Pokharapatra National Daily

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको उद्घाटन

पोखरा महानगरपालिका–३० लेखनाथस्थित खुदीमा स्थापना गरिएको पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको उद्घाटन गरिएको छ ।
पोखरा विश्वविद्यालयले आफ्नो मातहतमा सञ्चालनमा ल्याएको एक सय शय्याको शिक्षण अस्पतालको आज गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गर्नुभएको हो । विश्वविद्यालयले गत भदौमा आंशिक रूपमा अस्पताल सञ्चालन गरे पनि भवन निर्माण सकिएपछि आजदेखि पूर्णरूपमा सञ्चालनमा ल्याएको हो ।
अस्पताल उद्घाटनपछि मुख्यमन्त्री अधिकारीले स्वास्थ्य बीमालाई पहिलो प्राथमिकतामा राखेर अस्पतालले सेवा दिनुपर्ने बताउनुभयो । शिक्षण अस्पतालको महत्व र सेवालाई बुझेर सबै अगाडि बढ्न उहाँको आग्रह थियो । स्वास्थ्यका कारण जनता शारीरिक एवं मानिसक रूपमा विचलन नहुने गरी गुणस्तरीय सेवा प्रदान गर्नुपर्नेमा मुख्यमन्त्री अधिकारीको जोड थियो । विश्वविद्यालयका रजिष्ट्रार एवं शिक्षण अस्पतालका सञ्चालक समितिका अध्यक्ष प्राडा दीपकबहादुर भण्डारीले विश्वविद्यालयको चिकित्सा शिक्षा कार्यक्रमहरूलाई प्रयोगात्मक अभ्यासका लागि अस्पताल आवश्यक पर्ने भएकाले अस्पताल सञ्चालनमा ल्याइएको बताउनुभयो । विभिन्न सङ्घसंस्थाको सहयोगमा रु पाँच करोडका स्वास्थ्य उपकरण सङ्कलन भएपछि आज अस्पतालको उद्घाटन गरिएको हो । अस्पताल भवन रु सात करोड बराबरको लागतमा निर्माण गरिएको विश्वविद्यालयको स्वास्थ्य विज्ञान सङ्कायका डिन डा अमर नागिलाले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्