राष्ट्रिय बाल दिवस र हाम्रो जिम्मेवारी

-मीन बहादुर साउद
बालापन जीवनको सबैभन्दा कोमल, सुन्दर, संवेदनशील र सिर्जनशील समय हो । यही उमेरमा बालबालिकाले संसारलाई चिन्न सिक्छन्, सपना देख्न थाल्छन् र आफ्नो भविष्यको आधार तयार गर्छन् । उनीहरूको आँखामा देखिने सपना केवल व्यक्तिगत सपना होइन; ती सपना भोलिको समाज, राष्ट्र र विश्वको सम्भावित रूपरेखा पनि हुन् । त्यसैले बालबालिकाको बालापन सुरक्षित राख्नु भनेको उनीहरूको आजलाई मात्र सुरक्षित गर्नु होइन, समग्र राष्ट्रको भविष्यलाई सुरक्षित गर्नु हो ।
यही गहन यथार्थलाई आत्मसात् गर्दै नेपालमा प्रत्येक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाइन्छ । राष्ट्रिय बाल दिवस २०८३ को नारा “बालापनको रक्षाः भविष्यको सुरक्षा” रहेको छ । यो नारा आजको परिस्थितिमा झनै अर्थपूर्ण र सान्दर्भिक देखिन्छ । बालबालिकालाई हिंसा, शोषण, भेदभाव, बालश्रम, बालविवाह, दुव्र्यवहार र विभिन्न जोखिमबाट जोगाउँदै पोषण, शिक्षा, स्वास्थ्य, खेलकुद, सिर्जनशीलता र सहभागिताको अवसर प्रदान गर्नुनै यस नाराको मूल मर्म हो ।
बाल दिवसको ऐतिहासिक पृष्ठभूमि
नेपालमा बाल दिवस मनाउने परम्परा वि.सं. २०२१ साल भदौ ४ गतेबाट सुरु भएको मानिन्छ । तत्कालीन रानी रत्नराज्यलक्ष्मी देवी शाहको जन्मदिनको अवसर पारेर नेपाल बाल संगठन स्थापना तथा बालबालिकाको संरक्षण र कल्याणका गतिविधि सञ्चालन गर्ने क्रममा बाल दिवस मनाउन थालिएको थियो । समयको क्रमसंगै बदलिदो राजनैतिक परिवेश, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटना क्रम, बालबालिका सम्बन्धि कानुन आदिका कारण बाल दिवस मनाउने अवधारणामा पनि परिवर्तन आयो। कुनै व्यक्तिविशेषको जन्मदिनसँग जोडिएको दिवस क्रमशः बालबालिकाको अधिकार, संरक्षण, विकास र सहभागितालाई मध्यनजरगर्दै राष्ट्रिय अभियानका रूपमा विकसित भयो । नेपालले बाल अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि १९८९ लाई सन् १९९० को सेप्टेम्बर १४ (बि.सं.२०४७ भाद्र २९) मा अनुमोदन गरेपछि बालअधिकारको विषयले थप अन्तर्राष्ट्रिय तथा राष्ट्रिय महत्व प्राप्त ग¥यो र सोहि दिनको सम्झना स्वरूप वि.सं. २०६३ देखि राष्ट्रिय बाल दिवस भदौ २९ गते मनाउन थालिएको हो। यस ऐतिहासिक यात्राले एउटा महत्वपूर्ण कुरा स्पष्ट गर्छ—बाल दिवस कुनै एक दिनको उत्सव मात्र होइन; बालबालिकाप्रतिको राज्य, समाज र परिवारको जिम्मेवारीलाई निरन्तर स्मरण गराउने महान अभियान हो ।
अधिकारको सुनिश्चिततादेखि व्यवहारसम्म
