Pokharapatra National Daily

कास्कीका ७२ पालिकामा छात्रवृत्ति वितरण हुँदै

मातृसेवा प्रतिष्ठान नेपालले कास्कीका ७२ वटामा छात्रवृत्ति रकम वितरण गर्ने भएको छ ।
पाल्पाली समाज पोखराको व्यवस्थापनमा जिल्लाका ५ पालिकाका ७२ वटामा गरी ३९ लाख रुपैयाँ बराबरको ‘कर्मभूमि छात्रवृत्ति’ वितरण गरिने भएको हो । प्रतिष्ठान अध्यक्ष हरिप्रसाद पाण्डेले आफ्नो कर्म जिल्ला कास्कीको पोखरा महानगरपालिकासहित माछापुच्छे«, अन्नपूर्ण, मादी र रुपा गाउँपालिकाका सबै वडा समेट्ने गरी प्राविधिक विषय पढ्ने प्रतिविद्यार्थी ५० हजार रुपैयाँको छात्रवृत्ति वितरण गर्न लागेको जानकारी दिए । उनका अनुसार यसरी ७२ वडामा ५० हजार दरले ३६ लाख र बाँकी ३ लाख जिल्लाका दलित विद्यार्थीका लागि छात्रवृत्ति स्वरुप उपलब्ध गराइने छ । पूर्व मन्त्री समेत रहेका उद्योगपति पाण्डेले यसअघि पनि विभिन्न नाममा निरन्तर छात्रवृत्ति रकम उपलब्ध गराउँदै आएका छन् ।
यसैबीच, छात्रवृत्ति वितरण पारदर्शी बनाउन पाल्पाली समाज पोखराले पालिकाका प्रमुखहरुसँग छलफल गरी सुझाव संकलन गरेको छ । समाजको प्रतिनिधिमण्डले पोखराका मेयर मानबहादुर जिसी, माछापुच्छे« गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङ, अन्नपूर्णका युवराज कुँवर, मादीका वेदबहादुर गुरुङ श्याम र रुपाका नवराज ओझासँग भेट गरी छात्रवृत्तिबारे जानकारी गराउँदै आवश्यक सुझाव संकलन गरेको हो ।
छलफलमा पालिका प्रमुखहरुले अन्य समाजको तुलनामा पाल्पाली समाज पोखराले रचनात्मक कार्य गर्दै आएकोमा प्रशंसा गर्दै छात्रवृत्ति कार्यक्रम कास्कीमा ल्याएकोमा खुसी व्यक्त गरे । समाजका अध्यक्ष कुलप्रसाद घिमिरे नेतृत्वको टोलीले उनीहरुलाई फरक–फरक समयमा सामूहिक एवं छुट्टाछुट्टै भेट गरेको हो । समाजको कार्यालय पोखरा नयाँबजारमा माछापुच्छे«, अन्नपूर्ण र मादीका गाउँपालिका अध्यक्षको स्वागत गरिनुको साथै छात्रवृत्तिबारे जानकारीसहित फर्म हस्तान्तरण गरिएको थियो । त्यस्तै, पोखराका मेयर मानबहादुर जिसीलाई शुक्रबार कार्यकक्षमै भेट गरेको हो भने अन्नपूर्ण र मादी गाउँपालिकाको कार्यपालिकाका सबै सदस्यसँग गाउँपालिकामै पुगेर अन्तक्र्रिया गरिसकेको छ । पोखराका मेयर जिसीले पाल्पाली समाजले लेकसाइडमा डिटिजल बोर्ड राख्नेदेखि लिएर विविध कार्यक्रम गरेकोमा प्रशंसा गरे । उनले पोखराका सबै वडामा छात्रवृत्ति वितरण गर्ने कार्यमा आफूहरुले पूर्ण रुपमा सहकार्य गर्ने वचन दिए । अन्नपूर्ण र मादीमा भएको अन्तक्र्रियामा समाजका तर्फबाट अध्यक्ष कुलप्रसाद घिमिरे, सल्लाहकार खेम सारु, महासचिव श्रीधर पराजुली र कोषाध्यक्ष सञ्जय आत्रे सहभागी थिए । कार्यक्रममा अन्नपूर्णका अध्यक्ष कुँवरले पाल्पाली समाजको समन्वयमा पाल्पाका पालिकाहरुसँग पनि पर्यटन क्षेत्रमा सहकार्य गर्ने बताए । त्यसअघि समाजको कार्यालयमा भएको कार्यक्रममा मादीका अध्यक्ष श्याम, माछापुच्छ«ेका अध्यक्ष गुरुङ र रुपाका अध्यक्ष ओझाले छात्रवृत्ति रकमले गरिब तथा विपन्न वर्गका विद्यार्थीको सपना साकार बन्ने बताएका थिए ।

प्रतिकृया दिनुहोस्