Pokharapatra National Daily

पोखरामा यःमरी महोत्सव

पोखरा महानगरकाका मेयर धनराज आचार्यले पोखरालाई आउँदो जनवरी महिना भित्र पर्यटकीय राजधानिको रुपमा घोषण दाबी गर्नु भएको छ ।
पोखरा ४ स्थित गणेश टोलको सडकमा सोमबार संचालन भएको यःमरी महोत्सव एवम् यःमरी बनाउने प्रतियोगिताको उद्घाटन गर्दै मेयर आचार्यले उक्त कुरा बताउनु भएको हो । पोखरालाई पर्यटकीय राजधानिको रुपमा घोषणा गर्न गण्डकी प्रदेश सरकार र पोखरा महानगरको संयुक्त पहलमा संघ सरकार समक्ष आग्रह गर्दै आएको बताउदै मेयर आचार्यले जनवरी महिना भित्र संघ सरकारले पोखरालाई पर्यटकीय राजधानिको रुपमा घोषणा नगरे प्रदेश र पोखराले नै घोषणा गर्ने तयारी भएको खुलसा गर्नु भयो । पोखरालाई पर्यटकीय राजधानिको रुपमा घोषणा गरेसंगै के के पुर्वाधार आवश्यक पर्छ त्यसको बारेमा अध्ययन अनुसन्धान समेत हुदै गरेको मेयर आचार्यको भनाई थियो । पोखरा प्राकृतिक, कला संस्कृति, भेषभुषा र साहसिक खेलकुदको केन्द्र भएको बताउदै मेयर आचार्यले यहाँका हरेक जनजातिको विभिन्न कला संस्कृतिले पर्यटकहरुलाई आकर्षित गर्न सकिने दाबी गर्नु भयो । पोखराको पुरानो बस्ती भएको गणेशटोल क्षेत्रको पुराना घरहरुको संरक्षण र प्रबद्र्धन गर्न महानगरले बिषेश ध्यान दिने उहाँले जनाउनु भयो ।
पोखरा महानगरपालिका वडा नं ४ को आयोजना तथा नेवाः मिसा पुचः कास्कीको समन्वयमा पोखरामा भएको उक्त महोत्सवमा उत्साहजनक रुपमा दर्शकहरुको सहभागिता रहेको पोखरा ४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीले बताउनु भयो । विकास भनेको भौतिक पूर्वाधार मात्र निर्माण गर्नु नभई कला र संस्कृतिको संरक्षण पनि रहेको उहाँको भनाई थियो । नेवाःखल कास्कीका अध्यक्ष असोक पालिखेले पोखरामा विभिन्न समुदायको कला संस्कृतिको संरक्षा गर्दै पर्यटनसंग जोड्दै लैजानु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा पोखरा महानगरका प्रवक्ता मोतिराज तिमिल्सिना, पोखरा २ का अध्यक्ष दिवशमान प्रधानांग, पोखरा ३ का अध्यक्ष प्रकाशमान उदास, पोखरा ५ का अध्यक्ष विष्णु बराल, नेवाःमिसा पुचः कास्कीका अध्यक्ष संगिता बज्राचार्य, कांग्रेस वडा नम्बर ४ का सभापति गोविन्द पराजुली, रामकृष्णटोल नेवाःमिसा पुचः का अध्यक्ष भवानी माकाजु लगायतले मःमरी महोत्सव आगामी बर्ष अझ बृहत गर्नुपर्नेमा जोड दिनु भएको थियो । महोत्सवमा यःमरीको प्रदर्शनी तथा बिक्री सहित विभिन्न नेवारी परिकार उपलब्ध गराइएको नेवाः मिसा पुचः कास्कीकी अध्यक्ष संगीता बज्राचार्यले बताउनु भयो । महोत्सवमा यःमरी सहित नेपाली पिज्जा, बारा, सेलरोटी, समयबजी, अचार लक्ता कपडा लगायतका स्टलहरु राखिएका थिए । महोत्सवमा पोखरेली लक्ष्य ब्याण्डको सांगीतिक प्रस्तुति रहेको थियो । मौलिक लाखे नाच, कुमारी नाच लगायत अन्य सांस्कृतिक झाँकीहरुको समेत प्रस्तुत गरिएको सानु जोजिजूले बताउनु भयो । महोत्सव उद्घाटन हुनु पूर्व पोखरामा झाँकी सहितको ¥याली निकालिएको थियो ।

प्रतिकृया दिनुहोस्