Pokharapatra National Daily

‘परिवर्तनका लागि जनता जाग्नुपर्ने छ’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकको परिवर्तनका लागि जनता जाग्नुपर्ने बेला आएको बताउनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी वालिङ नगर समितिले आज स्याङ्जाको वालिङमा आयोजना गरेको खुलासभालाई सम्बोधन गर्दै उहाँले जनता जागेपछि मात्रै परिवर्तन सम्भव हुने बताउनुभयो । देशमा भ्रष्टाचार, कुशासन, तस्करी, विभेदको अँध्यारो मौलाउँदै गएकाले त्यसलाई चिर्नका लागि पनि जनतामा परिवर्तन हुनु जरुरी रहेको उहाँको भनाइ थियो । “देशको अवस्था जटिल बन्दै गयो भन्ने चिन्ता नागरिकमा छ, देशमा परिवर्तन हुनुपर्छ भन्ने सोचमा हुनुहुन्छ”, उहाँले भन्नुभयो ।
“विभिन्न क्षेत्रसँग सम्बन्धित विज्ञहरूको समन्वय र सहकार्यमा पार्टीले नीति तथा योजना बनाइरहेको छ”, अध्यक्ष्य लामिछानेले भन्नुभयो, “हामी बोलेर भन्दा काम गरेर देखाउँछौँ, योजनाबद्ध तरिकाले अगाडि बढ्छौँ, ढुक्क हुनुहोस् ।” हरेक क्षेत्रमा भएका भ्रष्टाचार, बेथिति, कुरीतिको अन्त्यका लागि पार्टी निरन्तररूपमा लाग्ने उहाँले बताउनुभयो । भ्रष्ट नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने मुद्दालाई पार्टीको प्राथमिकताका साथ उठाएको र पार्टीभित्र कोही कसैले भ्रष्टाचार गरेको पाइएमा तत्कालै कारबाही गर्ने पनि बताउनुभयो । यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय अध्यक्ष रवि लामिछाने शनिवार कास्कीका विभिन्न ठाउमा हुने कार्यक्रममा सहभागी हुन पोखरा आउने भएका छन् ।
शनिवार विहान ८ बजे पोखराको जिरो किलो मिटरमा पाटीको गण्डकी प्रदेश कार्यालयको उद्घाटन गर्ने कार्यक्रम तय भएको गण्डकी प्रदेशका प्रवत्ता बिकास भुर्तेलले जानकारी दिएका छन् । राष्ट्रिय स्वतन्त्र पाटी कास्कीको आयोजनामा शनिवार हुने तिन वटा कार्यक्रम अन्तरगत अपरान्न माछापुच्छ्रे गाउपालिकाको लाहाचोकमा गाउँपालिका भेला र दिउसो दुई वजे अंमरसिह खेल मैदानमा खुल्ला आमसभाको आयोजना गरिएको पाटी स्रोतले जानकारी दिएको छ । यी तिनैवटा कार्यक्रममा पाटीका सभापति रवि लामिछाने लगाएत केन्द्रिय तहका नेताहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिकृया दिनुहोस्