नेपालको संविधानले बालबालिकाको अधिकारलाई मौलिक हकका रूपमा स्वीकार गरेको छ। संविधानको धारा ३९ ले बालबालिकालाई नाम र पहिचानसहित जन्मदर्ताको अधिकार, शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको अधिकार सुनिश्चित गरेको छ । बालबालिकालाई शोषण, हिंसा र जोखिमपूर्ण कामबाट संरक्षण गर्ने व्यवस्था पनि संविधानमा गरिएको छ । त्यसैगरी बालबालिका सम्बन्धी ऐन, २०७५ ले बालबालिकाको बाँच्न पाउने अधिकारदेखि संरक्षण, विकास, शिक्षा, स्वास्थ्य, परिवारसँग बस्न पाउने अधिकार, सहभागिता, अभिव्यक्ति, सूचना, खेलकुद र मनोरञ्जनलगायतका अधिकारलाई कानुनी रूपमा सुनिश्चित गरेको छ । तर अधिकार कानुनका पानामा लेखिएर मात्र सुरक्षित हुँदैनन् । अधिकारको वास्तविक अर्थ त्यसबेला स्थापित हुन्छ, जब हरेक बालबालिकाले दैनिक जीवनमा ती अधिकारको अनुभूति गर्न पाउँछ । विद्यालयमा सुरक्षित वातावरण, घरमा माया र सम्मान, समाजमा समान व्यवहार तथा राज्यबाट आवश्यक सेवा र संरक्षण प्राप्त हुनु नै बालअधिकारको व्यवहारिक रूप हो ।
संरक्षणका प्रयास र चुनौती
नेपालमा बालअधिकार संरक्षणका लागि विभिन्न सरकारी तथा गैरसरकारी क्षेत्रबाट प्रयास भइरहेका छन् । राष्ट्रिय बाल अधिकार परिषद्, स्थानीय तह, विद्यालय, बाल क्लब, सामाजिक संघसंस्था तथा नागरिक समाजले बाल संरक्षण र बालअधिकार प्रवद्र्धनमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् । विद्यालयमा बालमैत्री वातावरण निर्माण, बाल क्लबको गठन, अतिरिक्त क्रियाकलापमा बाल सहभागिता, बालहिंसाविरुद्ध चेतनामूलक कार्यक्रम, बालश्रम तथा बालविवाहविरुद्ध अभियान र जोखिममा परेका बालबालिकाको संरक्षणजस्ता प्रयास उल्लेखनीय छन् ।
यद्यपि चुनौतीहरू अझै छन् । आर्थिक विपन्नता, बालश्रम, बालविवाह, हिंसा, दुव्र्यवहार, पारिवारिक उपेक्षा, बेचबिखन, विद्यालय छाड्ने अवस्था तथा डिजिटल माध्यमबाट उत्पन्न हुन सक्ने जोखिमले बालबालिकाको सुरक्षित भविष्यमा चुनौती थपिरहेका छन् । प्राकृतिक विपद् तथा अन्य संकटका समयमा बालबालिका अझ बढी जोखिममा पर्न सक्छन् । त्यसैले अबको आवश्यकता केवल नीति र कार्यक्रम घोषणा गर्नु होइन; बालअधिकारको प्रभावकारी कार्यान्वयन र प्रत्येक बालबालिकासम्म त्यसको प्रत्यक्ष लाभ पु¥याउनु हो ।
परिवारः बालअधिकारको पहिलो पाठशाला
बालबालिकाको पहिलो विद्यालय घर हो । परिवारले बालबालिकालाई दिने माया, व्यवहार, संस्कार र वातावरणले उनीहरूको व्यक्तित्व निर्माणमा गहिरो प्रभाव पार्छ । अभिभावकले छोराछोरीबीच कुनै किसिमको भेदभाव गर्नु हुँदैन । बालबालिकाको कुरा सुन्ने, उनीहरूको भावना बुझ्ने, प्रश्न गर्न प्रोत्साहित गर्ने र उनीहरूको रुचि तथा क्षमताको सम्मान गर्ने संस्कार विकास गर्नुपर्छ । गल्ती गर्दा डर र दण्डभन्दा संवाद र सकारात्मक अनुशासन प्रभावकारी हुन्छ ।
बालबालिकालाई महँगो वस्तु दिनुभन्दा समय, माया, सुरक्षा र सुन्ने अवसर दिनु अझ महत्वपूर्ण हुन्छ । उनीहरूले आफ्ना समस्या निर्धक्कसँग अभिभावकसँग भन्न सक्ने वातावरण निर्माण गर्नु बाल संरक्षणको पहिलो खुड्किलो हो ।
