Pokharapatra National Daily

आर्मी पहिलोपटक आहा ! रारा पोखरा गोल्डकप च्याम्पियन

विभागिय टोली त्रिभुवन आर्मी क्लवले पोखरामा संचालन भएको प्रतिष्ठित आहा रारा पोखरा गोल्ड कप फुटवल प्रतियोगितामा इतिहास रचेको छ । यस अघिका संस्करणमा ४ पटक फाइनलमा पुगेर पनि उपाधि विहिन भएको आर्मीले नेपालको चर्चीत क्लव थ्रि स्टार क्लवसंग ५ बर्ष अघिको बदला लिदै पोखराको मैदान इतिहास रचेको हो ।
पोखरा रंगशालाको फुटवल मैदानमा शनिबार सम्पन्न भएको २३ ओैं आहा रारा पोखरा गोल्ड कप फुटवल प्रतियोगिताको फाइनल खेलमा आर्मीले थ्रिस्टार माथि एकतर्फी ३–० को गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । आर्मीको जितमा जिलष्पीजंग कार्की, फत्तेमान घले र बसन्त जिम्बाले गोल गर्नु भयो । खेलको ३९ औं मिनेटमा कर्कीले, खेलको ८३ औं मिनेटमा घले र खेलको इन्जुरी समयमा घलेले गोल गरेका हुन्। सिद्धान्त चौधरीको कर्नर वलमा कार्कीले हेड मार्फत पहिलो गोल गर्नु भएको हो । कार्की खेलमा म्यान अफ्दी म्याच घोषित हुनु भयो । सहारा युकेका अध्यक्ष कृष्ण गुरुङ सहितको टिमले उहाँलाई १५ हजार पुरस्कार वितरण गर्नु भएको हो ।
२०७५ सालमा भएको उक्त प्रतियोगितामा थ्रिस्टारले टाईब्रेकरमा ५–४ को अन्तरले पराजित गरेको थियो भने ५ बर्ष पछि आर्मीले बदला लिदा चार पटक फाईनलमा पुगेर उपाधि विहिन भएको आर्मीले पहिलो पटक उपाधि जितेको हो । आर्मीले उपाधि सहित १२ लाख १ हजार पुरस्कारको प्राप्त गरेको छ भने उपविजेता भएको थ्रि स्टारले ६ लाख १ हजार पुरस्कार प्राप्त गरेको क्लवका महासचिव रामजी प्रसाद अधिकारीले बताउनु भयो । यही माघ ९ गते देखि सुरु भएको प्रतियोगितामा एक विदेशी सहित १२ टिमको सहभागिता रहेको खेल संयोजक पूर्णबहादुर गुरुङले जनाउनु भयो । उक्त प्रतियोगिताले पोखराको खेल पर्यटन प्रबर्द्धनमा टेवा पुग्ने अध्यक्ष केशवराज बरालले बताउनु भयो । दर्शकलाई आकषर्ण गर्न फ्यान अफ दी म्याच समेत घोषणा गरिएको छ । शनिबार को खेलमा कृष्ण थापा र अम्मरबहादुर मगर फ्यान अफ दी म्याच घोषित हुदै जनही ५ हजार रुपैया हात पार्न सफल हुनु भयो । उक्त कार्यक्रमलाई वेलायत निवासि उमा र रामचन्द्र गुरुङको सहयोग प्राप्त भएको क्लवका शुर्दशन रञ्जितले बताउनु भयो । फाइनल खेलमा दश हजार भन्दा बढी दर्शकको सहभागिता रहेको थियो ।
यसैगरी प्रतियोगितामा त्रिभुवन आर्मीे क्लवका बिमल पाण्डे उत्कृष्ट खेलाडी घोषित हुनु भएको छ । उहाँलाई इलेक्ट्रिक स्कुटर पुरस्कार प्रदान गरिएको छ । एक विदेशी सहित १२ टिम सहभागिता रहेको प्रतियोगितामा जाउलाखेल युथ क्लव अनुशासित टीम घोषित भएको छ । त्यसै गरी प्रतियोगितामा आर्मीका दिनेश हेन्जन (३ गोल) सर्वाधिक गोलकर्ताको उपाधि हात पार्नु भएको छ भने उत्कृष्ट गोलरक्षकमा आर्मीका समित श्रेष्ठ घोषित हुनु भयो । त्यस्तै प्रतियोगितामा उत्कृष्ट डिफेण्डरमा आर्मीका बिमल पाण्डे, मिड फिल्डरमा थ्रि स्टारका बिबेक पौडेल, स्टाईकरमा आर्मीका जिलेष्पीजंग कार्की र उत्कृष्ट प्रशिक्षकमा आर्मीका मेघराज केसी घोषित हुनु भयो । उहाँहरुलाई उपाधि सहित जनही २५ हजार नगद पुरस्कार प्रदान गरिएको छ । उत्कृष्ट प्रशिक्षक केसीले प्राप्त पुरस्कार मध्य २० हजार सहारा अक्षयकोषको लागि र ५ हजार खेलाडीको लागि सहयोग गर्नु भएको छ । पव्लिक च्वाईसमा आर्मीका भरत खवास र थ्रिस्टारका अभिषेक बराल घोषित हुनु भयो । बिजेता खेलाडीहरूलाई अखिल नेपाल फुटवल संघका अध्यक्ष पंकजबिक्रम नेम्वाङ, सहारा क्लवका संस्थापक अध्यक्ष वसन्त थकाली, सहारा युकेका अध्यक्ष कृष्ण गुरूङ, हिमश्री फुड्सका निर्देशक द्वय प्रकाश केसी, किरण केसी, प्रदेश खेलकुद परिषद गण्डकीका निमित्त सदस्य सचिव केशव पाठक, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरणबहादुर बानियाँ, क्लवका अध्यक्ष केशवराज बराल लगायतले पुरस्कार वितरण गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस्