Pokharapatra National Daily

केटु हिमाल र धम्पुस पिक हिमाल आरोहीलाई सोमबार पोखरामा नागरिक अभिनन्दन गरिने

केटु हिमाल र धम्पुस पिक हिमाल आरोहीलाई सोमबार पोखरामा नागरिक अभिनन्दन गरिने भएको छ ।
पोखरा पर्यटन परिषद परिषदको आयोजनामा के टु हिमाल र धम्पुस पिक हिमाल आरोहीलाई यही माघ २६ गते सोमबार पोखरामा नागरिक अभिनन्दन गरिने भएको शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गाइएको हो । विश्वको दोस्रो अग्लो चुचुरो पाकिस्तानमा रहेको केटु हिमाल (८६११ मिटर) मा नेपालका १० जना पर्वतारोहीले यही माघ ३ गते शनिबारका दिन सफल आरोहण गरि इतिहास रचेकोले त्यसको खुसियालीमा उनीहरुको हौसला रुवरुप आफुहरुले नागरिक अभिनन्दन गर्न लागिएको परिषदका अध्यक्ष गोपी बहादुर भट्टराईले बताए । संसारको दोस्रो सर्वोच्च शिखरमा हालसम्म हिउँद याममा कोही पनि पुग्न नसकेका उक्त जोखिम मोलेका नेपाली आरोहीलाई सम्मान स्वरुप सोमबार पोखरा नगर परिक्रमा सहित सम्मान गरिने भएको उनले जनाए । हिमाल आरोहण गर्ने निर्मल पुर्जाको आरोहण दलको टिममा मिङमा डेविट शेर्पा, मिङमा तेन्जी शेर्पा, ग्याल्जेन शेर्पा र पेम चिरी शेर्पा रहेका छन ।
त्यसै गरी दावा तेम्बा शेर्पा र अर्को आरोहण दलमा मिङमा जी शेर्पा ,दावा तेन्जीङ शेर्पा, किलु पेम्बा शेर्पा छन् भने सेभेन समिट नामको आरोहणबाट सोना शेर्पाले सफल आरोहण गरेका थिए ।
वल्र्डरेकर्ड अफ गिनिज बुकमा समेत आफ्नो नाम लेखाउन सफल आरोहीहरुले नेपालको नाम विश्व सामु राख्न सफल भएकोले गर्दा उनीहरुलाई आफुहरुले सम्मान गर्नं लागेको उनले जनाए । आफ्नो र आफन्तको सहयोगमा उनीहरुले आरोहणको खर्च व्यबस्थापन गरेका थिए । अध्यक्ष भट्टराईले भने “वास्तवमा यो टोलीले नेपाल र नेपालीले, गर्व गर्न लायक विश्व मान चित्रमा नेपाल र नेपालीको गौरवमय इतिहास रच्न सफल भएको छ, उनीहरु धन्यबादका पात्र समेत बनेका छन् ।” यसैबिच, माघ ३ गते नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशको आयोजनामा गरीएको धम्पुस पिक (थापा पिक ६०१२ मिं)आरोहण कार्यक्रममा गण्डकी प्रदेशका ६ जना आरोहीहरुलाई समेत सम्मान गरिने भएको छ । आरोहण दलका सदस्यहरु टासी पासाङ्ग गुरुङ्ग, मन गुरुङ्ग, सन कुमार जुग्जाली, दिपेशबाबु सुवेदी, सुदिप गौतम र हिरा कुमारी मल्ल रहेको कार्यक्रम संयोजक एंव टान पश्चिमाञ्चल क्षेत्रिय च्याप्टर पोखराका अध्यक्ष शुसिलराज पौडेलले बताए । आरोही दललाई पोखरा
विमानस्थलमा स्वागत गरे पश्चात बाजागाजा सहित नगर परिक्रमा गरी लेकसाइड स्थित माउन्ट कैलाश रिर्सोटमा नागरिक अभिनन्दन हुने भएको छ । उक्त टोलीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङ, पोखरा महानगरका मेयर मानबहादुर जिसी सहितको टोलीले सम्मान गर्ने भएको परिषदका महासचिव रामचन्द्र शर्माले बताए ।
उक्त कार्यक्रमले सुस्ताको पर्यटनलाई थोरै भए पनि प्रबद्र्धन गर्न मद्धत पुृग्ने आफुहरुले विश्वास लिएको परिषदका उपाध्यक्ष पोमनारायण श्रेष्ठले बताए । नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशका अध्यक्ष शेसकान्त शर्माले नेपाल र गण्डकी प्रदेशका धेरै हिमालहरुको बारेमा अझै अनविज्ञेता रहेको बताए ।

प्रतिकृया दिनुहोस्