Pokharapatra National Daily

कास्कीमा धान उत्पादन हुने क्षेत्रफल र उत्पादन घट्यो

कास्कीमा यस बर्ष धान उत्पादन हुने क्षेत्रफल र उत्पादन समेत घट्न गएको छ ।
यस बर्ष लामो समयसम्म पानी परे पनि धान पाक्ने समयमा घाम लाग्नु पर्ने जसले गर्दा फल पुष्टिने समयमा पानी पर्दा यस बर्ष गत बर्षको तुलनामा धान उत्पादन घट्न गएको कृषि विकास निर्देशनालयका निमिक्त निर्देशक निलकण्ठ पोख्रेलले बताए । उनका अनुसार कास्कीमा यस बर्ष ७९ हजार ४ सय ३७ मेटिक्टन धान उत्पादन भएको छ ।
कास्कीमा २५ हजार ६ सय २५ हेक्टर क्षेत्रफलमा धान खेति गर्दा उक्त मेटिक्टन धान उत्पादन भएको निमिक्त निर्देशक पोख्रेलले जनाए । कास्कीमा प्रति हेक्टर ३.१ मेटिक्टन धान उत्पादन भएको कार्यालयले जनाएको छ । गत बर्ष कास्कीमा २६ हजार ५० हेक्टरमा धान खेति गर्दा ८० हजार ५ सय ७१ मेटिक्टन धान उत्पादन भएको निर्देशनालयले जनाएको छ । गत बर्षको तुलनामा यस बर्ष १ हजार १ सय ३३ हेक्टर कम क्षेत्रफलमा धान लगाउदा यस बर्ष गत बर्षको तुलनामा ४ सय २५ मेटिक्टन कम धान उत्पादन भएको निर्देश्नालयले जनाएको छ । नियमित पानी कम हुने, आकाशको पानीमा पर पर्ने टारी खेतमा भने थोरै मात्रमा धान उत्पादन बृद्धि भएको उनले जनाए । उनले भने “धान पाक्ने समयमा दिन भरीजसो घाम लाग्नु पर्छ, जसले धान पुष्टिन पाउछ, यस बर्ष धान पाक्ने अन्तिम समयसम्म पानी परेकोले गर्दा वोट सप्रिए पनि धान उत्पादन भने कम भयो ।” प्रत्येक जिल्लाको करिब ३० ठाँउमा परिएको स्याम्पल परिक्षणबाट यस बर्ष धान उत्पादन कास्कीमा घटेको आफुहरुले पुष्टि गरेको जनाए ।
कास्की सहित गण्डकी प्रदेशमा यस बर्ष ३ लाख ८० हजार २ सय ५९ मेटिक्टन धान उत्पादन भएको छ । प्रदेशमा कास्की सहित १ लाख २३ हजार ५ सय ३१ हेक्टर क्षेत्रफलमा यस बर्ष धान खेति भएको थियो । प्रदेशको धानको उत्पादकत्व भने प्रतिहेक्टर ३.५ मेटिक्टन रहेको छ ।

प्रतिकृया दिनुहोस्