
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपालको जग्गा प्रकरण सम्बन्धमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा बिहीबारआरोप पत्र दायर
गरेको छ ।
सो आरोप पत्र दायर भएसँगै नेकपा (एकीकृत समाजवादी)का अध्यक्षसमेत रहनुभएका पूर्वप्रधानमन्त्री नेपालको सांसद पद स्वतः निलम्बन भएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार फौज्दारी र भ्रष्टाचारसम्बन्धी मुद्दा दायर भएसँगै सार्वजनिक ओहोदाका व्यक्तिको सार्वजनिक पद स्वतः निलम्बन हुने प्रावधान छ । उहाँ सङ्घीय संसद्अन्तर्गत रौतहट जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं १ बाट निर्वाचित सांसद हुनुहुन्छ । काभ्रेपलाञ्चोकको नासिकास्थान साँगा, महेन्द्रज्योतिमा कम्पनी सञ्चालनको लागि हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको तथा उक्त जग्गा कम मूल्यमा किनेर बढी मूल्यमा बेचबिखन गरेको अभियोगमा आयोगले उहाँहरूविरुद्ध मुद्दा दायार गरेको हो । उक्त कम्पनीका संस्थापक सदस्य शालीग्राम सिंहसमेतले उक्त कम्पनीको नाम प्रयोग गरी÷गराई कम्पनीको उद्देश्यको प्रतिकुल हुने गरी बदनियत राखी आफूसमेतका प्रतिवादीहरुलाई लाभ हुने गरी अन्य सरकारी सार्वजनिक पदधारण गरेका व्यक्तिसँगको मिलोमतोमा उक्त जग्गा खरिद प्रकरणमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा १० विपरितकार्य भएको आयोगको ठहर छ ।
सो प्रकरणमा सम्बन्धित निकायका व्यक्ति तथा राष्ट्रसेवकले आफ्नो पदीय ओहोदाको दुरूपयोग गरी÷गराई आफ्नो जिम्मामा रहेको सरकारी सार्वजनिक सम्पत्तिको सम्वन्धमा निर्णय बदनियत राखी गैरकानुनी निर्णय गरेको देखिएको आयोगले जनाएको छ ।
आयोगले उक्त हदभन्दा बढी जग्गा सोही ऐनको दफा ११ बमोजिम जफत तथा सरकारी सार्वजनिक कायम हुने दाबी गरेको छ । आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले उक्त मुद्दा दर्तासम्बन्धी पत्र सङ्घीय संसद् सचिवालयमा पुगिसकेको जानकारी दिनुभयो ।
यसैगरी नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूले एक टुक्रा पनि सरकारी जमिन कसैलाई दिने निर्णय नभएको बताउनुभएको छ । गृहनगर रौतहटको गौरमा बिहीबार पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले आफ्नो कार्यकालमा राष्ट्रलाई नोक्सान हुने कुनै पनि निर्णय नगरेको बताउनुभयो । “म प्रधानमन्त्री हुँदा कुनै पनि मन्त्रीलाई अनुचित काम गर्न निर्देशन दिएको छैन”, उहाँले भन्नुभयो–“सबै हेर्ने न्याय जीउँदै भएकाले न्यायभन्दा ठूलो र सत्यभन्दा ठूलो कुरा केही हुँदैन ।” अध्यक्ष नेपालले कसैमाथि आरोप लगाउन नचाहेको उल्लेख गर्दै कानुनभन्दा माथि कोही पनि नभएकाले अब कानुनी प्रक्रियाबाट नै अगाडि बढ्ने बताउनुभयो । अहिलेसम्म आफुले कुनै खराब नियतबाट राष्ट्रलाई हानी हुने गरी लाभ उठाएर भ्रष्टाचार नगरेको उहाँको भनाइ थियो ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी सञ्चालनका लागि हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको तथा उक्त जग्गा कम मूल्यमा किनेर बढी मूल्यमा बेचबिखन गरेको अभियोगमा अध्यक्ष नेपालविरुद्ध मुद्दा दायर गरेपछि उहाँ बिहीबार काठमाडाँै फर्कनुभएको छ ।