Pokharapatra National Daily

सिम्ले–किमलडाँडा जोड्ने पक्की पुल निर्माण शुरु

भीमाद नगरपालिका–८ सिम्ले र शुक्लागण्डकी नगरपालिका–८ किमलडाँडा जोड्ने क्याङ्दी खोलामा पक्की पुल निर्माण शुरु भएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा क्याङ्दीखोलामा पक्की पुल निर्माण शुरु भएको हो ।
सो पुलको बिहीबार शिलान्यास गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले नाम लेखाउने रहरले नभई जानकारी र सार्वजनिकीकरणका लागि शिलान्यास कार्यक्रम गर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “कतिपयलाई लाग्न सक्छ, पुल शिलान्यास गर्ने त्यो नाम लेखाउनका निम्ति हो । नाम लेखाउनका निम्ति होइन । शिलान्यास कार्यक्रम गरेपछि सबैलाई थाहा हुन्छ । बरु उद्घाटन नगर्दा पनि हुन्छ ।” कुनै पनि आयोजना समयमै सम्पन्न गर्न स्थानीय सरकारको समन्वय हुनुपर्ने बताउँदै उहाँले आवश्यक सहयोग गर्न निर्देशन दिनुभयो । गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालाले अबको दुई वर्षमा यहाँको स्थानीयवासीले भोग्नुपरेको समस्याबाट मुक्ति मिल्ने बताउनुभयो । भिमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाले स्थानीय बासिन्दाले अनेकौं बखेडा झिक्दा समयमै काम नहुने भएकाले सकारात्मक सहयोग गर्न सुझाव दिनुभयो ।
रु आठ करोड ३२ लाख ४८ हजार १७४ को लागतमा पुल निर्माण हुन लागेको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । पुल निर्माणको ठेक्का एमएस रसुवा वाइएसएस जेभी सुर्खेतले पाएको कार्यालयका प्रमुख ओमराज ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार २०७९ मङ्सिर १७ गतेभित्र पुल सम्पन्न गर्नुपर्ने म्याद छ । पायल फाउण्डेसनमा बन्ने पुल ७० मिटर लामो र ८.४ मिटर चौडाइको हुनेछ ।
पुल बनेपछि वर्षाको समयमा वारपार गर्न सजिलो हुने भिमाद नगरपालिका–८ का वडाध्यक्ष बुद्धिमान श्रेष्ठले बताउनुभयो । पृथ्वी राजमार्गबाट नजिकै रहेको भिमाद र शुक्लागण्डकीका क्याङ्दी पारीका बस्ती वर्षामा यातायात सञ्जालबाट सम्पर्क टुट्छ । हिउँदमा क्याङ्दी सुकेपछि बल्ल सवारी वारपार हुन्छन् । दुईपाङ्ग्रे सवारी दोभानको झोलुङ्गे पुल हुँदै वारपार गर्छन् ।
शुक्लागण्डकी नगरपालिका–७ दोभान र भिमाद नगरपालिका–८ भागरलाई जोड्ने गरी छ वर्ष पहिले सेती नदीमाथि निर्माण थालिएको पुल अलपत्र छ । अझै केही वर्ष बन्ने छाँटकाट देखिँदैन । क्याङ्दीमा पुले बनेपछि वर्षाको बेला घुमाउरो बाटो भए पनि सवारी आउजाउ हुनेमा स्थानीयवासी आशावादी बनेका छन् ।

प्रतिकृया दिनुहोस्