Pokharapatra National Daily

चैत्र १५ गतेदेखि पोखरा—सिमरा हवाई उडान शुरु हुने

गण्डकी प्रदेशको राजधानी पोखराबाट प्रदेश नं. २ को जितपुर सिमरा सिधा हवाई उडान सञ्चाल नहुने भएको छ ।
विहिबार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा बसेको मन्त्रीस्तरको बैठकले पोखरादेखि सिमरा यहीँ चैत्र १५ गते फागु पूर्णीमाको दिन जहाज सञ्चालन गर्ने निर्णय गरेको हो । गण्डकी प्रदेशको राजधानी पोखरा लाई सात ओटै प्रदेशसँग सिधा हवाई सम्पर्क सँग जोड्ने प्रदेश सरकारको उद्देश्य अनुरुप पोखरा—सिमरा विमान सञ्चालन गर्ने तयारी गरिएको हो ।
चैत्र १५ गते परीक्षण उडान सँगै अब पोखराबाट सिमरा हप्ताको ३ दिन अर्थात आइतबार, बुधबार र शुक्रबार नियमित उडान हुनेछ । यति एयर लाइन्सले उडान भर्ने पोखरा—सिमराको भाडादर चार हजार पाँच सय तत्कालको लागि कायम गरिएको छ । पोखरादेखि सिमरा ३० मिनेटको हवाई यात्रा हुनेछ । पोखरा—सिमरा विमान सञ्चालन पछि दुई प्रदेशको व्यापारिक सम्बन्ध विस्तार हुने गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले बताए । दुई प्रदेश बिच सीधाहवाई सेवा सञ्चालनपछि यस क्षेत्रको पर्यटन तथा आर्थीक क्रियाकलाप समेत बढ्ने बताए । मन्त्री लम्सालले भारतीय नाकाबाट नेपाल भित्रने भारतीय तथा अन्य देशका पर्यटकहरुलाई यो हवाई सेवा लाभदायी हुने बताए । अन्य प्रदेशमा पनि छिट्टै नै हवाई सेवा सुचारु गर्ने गरि प्रदेश सरकारले तयारी गरेको मन्त्रीलम्सालको भनाई छ । पोखरा—सिमरा विमान सञ्चालनसँगै सिमरा स्थित बन्द नेपाल—भारत बोर्ड र पर्यटकका लागि तत्काल खुल्ला गर्न नेपाल सरकारसँग अनुरोध गर्ने तयारी समेत गरिएको छ ।
पोखरा—सिमरा विमान सञ्चालनमा ल्याउने भए सँगै पोखरा विमानस्थलले आवश्यक पर्ने प्राबिधिक तयारी थालेको पोखरा विमानस्थलका प्रमुख बिक्रम गौतमले जानकारी दिए । पोखरा—सिमरा विमान उडानको प्रचार प्रसार तथा आगन्तुकको स्वागतका लागि पोखरा महानगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका, पोखरा उद्योग वाणिज्य संघ, जितपुर सिमरा उद्योग वाणिज्य संघ तथा पर्यटन व्यवसायसँग सम्बन्धित संघ संस्थाले व्यवस्थापन गर्ने छन् । उक्त बैठकमा प्रदेश निति तथा योजना आयोगका सदस्य डा.विष्णुराज बराल, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, जितपुर सिमरा उपमहानगरपालिकाका मेयर कृष्ण पौडेल, मन्त्रालयका सचिब डा. महेश्वर ढकाल, यति र तारा एयरलाइन्सका बरिष्ठ निर्देशक सरल शमशेर जवरा, उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष संजिवबहादुर कोईराला, उद्योग वाणिज्य संघ जितपुर सिमराका अध्यक्ष संजय कुमार शाह, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराई तथा पर्यटन व्यवसायी, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

प्रतिकृया दिनुहोस्