Pokharapatra National Daily

‘शिक्षा र स्वास्थ्यप्रति सरकार जिम्मेवार छ’

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली जनताको आधारभूत आवश्यकतामा पर्ने शिक्षा र स्वास्थ्य सेवाप्रतिको जिम्मेवारी सरकारले पूरा गर्ने बताउनुभएको छ ।
पोखरा–१ पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यामिक विद्यालयको हीरक जयन्तीको आज उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले उक्त कुरा बताउनुभएको हो । “जुनसुकै पार्टीको सरकार भए पनि शिक्षा र स्वास्थ्य सेवाबाट हात झिक्न मिल्दैन”, उहाँले भन्नुभयो, “नेपालको संविधानले आधारभूत आवश्यकतामा राखेको शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाउँदै जानुपर्छ ।” शिक्षा ऐन संशोधनका बारेमा संसदीय समितिमा छलफल चलिरहेको बताउँदै उहाँले शिक्षा र स्वास्थ्य क्षेत्र आमनेपाली जनताको हितमा हुनुपर्नेमा जोड दिनुभयो । सामुदायिक विद्यालयमा विद्यार्थी किन आकर्षित भएनन् भन्नेबारेका कारण खोज्न जरुरी भएको बताउँदै १२ कक्षा पास गरेपछि पढ्नका लागि विदेश जाने विद्यार्थीको संख्या घटाउनेतर्फ सरकार लाग्नुपर्ने उहाँको भनाइ छ । “सामुदायिक विद्यालयको व्यवस्थापनको जिम्मा कुन तहको सरकारले लिने भन्नेबारेमा अन्योलता कायमै रहेकाले त्यसतर्फ केन्द्र सरकारको ध्यान जान जरुरी छ”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “विधयेकको छलफलमा पनि स्पष्ट किटान गर्नुपर्छ ।” नेपालका राजनीतिक दलहरुले नेपालमै रोजगारी सिर्जना र स्वरोजगारको वातावरण निर्माण गरी विदेश जाने युवा जनशक्तिलाई नेपालमै खपत गर्नुपर्नेमा उहाँको जोड छ ।” वर्तमान राजनीतिक अवस्थाका बारेमा मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारका कानुन नबन्दा अधिकारविहीन हुनुपरेको बताउँदै बनेका कानुन पनि कार्यान्वयनमा आउन नसकेको दुखेसो गर्नुभयो ।
प्रतिनिधिसभा सदस्य दामोदर पौडेल (वैरागी) ले जनताको आधारभूत आवश्यकतामा पर्ने शिक्षा र स्वास्थ्य सेवा निजी क्षेत्रको जिम्मा लगाउन नहुने बताउनुभयो । सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी वृद्धि गरी गुणस्तरीय शिक्षा प्रदान गर्न जरुरी भएको भनाइ उहाँको थियो । पूर्वविद्यार्थी तथा नेपाल उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले सामुदायिक विद्यालयबाट प्रदान गरिने शिक्षालाई गुणस्तरीय बनाउन यस क्षेत्रका सबै अभिभावकको दायित्व हुने बताउनुभयो ।
राणा शासनको अन्त्य हुनुभन्दा एक वर्षअघि विसं २००६ मा स्थापना भएको उक्त विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्नेतर्फ आफ्ना पाइला अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
एक हजार चार सय विद्यार्थी अध्ययनरत उक्त विद्यालयका ५७ जना शिक्षकमध्ये २८ जना निजी स्रोतकै रहेको जानकारी विद्यालयका प्रधानाध्यापक ईश्वरी सापकोटाले दिनुभयो । सो अवसरमा विद्यालयलाई ७२ रोपनी जग्गा प्रदान गर्ने स्थानीय पराजुली परिवार, विद्यालय स्थापनामा योगदान गर्ने व्यक्तिका परिवारका सदस्यलाई सम्मानसमेत गरिएको थियो ।

प्रतिकृया दिनुहोस्