
पोखरा महानगरपालिका वडा नम्बर २१ कृष्ती दोपरे हर्राबोट क्षेत्रमा विहिबार पहिलो पटक भएको ‘सुन्तला महोत्सव २०८२’ मा करिब १५ लाख मुल्य बराबरको कारोवार भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर २१ को आयोजनामा एक दिने उक्त महोत्सवमा करिब १५ लाख मुल्य बराबरको सुन्तला सहितको कृषि उपजको आर्थिक कारोवार भएको पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख मनोहर कडरियाले बताउनुभयो ।
महोत्सवमा उल्लेखनिय दर्शकहरुको सहभागिता रहेको उहाँले जनाउनु भयो । त्यसै गरी महोत्सवको अवसरमा पोखरा २१ फेदीपाटनकी प्रभा पौडेललाई उत्कृष्ट सुन्तला उत्पादन गर्ने कृषक सम्मानबाट सम्मान गरिएको छ । करिब ७ सय ५० भन्दा बढी सुन्तलाको वोट सहित १० लाख भन्दा बढी सुन्तला उत्पादन गर्ने कृषक पौडेललाई उक्त समारोहमा पोखराका मेयर धनराज आचार्य, पोखरा २१ का वडा अध्यक्ष दीपक प्रसाद सुवेदी लगायतले १० हजार नगद सहित सम्मान पत्रले सम्मान गर्नु भएको हो । त्यसै गरी स्थानिय दीपेन्द्र आचार्य दोश्रो तथा विजय सुवेदी तेश्रो हुनु भएको छ । दोश्रो हुनेले ७ हजार र तेश्रो हुनेले नगद ५ हजार प्राप्त गर्नुभयो । उहाँहरुले करिब २ सय बोट सुन्तलताबाट करिब ९÷१० लाखको सुन्तलाबाटै आम्दानी गर्दै आउनु भएको छ । नेपालको राष्ट्रिय फल—सुन्तलाः उपभोग, स्थानीय उत्पादन, पर्यटन र अर्थतन्त्रमा सहयोग भन्ने नाराका साथ उक्त महोत्सव आफुहरुले अपेक्षा गरे भन्दा बढी सफल भएकोे पोखरा महानगरपालिका वडा नम्बर २१ का वडा अध्यक्ष दीपक प्रसाद सुवेदीले बताउनु भयो ।
पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा तथा वडा स्तरीय कृषि सञ्जालको संयुक्त समन्वयमा आयोजना गरिएको महोत्सवमा कृषकले आफ्नै बगैंचाबाट उत्पादन गरेका स्टल मार्फत बिक्री गर्र्ने व्यबस्था मिलाइएको भए पनि दर्शक बढी आउदा केही दर्शकले सुन्तला खरिद गर्न समेत पाउनु भएन ।
ग्रेडिङ गरिएको सुन्तला प्रतिकेजी १०० रुपैयाँमा बिक्री गरिएको थियो भने कृषकलाई पोखरा महानगरपालिकाले बिक्री भएको परिमाण अनुसार प्रतिकेजी १० रुपैयाँ प्रोत्साहन रकम प्रदान गर्ने व्यवस्था मिलाइएको पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख मनोहर कडरियाले बताउनु भयो । पोखरामा उत्पादन हुने सुन्तलामध्ये करिब ५० प्रतिशत सुन्तला पोखरा २१ कृषि क्षेत्रमा उत्पादन हुने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार यस क्षेत्रमा करिब १ हजार ५ सयदेखि २ हजार टनसम्म सुन्तला वार्षिक उत्पादन हुँदै आएको छ ।
महोत्सवको अवसरमा आज बिहान झाँकीसहितको ¥याली निस्केको थियो । कार्यक्रममा सुन्तलाको पहाड निर्माण, सुन्तला ग्रेडिङ प्रर्दशन, सुन्तला खाने प्रतियोगिता लगायतका कार्यक्रम सम्पन्न भएको कृषि संजालका संयोजक विजय ढकालले बताउनु भयो । महोत्सव स्थलमा करिब २० वटा स्टल रहेका थिए जसमा सुन्तला सहित स्थानीय स्तरमा उत्पादन भएका फलफूल, तरकारी, अन्य कृषि उपज तथा खाजा खाना लगायतका रहेका थिए ।
कार्यक्रममा बोल्दै मेयर आचार्यले आगमी डिसेम्बर २५ तारिखमा क्रिसमस डेको अवसरमा सार्वजनिक बिदा समेत हुने हुँदा यसलाई बार्षिक रुपमा सुन्तला महोत्सव हुने बताउनु भयो । अर्गानिक सुन्तला निकै स्वादिष्ट भएकोले स्थानिय सुन्तला उत्पादन र उत्पादकत्व बृद्धि गर्न महानगरले आवश्यक सहकार्य गर्ने वचन दिनुभयो । गण्डकी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव बासुदेव रेग्मीले पोखराको सुन्तलाको यस पकट क्षेत्रलाई अझ व्यबस्थित र यस क्षेत्रमा भएका बाझो जमिनमा समेत सुन्तला खेति गर्न सुझाव दिनुभयो । पोखरा भ्रमण बर्ष २०२५ का संयोजक गोपी बहादुर भट्टराईले पुस १३ गतेबाट पोखरामा हुने सडक महोत्सवमा समेत सुन्तला बिक्रि गर्न ल्याउन आग्रह गर्नुभयो । कार्यक्रममा पोखरा ८ का वडा अध्यक्ष रुद्रनाथ बराल, पोखरा ७ का अध्यक्ष राम मोहन आचार्य, महानगरका सार्वजनिक लेखा समिति संयोजक झपट रानाभाट, स्थानिय उमनाथ सुवेदी लगायतले सुन्तला खेतिको बारेमा चर्चा गर्नुभयो । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुतः गरिएको थियो । कार्यक्रममा पोखरा १७ का वडाध्यक्ष राधिका शाही योगी, २२ का वडाध्यक्ष हिमलाल बराल, ७ का वडाध्यक्ष राममोहन आचार्य, ८ का वडाध्यक्ष रुद्रनाथ बराल, पोखरा २१ का पूर्व वडा अध्यक्ष खगराज आचार्य, पोखरा उद्योग बाणिज्य संघका महासचिव शोभा गौतम लगायतको सहभागिता रहेको थियो ।






