पोखरामा २२ मेगावाटको सेतीखोला जलविद्युत आयोजना सञ्चालनमा

पोखरा महानगरपालिकामा निर्माण गरिएको २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत आयोजना सञ्चालनमा आएको छ ।
पोखरा महानगरपालिका–३३ मुसेटुँडा क्षेत्रमा निर्माण गरिएको आयोजनाले असार १५ गतेदेखि परीक्षणस्वरूप विद्युत उत्पादन सुरु गरेको हो ।
आउदो साउनको पहिलो सातादेखि व्यावसायिक रूपमा विद्युत बिक्री गर्ने तयारी गरिएको आयोजना निर्देशक इन्जिनियर दीपक बरालले बताउनुभयो । आयोजनाबाट उत्पादित विद्युत हाल नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण प्रणालीमा परीक्षणका रूपमा जोडिएको उहाँले बताउनु भयो । उहाँका अनुसार नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीले परीक्षण सम्पन्न गरेसँगै विद्युत उत्पादन सुरु गरिएको हो। प्रारम्भिक १५ दिन परीक्षण उत्पादन गरिने र त्यसपछि नियमित रूपमा व्यावसायिक उत्पादन सुरु हुने ई.बरालले जनाउनुभयो ।
करिब साँढे ४ बर्षमा उक्त परियोजना निर्माण गरिएको हो भने करिब ५ अर्ब ५ करोड रुपैयाँ लगानी भएको छ । २०७८ साल मंसिरमा निर्माण सुरु भएको आयोजना कोभिड–१९ महामारी, राजनीतिक अस्थिरता, प्रशासनिक जटिलता तथा प्राविधिक चुनौतीका कारण निर्धारित समयभन्दा करिब एक वर्ष ढिलो सम्पन्न भएको परियोजनाले जनाएको छ । आयोजनाको बाँध पोखरा–३३ टिक्लाङमा निर्माण गरिएको छ भने पावरहाउस तल्लो पुँडीटारमा रहेको छ । आयोजनाका लागि ३ हजार १ सय ६ मिटर लामो सुरुङ निर्माण गरिएको छ भने १ हजार २ सय मिटर लामो पेनस्टकमार्फत पानी पावरहाउससम्म पु¥याइएको छ । पावरहाउसमा ११–११ मेगावाट क्षमताका दुईवटा टर्बाइन जडान गरिएका छन्, जसबाट कुल २२ मेगावाट विद्युत उत्पादन हुनेछ। उत्पादित विद्युत करिब २ किलोमिटर लामो प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।
निर्माणका क्रममा सुरुङ खन्ने बेला कमजोर भू–बनोट, प्रसारण लाइन निर्माणका लागि वन क्षेत्रको स्वीकृति प्राप्त गर्न भएको ढिलाइ तथा विभिन्न प्रशासनिक प्रक्रियाले आयोजना सम्पन्न गर्न अपेक्षाभन्दा बढी समय लागेको आयोजना निर्देशक बरालले बताउनु भयो । सेतीखोला हाइड्रोपावर लिमिटेडमा डोल्मा इम्प्याक्ट फण्डमार्फत विभिन्न अन्तर्राष्ट्रिय वित्तीय संस्थाको लगानी रहेको छ । कम्पनीले निकट भविष्यमा सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने तयारीसमेत गरेको जनाएको छ । पोखरालाई ऊर्जा उत्पादनको दृष्टिले थप आत्मनिर्भर बनाउनुका साथै स्थानीय आर्थिक गतिविधि, लगानी र पूर्वाधार विकासमा समेत उक्त परियोजनाले महत्वपूर्ण योगदान दिने निर्देशक ई. बरालले विश्वास व्यक्त गर्नुभयो ।










