
पोखरा महानगर पालिका १६ स्थित रमणिय अर्मला कोटमा दुई दिने कानुनी सचेतना एवम अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
पोखरा महानगर पालिका वडा नं १६ को आयोजनामा अर्मला कोटका महिलाहरुलाई लक्षित गरी महिला शसक्तिकरणका लागि उक्त कार्यक्रम सञ्चालन गरिएको हो । उक्त कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगर पालिकाकी उप प्रमुख मञ्जुदेवी गुरुङले महिला शसक्तिकरणका लागि महिलाहरुलाई कानुनी ज्ञान आवश्यक रहेको बताइन । पोखरा महानगर पालिका न्यायिक समितीको संयोजक समेत रहेकी उनले भनिन–“२१ औं शताव्दीमा महिलाहरु कानुनी ज्ञानको प्रयाप्त सचेतनाले मात्रै आफ्नो क्षमतालाई प्रदर्शित गर्न सक्छन ।” सो अवसरमा पोखरा महानगर पालिकाका कानुन अधिकृत राममणी अधिकारीले कानुन सम्वन्धी प्रशिक्षण दिंदै अवका महिलाहरु चुल्हो र चौकोबाट माथी उठेर समाज विकासका लागि अघि वढ्नु पर्ने औंल्याए । कार्यक्रममा अर्मलाबासीहरुको तर्फबाट आफ्नो धारणा व्यक्त गर्दै तेज गुरुङले घरको एक जना आमा शिक्षित भएमा मात्र सम्पूर्ण परिवार र समाज परिवर्तनको बाटो तर्फ लम्कने बताउँदै कानुनी सचेतना कार्यक्रमबाट प्रयाप्त लाभान्वित हुन आग्रह गरे । पोखरा महानगर पालिका वडा नं १६ का अध्यक्ष जिवन प्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितीका सदस्य गुमा देवी गौतम, वडा सदस्यद्वय राजेश गुरुङ र विष्णु नेपालीले समेत आ–आफ्ना धारणा राखेका थिए । उक्त सचेतना कार्यक्रम पश्चात होम स्टे सञ्चालन गर्ने अर्मलाका करिव ३० जना महिलाहरुलाई तिन दिने कुक तालिम समेत प्रदान गरिएको छ । गण्डकी प्रदेश सरकारद्वारा अर्मला कोट होम स्टे प्रदेशकै होम स्टेमा सुचिकृत समेत भइसकेको छ ।