Pokharapatra National Daily

कास्कीमा ६ स्वतन्त्रसहित ४९ जनाको उम्मेदवारी दर्ता

कास्की जिल्लाका तीनवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट स्वतन्त्रसहित ४९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार ४३ जना विभिन्न राजनीतिक दलका उम्मेदवार रहेका छन् भने ६ जनाले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि तोकिएको मनोनयन अवधिमा कास्की–१ मा १७ जना, कास्की–२ मा १७ जना र कास्की–३ मा १५ जनाले उम्मेदवारी दर्ता गराएका छन्। समग्रमा हेर्दा कास्कीका तीनै क्षेत्रमा पुरुष उम्मेदवारको दबदबा देखिएको छ भने महिला सहभागिता अत्यन्त न्यून रहेको छ । चिन्ताजनक पक्ष के छ भने, मुख्य प्रतिस्पर्धी मानिएका नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाले कुनै पनि क्षेत्रमा महिला उम्मेदवार अघि सारेका छैनन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाहेक अन्य ठूला दलले महिलालाई प्रत्यक्ष चुनावी मैदानमा स्थान नदिएको देखिएको छ ।
कास्की–१ः  १७ उम्मेदवार, एक महिला र एक स्वतन्त्र
कास्की निर्वाचन क्षेत्र नम्बर–१ मा १५ राजनीतिक दल र एक जना स्वतन्त्र गरी १७ जनाले उम्मेदवारी दर्ता गरेका छन्। यहाँ १६ पुरुष र एक मात्र महिला उम्मेदवार रहेका छन् । यस क्षेत्रमा नेपाली कांग्रेसबाट तीलक रानाभाट, नेकपा एमालेबाट बैनबहादुर अधिकारी क्षेत्री, नेकपाबाट राजकाजी गुरुङ (करण) र राष्ट्रिय स्वतन्त्र पार्टीबाट खड्कराज पौडेल (गनेस) मुख्य प्रतिस्पर्धीका रूपमा मैदानमा उत्रिएका छन्। उज्यालो नेपाल पार्टीबाट मनिषा द्वा एक्ली महिला उम्मेदवार हुनुहुन्छ भने कृष्णबहादुर राउतले स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गराउनु भएको छ । २०७९ सालको निर्वाचनमा यस क्षेत्रबाट एमालेका मनबहादुर गुरुङ निर्वाचित हुनु् भएको थियो । कास्की–२ः  १७ उम्मेदवार, ५ स्वतन्त्र
कास्की–२ मा १२ वटा राजनीतिक दलका उम्मेदवार र ५ जना स्वतन्त्र गरी १७ जनाले उम्मेदवारी दर्ता गराएका छन्। यहाँ १६ पुरुष र १ महिला उम्मेदवार रहेका छन् । नेपाली कांग्रेसका माधवप्रसाद बास्तोला, नेकपा एमालेका रश्मी आचार्य, नेकपाका हेमबहादुर थापा (आमोद) र राष्ट्रिय स्वतन्त्र पार्टीका उत्तम पौडेल बीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ । उज्यालो नेपाल पार्टीबाट कुशल गुरुङ र राप्रपाबाट हेमजंग गुरुङसहित अन्य दलका उम्मेदवार पनि चुनावी मैदानमा छन्।
यस क्षेत्रमा विष्णुप्रसाद तिवारी, डा. निरञ्जन कोइराला, निर्दोषविक्रम पौडेल, रामचन्द्र आचार्य र वसन्तराज घिमिरे गरी ५ जनाले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । २०६४ सालदेखि निरन्तर एमालेले जित्दै आएको यस क्षेत्रलाई एमालेको गढका रूपमा लिइन्छ। कास्की २ मा अघिल्लो बर्ष एमालेकी बिद्या भट्टराई निर्वाचित हुनु भएको थियो ।
कास्की–३ः  १५ उम्मेदवार, स्वतन्त्र शून्य
कास्की निर्वाचन क्षेत्र नम्बर–३ मा १५ जनाले उम्मेदवारी दर्ता गरेका छन् । यहाँ स्वतन्त्र उम्मेदवार छैनन् भने सबै उम्मेदवार विभिन्न राजनीतिक दलका हुन्। १२ पुरुष र ३ महिला उम्मेदवार रहेका छन् । यस क्षेत्रमा नेपाली कांग्रेसका मनोज गुरुङ, नेकपा एमालेका दामोदर पौडेल (बैरागी), नेकपाका गोपाल गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीकी बिना गुरुङबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। परम्परागत रूपमा एमाले बलियो मानिने यस क्षेत्रमा अघिल्लो निर्वाचनमा बैरागी निर्वाचित भएका थिए । यसपटक राप्रपाबाट युवा पर्यटन उद्यमी अर्जुनप्रसाद खनालको उम्मेदवारीले पनि चासो थपिएको छ। बैरागी यस अघि निर्वाचित भएका थिए ।

प्रतिकृया दिनुहोस्