विद्यालयः ज्ञानसँगै अधिकारको पाठ
बालबालिकाको दोस्रो महत्वपूर्ण संसार विद्यालय हो जहाँ उनीहरु फरक–फरक पृष्ठभूमिबाट आएका बालबालिकाहरुको माझमा आफूलाई सामाजिकीकरण गर्ने प्रयत्न गरिरहेका हुन्छन । विद्यालय केवल पाठ्यपुस्तक पढाउने स्थान नभई बालबालिकाको व्यक्तित्व, प्रतिभा, आत्मविश्वास र सामाजिक चेतना विकास गर्ने थलो पनि हो। त्यसैले विद्यालय बालमैत्री, सुरक्षित र समावेशी हुनुपर्छ । शिक्षकले विद्यार्थीको कमजोरीलाई उपहास गर्ने होइन, सम्भावनालाई पहिचान गरेर प्रोत्साहित गर्नुपर्छ । खेलकुद, कला, साहित्य, संगीत, विज्ञान, प्रविधि तथा अन्य सिर्जनात्मक गतिविधिमा विद्यार्थीको सहभागिता बढाउनुपर्छ । बालबालिकाको आवाज सुन्ने, रुची पहिचान गर्ने र उनीहरूलाई विद्यालयका विभिन्न गतिविधिमा अर्थपूर्ण सहभागिता गराउने अभ्यासले उनीहरूमा जिम्मेवारी, नेतृत्व र लोकतान्त्रिक संस्कार विकास गर्छ ।
समाजः मौन दर्शक होइन, जिम्मेवार संरक्षक
बालबालिकाको संरक्षण परिवारको मात्र जिम्मेवारी होइन । बालश्रममा लगाइएको, हिंसामा परेको, कुलतमा फसेको वा बालविवाहको जोखिममा रहेको बालबालिका देख्दा समाज मौन बस्नु हुँदैन । समुदायले बालमैत्री वातावरण निर्माण गर्न पहल गर्नुपर्छ । स्थानीय तह, विद्यालय, अभिभावक, युवा, सञ्चारमाध्यम, सामाजिक संस्था तथा नागरिक समाजबीच सहकार्य आवश्यक छ । बालबालिकालाई केवल संरक्षण गर्नुपर्ने समूहका रूपमा होइन, भोलिका प्रष्ट विचार र क्षमता भएका अधिकारसम्पन्न नागरिकका रूपमा स्वीकार गर्नुपर्छ ।
राज्यः अधिकारको संरक्षक
राज्य बालअधिकार संरक्षणको प्रमुख दायित्व बोकेको संस्था हो । संविधान र कानुनले दिएको अधिकार व्यवहारमा कार्यान्वयन गर्न राज्यले प्रभावकारी नीति, पर्याप्त बजेट, सक्षम संस्थागत संरचना र उत्तरदायी संयन्त्र निर्माण गर्नुपर्छ । हरेक बालबालिकाको शिक्षा र स्वास्थ्यमा समान पहुँच, पोषण, सामाजिक सुरक्षा, जन्मदर्ता, सुरक्षित वातावरण तथा जोखिममा परेका बालबालिकाको उद्धार र पुनःस्थापना सुनिश्चित गर्न आवश्यक छ । कानुन उल्लङ्घन गर्ने व्यक्तिमाथि प्रभावकारी कारबाही र पीडित बालबालिकाको संरक्षण तथा पुनःस्थापनालाई पनि प्राथमिकता दिनुपर्छ ।
“बालापनको रक्षाः भविष्यको सुरक्षा” को सान्दर्भिकता
