
प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्र सुदृढीकरण तथा सुशासनको लागि यही फागुन २१ हुने निर्वाचनमा सबै जना सक्रिय रुपमा सहभागि हुन आव्हान गर्नु भयो ।
पोखरा विश्वविद्यालय को २१ औँ दीक्षान्त समारोहलाई शुक्रबार पोखरामा सम्बोधन गर्दै विश्वविद्यालयकी कुलपति समेत रहनु् भएको प्रधानमन्त्री कार्कीले लोकतन्त्र सुदृढीकरण, सुशासन प्रवर्धन तथा भ्रष्टाचारमुक्त राष्ट्र निर्माणका लागि निर्वाचन अत्यन्त महत्त्वपूर्ण अवसर भएको उल्लेख गर्दै निर्वाचनमा सबै सक्रिय रुपमा सहभागि हुन आह्वान गर्नु भएको हो । प्रधानमन्त्री कार्कीले युवा पुस्तालाई भविष्यका राजनेता, नीति–निर्माता र समाज रूपान्तरणका संवाहकका रूपमा चित्रित गर्दै जिम्मेवारीबोध, इमान्दारी र सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गर्नुभयो । गत भदौ २३ र २४ गते जेन–जी युवाले उठाएका सवालहरू गम्भीर र आधारभूत प्रकृतिका रहेको उल्लेख गर्दै उहाँले आत्ममूल्यांकनको आवश्यकता औँल्याउनुभयो । लोकतान्त्रिक प्रक्रियामा सक्रिय र जिम्मेवार सहभागिताका लागि सबै नागरिकलाई शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित नभई समाज र राष्ट्र रूपान्तरणको आधार बन्नुपर्ने उहाँको भनाई थियो । प्रधानमन्त्री कार्कीले समकालीन आवश्यकताअनुसार सीप, रोजगारी, उद्यमशीलता र नवप्रवर्तनमुखी शिक्षा प्रणाली विकास गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले ज्ञानलाई अर्थतन्त्र सुदृढीकरण र मानव कल्याणसँग प्रत्यक्ष जोड्न नसके पाठ्यक्रम सान्दर्भिक नहुने स्पष्ट पार्नुभयो। दीक्षार्थीलाई सम्बोधन गर्दै उहाँले प्राप्त प्रमाणपत्र केवल रोजगारीको आधार नभई समाजका जटिल समस्या समाधान गर्ने क्षमताको प्रतीक भएको उल्लेख गर्नुभयो । प्रधानमन्त्री कार्कीले अध्ययन पूरा गर्नासाथ ठूलो संख्यामा युवा विदेशिनु चिन्ताको विषय भएको उल्लेख गर्दै बदलिँदो विश्व परिवेशमा प्रतिस्पर्धी र सक्षम बन्न विश्वविद्यालय र विद्यार्थी दुवै सचेत हुनुपर्ने धारणा राख्नुभयो। “परिवर्तनलाई अवसरका रूपमा उपयोग गर्दै नवप्रवर्तन र उद्यमशीलताको बाटो समात्नु आजको आवश्यकता हो,” उहाँले भन्नुभयो । स्थापनाकालदेखि व्यवस्थापन र विज्ञान लगायतका क्षेत्रमा उच्च शिक्षाको पहुँच विस्तारमा विश्वविद्यालयले खेलेको भूमिकाको प्रशंसा गर्दै उहाँले अब गुणस्तर अभिवृद्धि र विश्व बजारको मागअनुसार जनशक्ति उत्पादनमा विशेष ध्यान दिनुपर्नेमा जोडदिनुभयो ।
यसै गरी २१औँ दीक्षान्त समारोहमा छ हजार ६२२ विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालयको केन्द्रीय कार्यालय पोखरा–३० खुदी ढुङ्गेपाटनमा सम्पन्न समारोहमा विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री सुशीला कार्कीले विद्यार्थीहरूलाई दीक्षित गराउनुभयो ।
दीक्षान्त समारोहमा छ दशक लामो राष्ट्रिय तथा अन्तरराष्ट्रिय अनुभव सँगाल्नुभएकी चाँदनी जोशी प्रमुख अतिथिका रूपमा रहनुभएको थियो । दीक्षान्त समारोहमा व्यवस्थापन सङ्कायबाट तीन हजार ६२५, विज्ञान तथा प्रविधिबाट दुुई हजार ५०६, स्वास्थ्य विज्ञानबाट ३६५ र मानविकी तथा सामाजिक शास्त्र सङ्कायबाट १२६ विद्यार्थी दीक्षित भएको विश्वविद्यालयले जनाएको छ । दीक्षान्त समारोहअघि प्रधानमन्त्री एवं कुलपति कार्कीको अध्यक्षतामा बसेको २१औँ विश्वविद्यालय सभाको विशेष बैठकले उपाधिका लागि योग्य विद्यार्थीहरूको ग्रेस लिष्ट पारित गरेको थियो ।
उक्त अवसरमा प्रधानमन्त्री कार्कीले विभिन्न विषयमा उत्कृष्ट विद्यार्थीलाई विभिन्न पदकबाट सम्मानित गर्नुभएको थियो । उक्त अवसरमा शैक्षिक उत्कृष्टता प्रदर्शन गर्ने ६६४ जना विद्यार्थी ‘डीन लिस्ट’ उपाधिबाट सम्मानित भएका थिए ।
विसं २०५४ मा स्थापित विश्वविद्यालयमा हाल ३७ हजार ५९३ जना विद्यार्थी अध्ययनरत छन् । विश्वविद्यालयले देशभरका ६६ वटा महाविद्यालय (पाँच आङ्गिक, तीन संयुक्त आङ्गिक र ५८ सम्बन्धन प्राप्त) मार्फत ७४ वटा शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।






