Pokharapatra National Daily

१५ औं अन्तर्राष्ट्रिय सफल म्याराथन सफल पार्न वडावासी जागरुक

आउँदो फागुन १ गते पोखरामा हुने १५ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता २०७७ लाई सफल पार्न पोखरा महानगरपालिका वडा नम्बर १ का वडावासी जागरुक भएका छन् ।
पोखरा महानगरपालिका वडा नम्बर १ मा वडा अध्यक्ष शारदा पराजुलीको अध्यक्षतामा सोमबार बसेको विभिन्न संघ संस्थाहरुको बैठकमा सहभागिहरुले उक्त प्रतियोगिता सफल पार्न आफुहरु निकै जागरुक भएको जनाएका हुन् ।
पोखरा म्याराथन समग्र पोखरा र नेपाल चिनाउने खेलकुदको राम्रो माध्यम भएकोले आफुहरुले आफ्नो क्षेत्रबाट धावकहरुलाई स्वागत सत्कारको लागि यस बर्ष पनि थप प्रभावकारी ढंगले स्वागत सत्कार गरिने भएको वडा अध्यक्ष पराजुलीले बताइन् । कोरोनाले प्रभावित भएको समग्र खेलकुदलाई चलायमान बनाउन पनि यस बर्षको सफल पोखरा म्याराथनले थप उर्जा थप्न विभिन्न संघ संस्थाहरुसंग सहकार्यको लागि छलफलमा जुट्दै गरेको भूतपुर्व खेलाडी मञ्च नेपालका अध्यक्ष तेज बहादुर गुरुङले बताए । खेलाडीको हौसलाको लागि खेलाडीहरु आफ्नो क्षेत्रमा आउँदा आफ्नो भेषभुषा कला संस्कृति झल्कने पोसाक सहित र सम्भव भए व्यानरमा सहभागिताको लागि उनले पोखरेलीलाई आव्हान गरे । पोखरा र नेपाललाई विश्व सामु चिनाउन उक्त प्रतियोगिताले मद्धत पुग्ने अध्यक्ष गुरुङले जनाए । छलफल कार्यक्रममा वडा सचिव कुल प्रसाद पौडेल, सदस्य सहारा प्रधान, संघ संस्था समन्वय समितिका संयोजक तिलक केसीले लगायतले पोखरा म्याराथन सफल पार्न आफ्नो क्षेत्रबाट सहयोग गर्ने जनाए । फागुन १ गते उक्त म्याराथन सहित महिलाहरुको लागि २१ किलोमिटरको हाफ म्याराथन प्रतियोगिता समेत हुने भएको छ । ४२.१९५ किलोमिटर दौड (म्याराथन) का विजेताले २ लाख उपविजेताले १ लाख र तेस्रो हुने खेलाडीले ७५ हजार रुपैयाँ, शान्त्तोना हुनेले २५ हजार साथमा ट्रफी मेडल, प्रमाणा—पत्र प्राप्त गर्ने भएको मञ्चका अध्यक्ष गुरुङले बताए । त्यसै गरी महिला तर्फको हाफ म्याराथनको विजेताले १ लाख, उपबिजेताले ७५ हजार, तेश्रो हुनेले ५० हजार र शान्त्वना हुनेले भने १५ हजार नगद प्राप्त गर्ने भएको उनले जनाए । कोभिड—१९ ले गर्दा अन्य विभिन्न इभेन्टका दौड प्रतियोगितालाई विभिन्न चार चरणमा हुने मिति तय गरिएको छ । त्यसै १० किलोमिटर महिला तथा पुरुष तर्फको दौड प्रतियोगिता चैत १४ गते, फागुन २२ गते महिला तथा पुरुष तर्फको ह्विल चियर दौड प्रतियोगिता र आउदो वैशाख ४ गते मञ्चको बार्षिकोत्सको अवसरमा ५ किलोमिटर बिद्यालय स्तरिय छात्र÷छात्रा दौड प्रतियोगिता हुने भएको छ । यस बर्ष भने रन फर फनको कार्यक्रम कोभिड—१९ ले गर्दा नहुने भएको मञ्चले जनाएको छ ।

प्रतिकृया दिनुहोस्