यस वर्षको नारा “बालापनको रक्षाः भविष्यको सुरक्षा” केवल आकर्षक शब्दहरूको संयोजन होइन; यो वर्तमान समयको आवश्यकता र हाम्रो सामूहिक जिम्मेवारीको ऐना हो । बालबालिकाको बालापन खोसिएमा उनीहरूको भविष्य प्रभावित हुन्छ । विद्यालय जानुपर्ने उमेरमा श्रम गर्न बाध्य हुनु, खेल्नुपर्ने समयमा हिंसा सहनु, सिक्नुपर्ने समयमा विवाहको बोझ बोक्नु, आफ्ना कुरा राख्नुपर्ने अवस्थामा डराएर बस्नु वा अवसरको अभावमा प्रतिभा दबिनु—यी सबै बालापनमाथिका चुनौती हुन् ।हामीले बुझ्नुपर्ने कुरा के हो भने बालबालिकाको संरक्षणमा गरिएको प्रत्येक लगानी वास्तवमा राष्ट्रको भविष्यमा गरिएको लगानी हो । आज एउटा बालबालिकालाई गुणस्तरीय शिक्षा दिइयो भने भोलि एउटा सक्षम नागरिक तयार हुन्छ । आज उसलाई सुरक्षित वातावरण दिइयो भने भोलि जिम्मेवार व्यक्तित्व निर्माण हुन्छ । आज उसको विचारलाई सम्मान गरियो भने भोलि उसले अरूको अधिकार सम्मान गर्न सिक्छ ।
बाल दिवसः उत्सवभन्दा प्रतिबद्धताको दिन
बाल दिवसका अवसरमा विद्यालय तथा समुदायमा गीत, नृत्य, कविता, वक्तत्वकला, चित्रकला, खेलकुद र विभिन्न मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिन्छन् । यस्ता गतिविधिले बालबालिकामा उत्साह र सिर्जनशीलता बढाउँछन् । तर बाल दिवसको सार यतिमा मात्र सीमित हुनु हुँदैन। बाल दिवसले हामीलाई एउटा प्रश्न सोध्नुपर्छ—के हाम्रा सबै बालबालिकाले आधारभूत सेवा प्राप्त गरेका छन् ? के उनीहरूले आफ्नो कुरा निर्धक्कसँग भन्न पाएका छन् ? के उनीहरूलाई समान अवसर प्राप्त छ ? के उनीहरूको बालापन साँच्चिकै सुरक्षित छ ? आदि थुप्रै प्रश्नहरुको सकारात्मक उत्तर खोज्नु नै बाल दिवसको वास्तविक उपलब्धि हुनेछ ।
निष्कर्ष
राष्ट्रको भविष्य बोकेका बालबालिकाहरुको वर्तमान बालबालिकामैत्री हुनुपर्छ । उनीहरुको अधिकार बोलि र नीतिका दस्तावेजमा मात्र सिमित हुनु हुँदैन; भविष्य त आज विद्यालयमा पढिरहेका, खेलिरहेका, सिर्जना गरिरहेका र सपना देखिरहेका बालबालिकाको मन र मस्तिष्कमा निर्माण गर्ने परिवेश सिर्जना गरिनु पर्दछ । त्यसैले बालबालिकालाई केवल “भोलिका कर्णधार” भनेर भविष्यमा सीमित गर्नु हुँदैन । उनीहरू आजका पनि महत्वपूर्ण नागरिक हुन् । उनीहरूको विचार सुन्नु, अधिकारको सम्मान गर्नु, सुरक्षित वातावरण दिनु र निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता गराउनु आजको टड्कारो आबश्यकता हो । यस राष्ट्रिय बाल दिवसमा एउटा सामूहिक प्रतिबद्धता गरौँ–बालबालिकाको मुस्कान नहराओस्, उनीहरूको सपना नटुटोस्, उनीहरूको बालापन नखोसियोस् र उनीहरू डर र त्रासमा होइन, सम्भावना बोकेर भविष्यतर्फ अघि बढ्न सक्ने गोरेटो निर्माण गरौ । बालापन सुरक्षित भयो भने भविष्य सुरक्षित हुन्छ जसबाट सक्षम नागरिकको अपेक्षा गरिन्छ । यसर्थ राष्ट्रिय बाल दिवस २०८३ को सन्देश “बालापनको रक्षाः भविष्यको सुरक्षा” एक दिनका लागि उच्चारण गर्ने वाक्य होइन; घर, विद्यालय, समाज र राज्यले हरेक दिन व्यवहारमा उतार्नुपर्ने राष्ट्रिय प्रतिबद्धता हो ।
लेखकः शिक्षक भद्रकाली मा.वि. पोखरा –१३, कास्की















