आज : २०२६-०७-१३, सोमबार

मोदी खोलाको बाढीले घर र रेष्टुरेन्ट बगायो

आइतबार दिउँसो परेको अविरल वर्षापछि आएको बाढी र पहिरोले कास्कीको पर्यटकीय गाउँ घान्द्रुक जाने सडक अवरुद्ध भएको छ ।
आइतबार दिउँसो किम्रुङ खोला हुदै मोदी खोलामा आएको बाढीले अन्नपूर्ण गाउँपालिका–८ र १० को सिमानास्थित स्याउली बजारका दुई घरमा समेत क्षति पुगेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले बताउनु भयो । विरेठाँटी–घान्द्रुक सडक कटान गरेपछि सवारी आवागमन हाल पूर्ण रूपमा ठप्प भएको उहाँले जनाउनु भयो ।
किम्रुङ खोलामा आएको भीषण बाढीले अन्नपूर्ण पदमार्गमा पर्ने झोलुङ्गे पुलसमेत बगाएको छ । पुल बगेसँगै करिब ३० देखि ४० घरपरिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन् भने पदमार्ग हुँदै आवतजावत गर्ने स्थानीयवासी र पर्यटकलाई समेत समस्या परेको छ । “किम्रुङ निकै ठाडो खोला हो । माथिल्लो क्षेत्रमा बाढी र पहिरो जाँदा ढुंगा, काठ र रुखबिरुवासहित ठूलो भेल तल आएको छ । त्यसैले पुल र सडकमा ठूलो क्षति पुगेको हो,“ अध्यक्ष केसीले बताउनुभयो । विरेठाँटीबाट घान्द्रुक जाने पक्की सडक नदीले कटान गरेकाले हाल सवारी सञ्चालन पूर्ण रूपमा बन्द भएको छ । पानीको बहाव घटेपछि वैकल्पिक रूपमा सडक सञ्चालन गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । बाढीले अन्नपूर्ण गाउँपालिका–८ को स्याउली बजारमा पनि क्षति पु¥याएको छ । गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङका अनुसार दुई वटा रेष्टुरेन्टमा क्षति पुगेको छ भने केही घरमा समेत बाढी पसेर भौतिक क्षति भएको छ । मोदी खोलाको बहाव बढेपछि केही स्थानमा वारपार गर्नसमेत समस्या भएको उहाँले बताउनुभयो । घटनापछि गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी, वडा नं. ११ का अध्यक्ष हिमबहादुर गुरुङ, सुरक्षा निकाय तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप ) को टोली घटनास्थलमा पुगेर क्षतिको विवरण संकलन तथा आवश्यक व्यवस्थापनमा जुटेको स्थानिय नवराज केसीेले बताउनु भयो । हालसम्म मानवीय क्षतिको सूचना प्राप्त नभए पनि भौतिक क्षति उल्लेखनीय रहेको जनाइएको छ ।
स्थानीयका अनुसार नदीको माथिल्लो क्षेत्रमा पहिरो खसेर नदी थुनिएर एक्कासी खोलिँदा बाढी आएको आँकलन गरिएको छ । स्थानीय प्रशासन तथा गाउँपालिकाले नदीको तटीय क्षेत्रका स्थानीयलाई अन्यत्र सुरक्षित स्थानमा स्थान्तरण गरेको छ । स्थानीय प्रशासनले विशेषगरी मोदीखोला आसपास र अन्य स्थानमा समेत बसोबास गर्नेहरुलाई उच्च सतर्कता अपनाउन, नदी किनारमा नजान र आवश्यक परे सुरक्षित स्थानतर्फ जान अपिल गरेको छ । गाउँपालिकाले नदी तथा खोला आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन, अनावश्यक रूपमा यात्रा नगर्न तथा मौसममा सुधार नआएसम्म जोखिमयुक्त क्षेत्रमा नजान आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?
खुसी बनायो
०%
दु:ख लाग्यो
०%
उत्साहित
०%
हाँसो लाग्यो
०%
आक्रोशित बनायो
०%

सम्बन्धित थप पोस्टहरू