Pokharapatra National Daily

टेसा पोखराद्धारा मौद्रिक नीति कार्यान्वयनको माग

ट्रेकिङ इकुपमेन्ट सप एशोसिएशन (टेसा) पोखराको बुधबार सम्पन्न २३औँ साधारणसभा तथा १३ औँं अधिवेशनले नारायण सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
अधिवेशनले आगामी दुई वर्षका लागि चयन गरेको नयाँ कार्यसमितिको उपाध्यक्षमा प्रमोद भण्डारी र रामजीप्रसाद अधिकारी, महासचिवमा टीकाबहादुर लम्साल, सचिवमा टीकारम लम्साल तथा कोषाध्यक्षमा महेन्द्र जिसी छन् । त्यसैगरी सदस्यमा रमेशराज अधिकारी, मिलन सापकोटा, केशवराज बाँस्तोला र बुद्धिबहादुर बस्नेत रहेको टेसा पोखराको निवर्तमान अध्यक्ष रामचन्द्र गिरीले जानकारी दिए । सो अवसरमा नवनिर्वाचित अध्यक्ष सापकोटाले कोभिड– १९ का कारण पर्यटकीय गतिविधि ठप्प हुँदा ट्रेकिङ इकुपमेन्ट व्यवसायी थप समस्यामा रहेको बताए । उनले व्यवसायीका हकहितका लागि विभिन्न पर्यटन सम्बद्ध सङ्घ संस्था सरोकारवाला निकायसँग समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । यसअघि उद्घाटन समारोहमा गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले कोरोनाका कारण सङ्कटमा परेको उद्योग व्यवसाय पछिल्लो राजनीतिक घटना क्रमले यस क्षेत्रमा थप नाकारात्मक प्रभाव पार्ने बताए । आन्तरिक पर्यटन पुर्नःउत्थान समिति गण्डकी प्रदेशका संयोजक अग्नि कँडेलले कोभिड–१९ को अवस्थामा पर्यटनलाई चलायमान गराउन आन्तरिक पर्यटन प्रवद्र्धनका कार्यसँगै प्रदेशका ११ वटै जिल्लामा समिति गठन गरी पर्यटन उत्पादनको प्याकेज सार्वजनिक गर्ने बताए ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले सरकारले पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता दिएर सहज नीतिनियम बनाउनुपर्ने बताए । उनले मौद्रिक नीतिको झण्झटिलो प्रक्रियाले व्यवसायीले सास्ती भोगेको उल्लेख गर्दै साना तथा मझौला व्यवसायीले पनि राहत पाउने गरी सरकारले मौद्रिक नीति कार्यान्वयन गर्नुपर्ने जोड गरे । टेसा पोखराका अध्यक्ष रामचन्द्र गिरी संस्थाको गतिविधिसहित वर्तमान अवस्थामा व्यवसायीले भोग्नु परेका समस्याका बारेमा आफ्नो धारणा राख्नभएको थियो ।

प्रतिकृया दिनुहोस्