Pokharapatra National Daily

भारतबाट आएका सात वटा मुर्रा राँगा पोखरामा

भारतबाट आएका सात वटा मुर्रा राँगा पोखरामा आईपुगेको छ । छिमेकी मुलुक भारतले नेपाललाई उपहारको रुपमा उपलब्ध गराएको उन्नत जातका मुर्रा राँगा मध्ये सातवटा शुक्रबार राति पोखरामा ल्याईएको हो ।
भारतले नेपाललाई दिएको १५ वटा उन्नत जातका मुर्रा राँगा मध्ये सातवटा पोखरा ल्याइएको राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराका प्रमुख डा.जगदीश पाण्डेले बताउनु भयो । कृषि तथा पशुपन्क्षीको क्षेत्रमा दुई देशबीचको सहकार्य अनुरुप भारतले दिएका मध्ये सात वटा राँगाबाट अब यस क्षेत्रको भैली पालनमा कोषेढुंगा सािवत हुने उहाँले बताउनु भयो । उहाँका अनुसार पोखरा ल्याइएका मुर्रा राँगालाई २१ दिन क्वारेन्टिनमा राखिने र त्यसपछि मात्र बीर्य उत्पादन सिकाई सुरु गरिने भएको छ । राँगाहरुबाट आगामी पुसदेखी बीर्य सङ्कलन सुरु गरिने भएको छ । मुर्रा राँगाहरु स्वस्थ छन् भनेर प्रमाणित गरेर मात्र त्यसको बीर्य उत्पादनमा लाग्ने भएको प्रमुख डा. पाण्डेले बताउनु भयो । क्वारेन्टिन अवधि पूरा नभई अन्य बथानसँग उक्त राँगा मिसाउन नहुने उहाँले जनाउनु भयो । पाण्डेले भन्नुभयो,“यहाँँ ल्याइएका सबै दुई वर्ष उमेर पूरा भएका छन्, विभिन्न पशु रोगहरुको परीक्षणपछि मात्र बीर्य सङ्कलन सुरु गछौँ ।”
एउटा राँगाबाट वार्षिक १५ देखी २० हजार डोज बीर्य उत्पादन हुने अनुमान गरिएको पशु प्रजनन कार्यालयले उल्लेख गरेको छ । भैँसीमा पहिलोपटक उन्नत जातको नश्ल सुधारका लागि भारतबाट राँगा ल्याइएकाले यहाँका कृषक लाभान्वित हुने कार्यालय प्रमुख डा पाण्डेले बताउनुभयो ।
भारतले दिएका मुर्रा राँगा नेपालगञ्जस्थित रुपैडिया नाका हुँदै स्वदेश ल्याइएको हो । उच्च नश्लका मुर्रा भैंसीहरूले रैथाने भैंसीभन्दा दोब्बर परिमाणमा दूध दिन्छन् । सरकारले यहाँका रैथाने भैंसीहरूमा नश्ल सुधार गर्न भारतबाट मुर्रा राँगा ल्याएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को गत जेठमा सम्पन्न भारत भ्रमणका क्रममा नेपालको अनुरोधमा भारतले १५ वटा मुर्रा राँगा दिने घोषणा गरेको थियो ।

प्रतिकृया दिनुहोस्