Pokharapatra National Daily

सभामुखमा अर्याल

नेपालको दसौँ सभामुखमा प्रतिनिधिसभा सदस्य डोलप्रसाद अर्याल निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकबाट उहाँ सभामुख पदमा निर्विरोध निर्वाचित हुनुभएको हो ।
यसैगरी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवनमा आइतबार आयोजित विशेष समारोहमा सभामुख अर्यालले शपथ लिनुभएको हो । त्यस अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, सर्वाेच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीको उपस्थिति थियो ।
यसअघि बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले ‘प्रतिनिधिसभा सदस्य डोलप्रसाद अर्यालललाई सभामुख पदमा निर्वाचित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्तावलाई सांसदहरू सोविता गौतम, स्वर्णिम वाग्ले र सुनिल लम्सालले समर्थन गर्नुभएको थियो । सभाको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसद अर्याललाई प्रतिनिधिसभाको सभामुख पदमा निर्वाचित गरियोस् भन्ने एक मात्र प्रस्तावको सूचना प्राप्त भएकाले अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभयो ।
नवनिर्वाचित सभामुख अर्याल यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष हुनुहुन्थ्यो । धादिङको ज्वालामुखी गाउँपालिकामा २०३१ साल भदौ ६ गते जन्मनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डोलप्रसाद अर्याल प्रतिनिधिसभाको दसौँ सभामुखमा निर्विरोध निर्वाचित हुनुभएको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उहाँ काठमाडौँ क्षेत्र नं ९ बाट निर्वाचित हुनुभएको थियो । निरन्तरको सङ्घर्षबाट वैकल्पिक राजनीति यात्रामा होमिनुभएका अर्यालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारी वहन गरिसक्नुभएको छ । नवनिर्वाचित सभामुखमा अर्यालले जापानलगायत विभिन्न देशमा अध्ययन, अनुसन्धान, रोजगारी तथा व्यवसाय सञ्चालन गर्नुभएको थियो । वर्षदेखि स्वदेशमै केही गर्न सकिन्छ भन्ने विश्वासका साथ विगत २५ वर्षदेखि पर्यटन, शिक्षा र वित्तीय क्षेत्रमा उहाँ क्रियाशील हुनुहुन्छ ।
व्यवसाय र राजनीतिलाई सँगसँगै अघि बढाउनुभएका अर्यालले २०७९ सालमा राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक उपाध्यक्ष हुनुहुन्छ । संसद्को अघिल्लो कार्यकालमा श्रममन्त्रीको जिम्मेवारीमा रहँदा उहाँले श्रमिकका अधिकार रक्षा, वैदेशिक रोजगार प्रणालीमा पक्रियागत सुधार र सामाजिक सुरक्षाका खातिर उल्लेखनीय योगदान गर्नुभएको थियो । प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याललाई सभामुख पदमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभयो । नवनिर्वाचित सभामुख अर्यालले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनियताको सपथ लिने कार्यक्रम छ । प्रतिनिधिसभाको सभामुख पदमा अन्य दलका तर्फबाट उम्मेदवारी नपरेपछि अर्याल निर्विरोध निर्वाचित हुनुभएको हो । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२ सांसद हुनुहुन्छ । संसद्का प्रमुख अर्याललाई कानुन निर्माण, सरकारका गतिविधिको निगरानीका साथै राजनीतिक ध्रुवीकरण र दलहरूको मतभेद अन्त्य गर्न सन्तुलित ढङ्गले संसद् सञ्चालन गर्नु चुनौतीपूर्ण छ । विधेयक र प्रस्तावहरूको समयमै व्यवस्थापन, सांसदहरूको सक्रिय सहभागिता सुनिश्चित गर्नु र नियमावलीको पालना गराउनु पनि चुनौतीपूर्ण छ । सभामुखले दलीय दबाब र व्यक्तिगत राजनीतिक हितभन्दा पर रही निष्पक्ष निर्णय लिनुपर्ने अवस्था छ भने जनताबाट उच्च अपेक्षा र उहाँको दायित्व बनेको छ ।

प्रतिकृया दिनुहोस्