Pokharapatra National Daily

पोखराको लेकसाइडलाई २४ घण्टा नै खोल्न उच्च अदालतको आदेश

पोखराको पर्यटकीय क्षेत्र लेकसाइडलाई २४ घण्टा नै खुला गर्न उच्च अदालत पोखराले आदेश दिएको छ । उच्चका कायम मुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजालासले बुधबार लेकसाइडमा भएका व्यापार व्यवसाय निरन्तर खोल्न दिन जिल्ला प्रशासन कार्यालय कास्कीलाई अन्तरिम आदेश जारी गरेको हो ।
यसअघि व्यापार, व्यवसाय सञ्चालनमा रोक नलगाउन माग सहित स्थानीय देवीकुमारी बरालले अदालतमा निवेदन दिनुभएको थियो । बरालले दिएको रिट निवेदन उपरमा बहसपछि अदालतले अन्तिम निर्णय नहुञ्जेल सम्मका लागि कानून विपरितको कार्य भएको अवस्थामा बाहेक कानून बमोजिम व्यापार व्यवसाय गर्न रोक्ने, रोक्न लगाउने कार्य नगर्न इजलासबाट आदेश भएको अदालतका उपरजिष्ट्रार एवं सूचना अधिकारी विश्वनाथ अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार निवेदकलाई कानून बमोजिम व्यापार व्यवसाय गर्न रोक्ने, रोक्न लगाउने कार्य नगर्नु नगराउनु भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ तथा मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५८ बमोजिम विपक्षीहरुका नाममा अन्तरिम आदेश गरिएको हो ।
अदालतले निवेदन माग अनुसारको आदेश जारी हुनु नपर्ने भए आधार, कारण एवं प्रमाणसहित म्याद सूचना भएको मितिले १५ दिनभित्र विपक्षीहरुका हकमा उच्च सरकारी वकिल कार्यालय पोखरामार्फत्, लिखित जवाफ पेस गर्न विपक्षीहरुलाई आग्रह गरेको छ । रिटमा निवदेकले गृह प्रशासन सुधार कार्ययोजना २०७४ को बुँदा नम्बर २५ मा ठमेल, दरबारमार्ग, पोखराको लेकसाइड जस्ता पर्यटकको आवागमन बढी हुने क्षेत्रहरुमा २४ घण्टा बजार खुला रहने गरी आवश्यक सुरक्षाको प्रबन्ध गरिने छ भन्ने व्यवस्था भएको दाबी थियो । यसअघि रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता मोहननाथ कोइराला, अधिवक्ता त्रय शिवराज वाग्ले, दीपक पराजुली र दिनेश आचार्यले पक्षमा बहस गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्