Pokharapatra National Daily

उदाउँदो सूर्यलाई अर्घ दिँदै सकियो छठ

पर्यटकीय नगरी पोखरामा पनि यस बर्षको छठ पर्व धुमधामका साथ मनाइएको छ । पोखराका मुख्य गरी तीन स्थानमा धुमधामका साथ छठ पर्व मनाइएको छठ पूजा समितिहरुले जनाएको छ ।
सूर्यका भक्तहरुले सोमबार उदाउदो सूर्यलाई अर्घ सहितको प्रसाद चढाएसंगै यस बर्षको छठ पर्वलाई विदाई गर्नू भएको हो । आइतबार साँझ अस्ताउदो सूर्यलाई अर्घ सहितको मिस्ठान्न खाद्य पदार्थ सहितको फलफूल चढाउनु भएको थियो । पोखरा नदीपुरको नारायणथान मन्दिर परिसर, बैदामको केदारेश्वर महादेवमणि मन्दिर परिसर (फेवाताल किनारा) र रिठ्ठाघाँट त्रिवेणी धाम (कालिखोला) सेतिनदी किनारामा छठ पूजा धुमधामका साथ मनाइएको हो ।
सूर्यका भक्तहरुलाई छठ पर्वको अवसरमा पोखरामै सहज ढंगबाट पूजा गर्ने वातावरण सृजना गर्न पोखराका मुख्य तीन ठाउँमा छठ पूजा समितिले सरसफाई देखि आन्तरिक व्यबस्थापन गरेको नारायणथान मन्दिर स्थित छठ पूजा समितिका अध्यक्ष विनोद गुप्ताले बताउनु भयो । उहाँका अनुसार यस बर्ष पोखरा क्षेत्रमै धुमधामका साथ छठ पर्व मनाइएको छ । करिब ५ सय जनालाई पूजा आज गर्न मिल्ने गरी आन्तरिक व्यबस्थापन गरेकोे उहाँको भनाई छ ।
केदारेश्वर महादेवमणि क्षेत्रमा आइतबार धुमधामका साथ छठ पर्व मनाइएको एन.बी.व्यवसायी छठ पूजा समितिका अध्यक्ष विश्राम कुशवाहाले बताउनु भयो । पोखरा क्षेत्रका सुर्यका भक्तहरुलाई सहज ढंगले पूजा आज गर्ने गरी आफुहरुले टेण्ट सहितको छठ घाँटको व्यस्थापन गरेको उहाँले जनाउनु भयो । केही दिन अघि देखि उक्त क्षेत्रमा सरसफाईसंगै छठ पुजा स्थलमा रंगरोगन सहित झकिझकाउ पारिएको अध्यक्ष कुशवाहाले बताउनु भयो । त्यसै गरीे विगत दुई दशक भन्दा लामो समय देखि तराई मुलका नेपालीहरुले पोखराका विभिन्न ठाँउमा छठ पूजा मनाउन थाल्नु भएसंगै तराई तथा मधेशमा गएर छठ पर्व मनाउनेहरुलाई यही रोकेको सुर्यका भक्तहरुले बताउनु हुन्छ । पोखरामा पछिल्ला बर्ष देखि मधेषि, तराई तथा केहि पहाडी मुलका मानिसहरुले समेत छठ पर्व मनाउन थालेको एन बी व्यवसायी समिति कास्कीका पूर्व अध्यक्ष भूनेश कुमारले बताउनु भयो । यस बर्ष केदारेश्वरमा २५ जना पहाडी मुलका व्यक्तिहरुले छठ पूजाको व्रत बसि पूजा गर्नु भएको उहाँको भनाई थियो । पोखरा राष्ट्र बैंक चोक निवासि गंगा कुंवर थापाले यस बर्ष पनि छठ पूजा धुमधामका साथ मनाउनु भएको हो । आफ्नो मनोकाक्षा पूरा हुने धार्मिक विश्वासका साथ उक्त पर्व केही बर्ष देखि आफुले मनाउन लागेको उहाँले जनाउनु भयो । विगत ८ बर्ष देखि सेती गण्डकी र कालिखोलाको दोभान रिठ्ठाघाँट बैकुण्ठ त्रिवेणी धाम (कालिखोला) मा पनि धुमधामका साथ छठ पर्व मनाउदै आएको हरिश्चन्द्र प्रसाद कुशवाहाले बताउनु भयो । छठ पूजा समिति कालिखोलाका अध्यक्ष समेत रहनु भएको कुशवाहाले करिब एक सय जना सूर्यका भक्तहरुलाई पूजा आज गर्ने गरी आन्तरिक व्यबस्थापनमा आफुहरुले व्यबस्थापन गरेको उहाँले बताउनु भयो । छठ पर्वको पूजामा आगन्तुकहरुलाई सोमबार उदाउदो सुर्यलाई अर्घ दिए पछि ठेकुवा सहितको प्रसाद समेत वितरण गरिएको थियो । यस बर्षको छठ पर्वको मुख्य दिन (षष्ठी) आइतबार मंसिर ३ गते परेको हो जुन दीनमा सरकारले सार्वजनिक बिदा समेत दिएको थियो । सष्ठीमा अस्ताउदो सुर्यलाई अर्घ दिने गरीन्छ भने विभिन्न फलफुल, कन्दमुल,ठेकुवा, कसार लगायतका सामाग्रिको साथमा सुर्यका भक्तहरुले पूजा गर्ने गर्नु हुन्छ । छठका भक्तहरुले केराको खम्मा, उखु, अदुवा, भोगटे, सुन्तला लगायतका फलफुलका वोटहरु सजावट गर्ने गर्नु हुन्छ । सुर्यलाई भगवानको प्रतिको रुपमा पुजा गर्ने भक्तहरुले आफ्नो मनोकाक्षा पुरा हुने धार्मिक विश्वासका साथ उहाँहरु पूजा आज गर्न गर्नु हुन्छ ।

प्रतिकृया दिनुहोस्