Pokharapatra National Daily

पोखराका लोक दोहोरी रेष्टुरेण्ट संचालनको तयारीमा

पोखरा सहित कास्कीका लोक दोहोरी रेष्टुरेन्ट व्यवसायी शुक्रबारदेखि संचालन गर्ने तयारी गरेका छन् । कास्कीमा पनि शुक्रबारदेखि लोक दोहोरी व्यवसाय संचालन हुने भएको लोक दोहोरी रेष्टुरेन्ट व्यवसायी संघ कास्कीका अध्यक्ष जीवन गुरुङले बताए ।
कास्की प्रशासनले लोक दोहोरी रेष्टुरेन्ट व्यवसाय पुनः संचालनको लागि मौखिक जस्तै सहमति दिएको आधारमा आफुहरु शुक्रबारदेखि लोक दोहोरी रेष्टुरेन्ट व्यवसायी संचालन गर्ने तयारीमा जुटेको बताए । उनले भने “यस बिषयमा कास्की प्रशासनले हामीलाई लिखित रुपमा भने संचालनको कुनै अनुमति दिएको छैन्, काठमाण्डौंमा संचालन भएसरी हामीले लोक दोहोरी व्यवसाय बेलुका १०ः०० बजेसम्म संचालन गर्ने छौं, यस बिषयमा हामीले प्रशासनलाई जानकारी गराएका छौं ।” कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालले कास्कीका लोक दोहोरी रेष्टुरेन्ट व्यवसाय संचालन गर्ने बिषयमा माथिल्लो निकायमा समन्वय गरेको जनाए । उनले भने “यस बिषयमा पर्यटन मन्त्रालयबाट एउटा मापदण्ड आउछ त्यसको आधारमा हामीले लोक दोहोरी रेष्टुरेन्ट व्यवसाय संचालन गर्न दिनेछौं ।” तीन दिन अघि माग पुरा नभए कास्कीका लोक दोहोरी कलाकारहरु बाजा गाँजा सहित सडकमा उत्र्रिने चेतावनी दिएका थिए । कोरोना भाइरसका कारण गत चैत ५ देखि नै दोहोरी साँझ व्यवसाय बन्द भएकोले त्यसमा आश्रित कलाकार र कर्मचारी तथा व्यवसाय संचालकहरु समेत आर्थिक मारमा परेको अध्यक्ष गुरुङले जनाए । पोखरा क्षेत्रमा २५ वटा दोहोरी साँझ रहेका छन भने उक्त दोहोरी साँझमा करिब १ हजार ५० जना कलाकार एंव कर्मचारी आबद्ध छन् । ४ सय ५० जना कलाकार रहेको अध्यक्ष गुरुङले बताए ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशका अध्यक्ष सुरेन्द्र गुरुङ सहितका कलाकारहरुले आफ्नो लोक दोहोरी रेष्टुरेन्ट व्यवसाय शुक्रबारदेखि संचालन गर्ने भनि सामाजिक संजालमा सार्वजनिक समेत गरेका छन्। पोखराको रात्रीकालिन व्यवसायमा पनि कोहीलाई काखा कोहीलाई पाखा गरिएको दोहोरी व्यवसायीको आरोप छ ।

प्रतिकृया दिनुहोस्