Pokharapatra National Daily

पहिरोमा पुरियर पोखरामा एकै घरका ६ सहित ११ जनाको मृत्यु

पहिरोमा पुरियर पोखरामा एकै घरका ६ सहित ११ जनाको मृत्यु भएको छ । केही दिन देखि परेको अविरल बर्षाका कारण बिहीबार राती र शुक्रबार बिहान गरी पोखराका ३ ठाँउमा पहिरोले घर पुरिदा (एकै घरका ज्वाइँ छोरी) ६ जना सहित ११ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पोखरा १९ पुरुन्चौरमा एकै घरका ६ जनाको मृत्यु भएको हो भने पोखरा ३२ चैतपुर बाह््रबिसेमा ३ जना, पोखराको शिशुवामा एक जनाको गरी ११ जनाको पहिरोमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बशन्तकुमार शर्माले बताउनु भयो ।
पोखरा १९ पुरुन्चौरका तल्लोकोट टारीका कुल बहादुर परियार उहाँका छोरी ज्वाइँ स्याङ्जा निवासी २५ बर्षका अस्मित परियारको पहिरोमा परि मृत्यु भएको उहाँले जनाउनु भयो । उहाँको घर भन्दा केही माथिबाट आएको पहिरोमा परी ४६ बर्षका तुल बहादुर सहित उहाँकी श्रीमती ४३ बर्षकी मनकुमारी परियार, उहाँकी आमा ८५ बर्षकी लक्षिमा परियार, १५ बर्षकी छोरी प्रशना परियार, स्याङ्जा घर भई माइत आउनु भएको छोरी २० बर्षकी प्रभा परियार मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसै गरी स्थानिय ५६ बर्षकी राधिका परियारको समेत पहिरोमा परी मृत्यु भएको सूचना अधिकारी शर्माले जनाउनु भयो । उहाँले उक्त घटना पश्चात उद्धारमा खटिदा लडेर पहिरोमा पर्दा मृत्यु भएको बताइन्छ ।
उक्त घटना विहीबार राति करिब १० बजेको समयमा भएको पोखरा १९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डेले बताउनु भयो । एक दिन अघि घर भन्दा माथिल्लो भिरालो भागमा सामान्य पहिरो गए पनि त्यसलाई ख्याल नगर्दा ठुलो दुर्घटनामा परी एकै परिवारका ६ सहित ७ जनाको ज्यान गएको स्थानीयले बताउनु भयो । उक्त घटनामा परी कुलबहादुरका छोरा पवन परियार र स्थानीय राधिकाका छोरा कुमार परियार घाइते हुनु भएको छ । उहाँहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचार भएको थियो । उहाँहरु बिहान मात्र डिस्चार्च भएको थियो ।
पोखरा ३२ चैतपुर बाह््बिसेमा ३ जनाको पहिरोमा परी मृत्यु भएको छ । मृत्यु हुनेहरुमा १८ बर्षकी अनिता ओझा, ११ बर्षकी अनुस्का ओझा र ९ बर्षका प्रतिक सुवदीको पहिरोमा परी मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । स्थानीय आरती ओझाको टिनले छाएको एक तले ढुंगा माटोले बनेको घरमा माथिबाट आएको पहिरोले पुरिदा उहाँकी छोरीहरु र दाइँको छोरा सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसैगरी पोखराको शिशुवामा राती १ बजे आएको पहिरोले घर पुरिदा माइती कुमारी गुरुङको मृत्यु भएको छ । पहिरोमा परी वेपक्ता उहाँको बिहान ७ः०० बजे मात्र शव भेटिएको हो । कास्कीको मादी गाउँपालिका ११ बस्ने हाल शिशुवा बस्नु भएको ८० बर्षकी गुरुङ छोरा संग बस्नु भएको थियो । उहाँका ५५ बर्षका छोरा ओम बहादुर गुरुङको उद्धार गरिएको छ । पोखरामा भएका घटनाहरुमा स्थानीय, प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना सहितको टोली राति देखि खटिनु भएको छ ।
चैयनपुरकी ४० बर्षकी आरती ओझा पहिरोमा परी घाइते भएसंगै उहाँको पश्चिम क्षेत्रीय अस्पतालमा उपचार भइ रहेको छ । त्यस्तै कास्की मादी गाउँपालिका वडा नं. ११ तल्लो ताप्लेका ५५ को ओम बहादुर गुरुङलाई प्रहरी र स्थानियको सहयोगमा सकुशल उद्दार गरिएको छ । उहाँ समान्य घाइते हुनु भएको छ । यसैचिब गण्डकी प्रदेश सरकारले केही दिन देखिको परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो लगायतका प्राकृतिक विपदमा परी ज्यान गुमाउनु भएको घटना प्रति गहिरो दुःख व्यक्त गरेको छ । ठूलो संख्यामा नागरिकहरु घाइते भएको, धेरैको सख्यामा विस्थापित हुन पुगेको, खेतीयोग्य जमीनमा क्षति पुगेको, देशभरकै सडक सञ्जाल अवरुद्ध भएकोले यात्रुहरु अलपत्र परेको, यसबाट उत्पन्न परिस्थितिले नागरिकको जनजीवन कष्टकर भएकोले सम्पूर्ण पीडितहरुको यो संवेदनशीलता प्रति गण्डकी प्रदेश सरकार आवश्यक समन्वय सहकार्य गर्न तयार रहेको मुख्यमन्त्रीको सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
गण्डकी प्रदेश सरकारले दश करोड मौज्दातमा नघट्ने गरि प्रदेश विपद् व्यवस्थापन कोषमा व्यवस्थापन गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । विपदमा परेका व्यक्ति वा तिनको परिवारलाई तत्काल रहात सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुबाट नै उपलब्ध हुने प्रवन्ध गरिएको छ भने तीन वटै तहका सरकारहरुले आवश्यक समन्वय र व्यवस्थित योजना साथ सम्पूर्ण रुपले ध्यान केन्द्रीत गरी थप मानवीय र भौतिक क्षति न्यूनीकरण गर्न सबैसँग आग्रह गरिएको छ ।

प्रतिकृया दिनुहोस्