Pokharapatra National Daily

पोउवा संघका नवनिर्वाचित पदाधिकारीलाई अभिमुखीकरण

पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुले संघका पूर्वअध्यक्षहरुसँग मार्गनिर्देशन लिएका छन् ।
लामो इतिहास बोकेको संघलाई अझ बढी उद्योगी÷व्यवसायी मैत्री बनाउन तथा संघको भावी कार्ययोजना तय गर्न सो मार्गदर्शन लिइएको संघका अध्यक्ष नारायण कोइरालाले बताए । ‘अग्रजले दिएको योगदानको कदर गर्दै उहाँहरुको अनुभवलाई उद्योगी÷व्यवसायीको हितमा लगाउनु नै हाम्रो उद्देश्य हो’, अध्यक्ष कोइरालाले भने, ‘संघ व्यवस्थापन तथा नेतृत्व विकासका लागि पनि अभिमुखीकरण कायर्यक्रम आयोजना गरिएको हो ।’
संघले पहिलो चरणमा संघका पूर्वअध्यक्षहरुसँग पदाधिकारी र कार्यसमितिको संयुक्त बैठक बसेको थियो । त्यसलगत्तै पदाधिकारी र कार्यसमितिका सदस्यहरुलाई संघ तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी, संघका पूर्वअध्यक्ष तथा मानार्थ सदस्य अशोक पालिखे एवं बसन्त उदासले प्रशिक्षण दिएका थिए । पहिलो चरणको प्रशिक्षण कार्यक्रममा बोल्दै संघ तथा महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले नियम अनुसार व्यापार÷व्यवसाय गर्न अभिप्रेरित गर्ने तथा गलत प्रवृत्तिको विरोध गर्नु संघको कर्तव्य भएको बताए । उनले व्यापार÷व्यवसाय गर्ने निजी क्षेत्रको सम्मान गदै उनीहरुको संरक्षण गर्नुपर्नेमा जोड दिए । सोही उपक्रममा बोल्दै संघका मानार्थ सदस्य तथा पूर्वअध्यक्ष अशोक पालिखेले संघका पदाधिकारी तथा सदस्यहरुले अनुशासित जीवन शैली अपनाउनुपर्ने, मेला र महोत्सवलाई अझ परिष्कृत बनाउँदै अघि बढ्नुपर्ने,संघको अगुवाईमा पोखरामा सुरु भएको खानेपानी सुधार परियोजना सम्पन्न गर्न सहकार्य गर्नुपर्ने, सरकारी निकायहरुले निजी क्षेत्रको अनुगमन गर्ने क्रममा पोखरा उद्योग वाणिज्य संघको अनिवार्य सहभागिताको लागि लविङ गर्नुपर्नेलगायतका विषयमा जोड दिएका थिए । यसैगरि पूर्वअध्यक्ष बसन्त उदासले संघको आर्थिक पाटो सवल बनाउन सदस्यता बृद्धि एवं नयाँ आयस्रोतको खोजी गर्नुपर्नेमा जोड दिएका थिए । यता, संघका महासचिव सुरेन्द्रमान विजुक्छेका अनुसार पहिलो चरणको सामूहिक बैठक तथा दोस्रो चरणको अभिमुखीकरणपछि संघ तथा महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले संघको भावी कार्यदिशाबारे पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई प्रशिक्षित गरेका छन् । सो प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै संघ तथा महासंघका पूर्वअध्यक्ष मुल्मीले पदाधिकारी तथा सदस्यहरुबाट संघलाई कसरी अगाडि बढाउने भन्नेबारे व्यक्त गरेका रायहरुलाई परिमार्जन गर्न सुझाएका थिए । पूर्वअध्यक्ष मुल्मीले सबै पदाधिकारी तथा सदस्यहरुसँग व्यवसाय र समग्र पोखराको हितमा संघल निर्वाह गर्नुपर्ने भूमिका, पोखरामा नयाँ व्यवसाय सुरु गर्न संघले लिनुपर्ने पहल, महासंघ र प्रदेश उद्योग वाणिज्य संघसँगको सम्बन्ध,संघको आन्तरिक व्यवस्थापन र संघको क्रियाकलाप कसरी प्रभावकारी बनाउने भन्नेबारे राय माग गरेका थिए । उनीहरुको राय सुनेपछि पूर्वअध्यक्ष मुल्मीले पदाधिकारी तथा सदस्यहरुको व्यक्तित्व विकासले संघलाई पनि फाइदा पुग्ने धारणा राखे । उनले आउँदो बजेटबारे निजी क्षेत्रको धारणा बनाउन, कोभिड–१९ ले निम्त्याएको आर्थिक संकटले पिल्सिएका व्यवसायीको धितो लिलाम रोक्न, पुनःकर्जा वितरणबारे चनाखो बन्न,पार्किङ व्यवस्थापनबारे सोच्न, बिजुलीको डिमाण्ड शुल्क छुटमा कोरोना कहरको वर्तमान अवस्थामा सम्पूर्ण उद्योग व्यवसायलाई समेट्नका लागि पहल कदमी गर्न, पोखरामा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीकेन्द्र निर्माणको लागि सरोकारवालालाई घच्घच्याउन, पोखरालाई प्रदुषणमुक्त बनाउन,रात्रीकालीन बजारको अवधारणा ल्याउन संघले पहल गर्नुपर्नेमा जोड दिएका थिए । उनले संघले आन्तरिक व्यवस्थापन चुस्त बनाउँदै सदस्यहरुलाई बढी सेवा दिनुपर्नेमा पनि जोड दिएका थिए ।
संघका महासचिव सुरेन्द्रमान विजुक्छेका अनुसार यसअघि भएको संयक्तु बैठकमा संघका पूर्वअध्यक्षहरु सुरेशकुमार राजभण्डारी, बसन्त उदास, रमेश कर्माचार्य, राजेन्द्रकुमार लालचन, दीपक श्रेष्ठ, मानकाजी माकाजु, कृष्णमोहन श्रेष्ठ तथा निवर्तमान अध्यक्ष दामु अधिकारीले संघको गरीमा बढाउन आफ्ना क्रियाकलापलाई सामाजिक एवं व्यवसायी मैत्री बनाउनुपर्नेमा जोड दिएका थिए ।

प्रतिकृया दिनुहोस्