Pokharapatra National Daily

गठबन्धनका ३ जना उमेदवार राष्ट्रिय सभा सदस्य निर्वाचनमा निर्वाचित

गण्डकी प्रदेशमा विहिबार सम्पन्न भएको राष्ट्रियसभा सदस्य निर्वाचनबाट गठबन्धनका ३ जना उम्मेदवार नै राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् ।
निर्वाचित हुने सदस्यहरुमा अपांगता र अल्पसंख्यकमा क्लष्टरमा कांग्रेसका पदमबहादुर परियार (तनहुँ) निर्वाचित भए । उनले ३ हजार ७ सय ७४ मतभार प्राप्त गरे । उनले स्थानीय तहतर्फ १ सय १ र प्रदेशसभातर्फ ३५ जनाले मत गरेका छन् । निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका हेमचन्द्र शेरचनले २ हजार ४ सय ५८ मतभार पाए । उनलाई स्थानीय तहतर्फ ६८ जना र प्रदेशतर्फ २२ जनाले मतदान गरेका थिए । अपाङ्गता कोटामा ३ मत बदर भएको छ ।
त्यस्तै अन्य क्लस्टरमा नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठ (गोरखा) निर्वाचित भएका छन् । उनले ३ हजार ८ सय ८ मतभार प्राप्त गरी निर्वाचित भएका हुन् । श्रेष्ठलाई स्थानीय तहतर्फ १ सय र प्रदेशसभा तर्फ ३६ जनाले मत दिएका थिए । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका चक्रबहादुर पराजुलीले २ हजार ४ सय ७७ मतभार प्राप्त गरे । उनलाई स्थानीय तहतर्फ ६९ जना र प्रदेशतर्फ २२ जनाले मतदान गरेका थिए । राप्रपाका रोमबहादुर भण्डारीले १ सय ६ मत ल्याए ।
महिला क्लष्टरमा माओवादी केन्द्रकी मनरुपा शर्मा (पर्वत) निर्वाचित भएकी छन् । उनले ३ हजार ६ सय ६० मतभार पाएर पाँचौं प्रयासमा सांसद बन्ने सौभाग्य पाएकी हुन् । सहिदपत्नी शर्माले स्थानीय तहतर्फ ९५ र प्रदेशसभा तर्फ ३५ मत प्राप्त गरिन् । निकटतम् प्रतिस्पर्धी एमालेकी सम्झना देवकोटाले २ हजार ५ सय ५३ मतभार पाएकी छन् । उनले स्थानीय तहतर्फ ७३ र प्रदेशतर्फ २२ जनाले मतदान गरेका छन् । स्थानीय तहतर्फ गठबन्धनका ५ जना मतदाताले विपक्षीलाई मतदान गरे । स्थानीय तहमा १ भोट र प्रदेशतर्फ पनि १ भोट बदर भएको थियो । राप्रपाका उम्मेदवारले स्थानीय तहबाट कुनै पनि मत पाएनन् । प्रदेश सभाका २ सांसदले राप्रपा उम्मेदवार गौमाया श्रेष्ठलाई मतदान गरे ।
बिहान ९ देखि ३ बजेसम्म भएको मतदानमा २२९ जनाले मत खसालेका हुन् । कुल २३० मतदातामध्ये इमेज सहकारी ठगी अभियोगमा फरार बागलुङ ढोरपाटनका मेयर देवकुमार नेपाली अनुपस्थित भए ।
मुख्य निर्वाचन अधिकृत ऋषिराम आचार्यले मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताए । प्रदेशसभातर्फ एमाले सांसद भीम कार्की र पालिकातर्फ पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पहिलो मतदान गरे । मतदानका लागि २ वटा मतदान केन्द्र तोकिएको थियो । तीमध्ये एउटा केन्द्रमा ९ जना खटिएका थिए । गण्डकीको ६० सदस्यीय प्रदेश सभा (सदस्य) बाट ६० तथा प्रदेशका ८५ पालिकाका (प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्ष) गरी १ सय ७० जना मतदाता हुन् । गण्डकीमा १ महानगरपालिका (पोखरा) सहित २६ नगरपालिका र ५८ गाउँपालिका छन् ।
निर्वाचन आयोगले प्रदेश सभाको सांसदको मतभार ५३ र पालिकातर्पm मतभार १९ तोकेकोमा गण्डकीमा दुवै तहका गरी जनप्रतिनिधिको कुल मतभार ६ हजार ४ सय १० हुन आउँछ । गण्डकीबाट राष्ट्रिय सभाका अध्यक्षसमेत रहेका नेकपा (एमाले) का गणेशप्रसाद तिमिल्सिना, एमालेकै दीपा गुरुङ र नेपाली कांग्रेसका प्रकाश पन्थको कार्यकाल आगामी २० फागुनमा सकिँदैछ ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दुई पदमा अन्य समूहमा कास्कीका रोमबहादुर भण्डारी र महिलामा तनहुँकी गौमाया श्रेष्ठ उम्मेदवारी दिएका थिए । भण्डारी र श्रेष्ठले समान १ सय ६ मतभार प्राप्त गरे । यसैबिच नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले निर्वाचनको निरिक्षण गरेका थिए । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, प्रदेशका मन्त्री, सांसद तथा विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुख एवं नेताहरुसंग भेटघाट समेत गरेका थिए ।

प्रतिकृया दिनुहोस्