Pokharapatra National Daily

अवसर दिएमा हिमालय एयरलायन्सले अन्तर्राष्ट्रिय उडान गर्ने

हिमालय एयरलायन्स कम्पनीले आफुहरुलाई अवसर दिएमा पोखराबाट नियमित अन्तरास्ट्रिय हवाई उडान गर्ने जनाएको छ । पोखराका पर्यटन व्यवसायी, रास्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना सहितको छलफल कार्यक्रममा कम्पनीका अध्यक्ष झाओ एनयोंगले आफुहरुलाई अनुमती दिएको अबस्थामा पोखरामा अन्तर्राष्ट्रिय हवाई उडान गर्ने जनाउनु भएको हो ।
सबै तर्फबाट सहयोग प्राप्त हुने वातावरण सृजना भएमा हिमालयन एयरलायन्सले पोखराबाट नियमित चीन लगायतका अन्य पर्यटकीय गन्तव्यसम्म पनि उडान गर्न आफुहरु तयार रहेको उहाँले जनाउनुभयो । अध्यक्ष झाओले पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्न चिनिया पक्ष, नेपाली पक्ष र एयर लाइन्सको संयुक्त प्रयास आवश्यक भएको बताउदै चीनबाट बार्षिक रुपमा १० करोड पर्यटकले बाह्य देशमा भ्रमण गर्ने गरेको र त्यसको १ प्रतिशत मात्र नेपालमा आए पनि १० लाख हुने र त्यो सम्भव भएको उहाँको भनाई थियो ।
कम्बोडियाले दुई बर्षमा चिनिया पर्यटकको संख्या १० गुणा बढाएर ४० लाख पुरयाएको दाबी गर्दै अध्यक्ष झाओले पोखराको प्राकृतिक सुन्दरता, ट्रेकिंग, प्याराग्लाइडिङ लगायतले चिनिया पर्यटकलाई आकर्षित गरेको उल्लेख गर्नुभयो । नेपाल सरकारले बिमान स्थलमा लाग्ने विभिन्न शुल्कमा छुट दिएर एयर लाइन कम्पनीहरुलाई प्रोत्साहन गर्न उडानका लागी आकर्षित गर्नुपर्ने र श्रम, भिसा लगायतका कुरामा सहज बनाउनुपर्ने उहाँको माग थियो । सन् २०२३ को जनवरी १ मा भव्य समारोहका बीच नेपाल सरकारका प्रधानमन्त्री पुष्प कमल दहाल(प्रचण्ड) बाट उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्म पनि नियमित अन्तरास्ट्रिय उडान हुन नसकेकोमा विभिन्न क्षेत्रबाट चिन्ता र चासो व्यक्त गरिएको छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले पोखरा अन्तराष्ट्रिय बिमानस्थलबाट नियमित उडान गर्न आवश्यक भएको बताउदै यसका लागि सम्बन्धित मन्त्री तथा प्रधानमन्त्रीले कुटनैतिक प्रयास गर्नुपर्ने कुरामा जोड दिनुभयो । गण्डकी प्रदेशबासीले निर्माणको क्रममा देखाएको जस्तै सर्व पक्षीय एकता र सक्रियता प्रदर्शन गरेर सरकारलाई यस बिषयमा गम्भीर हुन आग्रह गर्दै आवश्यक परेमा दबाब दिनुपर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरामा अन्तर्राष्ट्रिय हवाई उडान गर्ने बिषयमा राष्ट्रिय सभाका अध्यक्ष र हिमालय एयरलायन्सलाई सकरात्मक प्रयासका लागी धन्यबाद दिदै पोखरा र गण्डकी प्रदेशको तर्फबाट जस्तो सुकै पहल र प्रयास गर्न पनि तयार रहेको बताउनुभयो ।
नेपाल पर्यटन बोर्डका पूर्व सदस्यहरु बासुदेव त्रिपाठी, टिकाराम सापकोटा, पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष चिरन्जीवी पोख्रेल, महासचिव संजयकान्त सिग्देल, उपाध्यक्ष कृष्ण भण्डारी, नरेश भट्टराई, धर्म पन्थी, कृष्ण आचार्य, हरेराम अधिकारी लगायतले पोखराबाट अब अन्तराष्ट्रिय हवाई उडान नगरे आन्दोलनको विकल्प नभएको चेतावनी दिनुभयो ।

प्रतिकृया दिनुहोस्