Pokharapatra National Daily

६५ मिटरभित्रका संरचना हटाउने काम सरकारी भवनबाटै सुरु हुन्छः मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षण अभियान अन्तर्गत तालको ६५ मिटरभित्र निर्माण भएका भौतिक संरचना हटाउने कार्य सरकारी संरचनाबाटै सुरु गरिने बताउनु भएको छ ।
पोखरा महानगरपालिकाको ६७ औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहमा सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले फेवातालको सिमाङ्कन लामो समयसम्म टुंगो लाग्न नसकेको अवस्थामा पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको संयुक्त पहलमा सीमा निर्धारण गरिएको उल्लेख गर्दै अब दोश्रो चरणको काम सरकारी संरचनाबाटै सुरु हुने बताउनु भएको हो । अदालतको आदेश अनुसार फेवाताल ताल संरक्षण र हरियाली प्रवद्र्धनको काम अघि बढाइने उहाँको भनाइ थियो । “पहिलो चरणमा सरकारी संरचनाबाटै काम सुरु हुन्छ, त्यसपछि क्रमिक रूपमा अगाडि बढ्छौं,” मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “फेवाताललाई हेर्नलायक बनाउँछौं । ताल वरिपरि आवश्यक हरियाली (ग्रिनरी) विकास गरेर यसको सौन्दर्य र वातावरणीय सन्तुलन कायम गरिनेछ ।” मुख्यमन्त्री पाण्डेले पोखरालाई प्रदूषणमुक्त सहरका रूपमा स्थापित गर्न एशियाली विकास बैंक (एडिबी) सँगको सहकार्यमा पोखरा महानगरपालिका र प्रदेश सरकारको समन्वयमा छिट्टै ठूला परियोजनाहरू कार्यान्वयनमा जाने जानकारी दिनुभयो । पर्यटनलाई केन्द्रमा राखेर पोखरामा दुई ठूला योजना अघि बढाउने तयारी भइरहेको उहाँले उल्लेख गर्नुभयो । फेवातालको सिरान भाग हर्पन क्षेत्रमा करिब १५÷१६ करोड लागतमा ‘सेल्फी ब्रिज’ निर्माण गर्ने लक्ष्य लिइएको र रुपाताल क्षेत्रमा ‘ग्लास ब्रिज’ निर्माणको योजना रहेको मुख्यमन्त्री पाण्डेले जानकारी दिनुभयो । साथै पोखरा वरपरका पर्यटकीय गन्तव्यहरूलाई ११ वटा ‘स्याटेलाइट डेस्टिनेसन’ का रूपमा विकास र प्रवद्र्धन गर्ने रणनीति पनि अघि सारिएको उहाँले बताउनुभयो । “राउण्ड फेवा भ्यु, फेवा सर्किट लगायतका परियोजनाहरू महानगरसँगको समन्वयमा अगाडि बढिरहेका छन्,” मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “अब पोखराको पर्यटनलाई हिमाल र तालसँग जोड्न सकिएन भने अपेक्षित प्रवद्र्धन हुन सक्दैन । अबको पर्यटन त्यतैतर्फ केन्द्रित हुनुपर्छ ।” उहाँले तालहरूमा परम्परागत डुंगा सञ्चालनमा मात्र सीमित नरही समय सान्दर्भिक जलसम्बन्धी साहसिक तथा मनोरञ्जनात्मक खेल गतिविधि विस्तार गर्ने योजना रहेको उल्लेख गर्नुभयो । तालहरूलाई क्रुज र रेस्टुरेन्टका रूपमा समेत प्रयोग गर्नुपर्ने धारणा व्यक्त गर्दै यसले पर्यटनको आकर्षण बढाउने मुख्यमन्त्री पाण्डेले बताउनुभयो । मुख्यमन्त्री पाण्डेले जेनजी आन्दोलनका कारण महानगर र प्रदेश सरकारका धेरै संरचनाहरू क्षतिग्रस्त भएको स्मरण गराउँदै अब फेरि उठेर सहकार्यका साथ अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो । सो आन्दोलनको प्रभावले विदेशी लगानी समेत केही समय ‘पर्ख र हेर’ को अवस्थामा पुगेको उहाँको भनाइ थियो । पोखरालाई पर्यटनको राजधानीका रूपमा घोषणा गरिसकेपछि यसको अन्तर्राष्ट्रिय ब्राण्डिङ सुरु भइसकेको दाबी गर्दै मुख्यमन्त्री पाण्डेले अब त्यसलाई व्यवहारिक परिणाममा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । पोखरा र गण्डकी प्रदेशले पर्यटनबाटै आर्थिक विकास र समृद्धि हासिल गर्न सक्नुपर्ने उहाँले जनाउनु भयो ।
यसैबिच, पोखरा महानगरपालिकाले महानगरभित्र रहेका सबैभन्दा जेष्ठ नागरिकलाई महानगर माता र पिताको रुपमा सम्मान गरेको प्रमुख प्रशासकिय अधिकृत मुक्तिराम अर्यालले बताउनु भयो । महानगरले आफ्नो ६७ औं स्थापना दिवशको अवसरमा पोखरा महानगरपालिका वडा नम्बर २८ की १०७ वर्षीया झ्याउरी तिमिल्सिनालाई महानगर माताको रुपमा सम्मान गरेको हो । यसैगरी पोखरा ३२ का १०४ वर्षीय काशिनाथ पण्डितलाई महानगर पिताको रुपमा सम्मान गरेको हो । प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र महानगरका मेयर धनराज आचार्यले उहाँहरुलार्ई दोसल्ला, ताम्रपत्र र नगद सहित महानगर मातापिताको रुपमा सम्मान गरिएको हो । महानगरको स्थापना दिवसको अवसरमा पोखरामा प्रभातफेरीको आयोजना गरिएको थियो । पोखराको मानवअधिकारचोकबाट झाकी बन्चेबाजा सहित सुरु भएको उक्त प्रभातफेरी चिपलेढुंगा न्यूरोड हुदै पोखरा सभागृहमा पुगेर समारोहमा परिणत भएको थियो ।

प्रतिकृया दिनुहोस्