो पहिलो प्राथमिकतामा राखेका छन् । विद्यालयलाई समयको आवश्यकता अनुरूप प्रविधिमैत्री, सिर्जनशील र प्रतिस्पर्धी बनाउने उनको स्पष्ट योजना छ ।
शीतलादेवी सामुदायिक विद्यालयसँग कार्कीको सम्बन्ध केवल विद्यार्थीका रूपमा मात्र सीमित छैन, त्यो भावनात्मक र आत्मीय सम्बन्ध पनि हो । उनले विसं २०४१ देखि २०४६ सम्म सोही विद्यालयमा प्राथमिक शिक्षा हासिल गरेका थिए । त्यसपछि विसं २०५२ मा अमरसिंह माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरे । विसं २०५३–२०५४ मा कालिका मल्टिपल क्याम्पसबाट आई.ए. तथा विसं २०५९ मा पृथ्वीनारायण क्याम्पसबाट स्नातक तथा बी.ए. पूरा गरे । त्यसपछि विसं २०६३ मा अर्थशास्त्र विषयमा स्नातकोत्तर अध्ययन सम्पन्न गर्दै आफ्नो शैक्षिक यात्रालाई अझ उचाइमा पु¥याए ।
शिक्षासँगै सामाजिक क्षेत्रमा पनि उनको योगदान उल्लेखनीय छ । उनी माटेपानी गुम्बाफेदी टोल विकास संस्थाका सल्लाहकार, मडुला कार्की कुल व्यवस्थापन परिषद्का सचिव, साइकल सिटी पोखराका उपाध्यक्ष तथा हाल चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षका रूपमा जिम्मेवारी निर्वाह गरिरहेका छन् । सामाजिक नेतृत्व, सहकार्य र व्यवस्थापनको अनुभवले उनलाई विद्यालयको नेतृत्वका लागि थप सक्षम बनाएको छ । शनिबार आयोजित अभिभावक भेलाले दीपक कार्कीलाई सर्वसम्मत रूपमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन गरेको हो । भेलाले सदस्यमा रमेशप्रसाद बराल तथा महिला सदस्यमा अनिता सापकोटा र पवित्रा पराजुली अधिकारीलाई चयन गरेको छ । नवनिर्वाचित अध्यक्ष कार्कीले अभिभावक, शिक्षक र विद्यार्थीको विश्वासलाई सम्मान गर्दै विद्यालयको समग्र विकासका लागि सबै पक्षसँग हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । “नयाँ कार्यसमितिले अभिभावक र विद्यार्थीको भावना अनुरूप काम गर्ने छ । विद्यालयलाई गुणस्तरीय, अनुशासित र सबैका लागि गर्व गर्न सकिने शिक्षालय बनाउनु हाम्रो साझा लक्ष्य हो,“ उनले भने। “विद्यालयको समग्र विकासका लागि सबै पक्षसँग समन्वय गर्दै परिणाममुखी रूपमा काम गर्ने छौँ।“
व्यवस्थापन समिति गठन प्रक्रियालाई व्यवस्थित बनाउन पोखरा महानगरपालिका शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत कृष्णप्रसाद भण्डारीको संयोजकत्वमा सहयोग समिति गठन गरिएको थियो। समितिमा वडा नं. १२ का वडाध्यक्ष सन्तोष बास्तोला र विद्यालयका प्रधानाध्यापक बाबुराम अधिकारी सदस्य रहेका थिए । विद्यालयका निवर्तमान अध्यक्ष टीका कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. १२ का वडाध्यक्ष सन्तोष बास्तोलाले उद्घाटन गरेका थिए ।
कार्यक्रममा अभिभावक, शिक्षक, समाजसेवी तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । दीपक कार्कीको नेतृत्वसँगै शीतलादेवी सामुदायिक माध्यमिक विद्यालयले नयाँ ऊर्जा, नयाँ सोच र नयाँ योजनासहित अघि बढ्ने अपेक्षा गरिएको छ । आफूले अक्षर चिनेको विद्यालयलाई उत्कृष्ट शिक्षालयका रूपमा स्थापित गर्ने उनको संकल्प केवल व्यक्तिगत सफलता होइन, समग्र समुदायका लागि प्रेरणादायी यात्राको सुरुआत पनि हो ।














