Pokharapatra National Daily

पोख्रेली पर्यटन र पूर्वीय ज्ञान                                          

-डा. रामचन्द्र लामिछाने

पोखरा, संस्कृति र प्रकृतिले भरिपूर्ण शहर, साथमा पर्यटकीय गतिविधि मार्फत समृद्धिको आधार कोर्न प्रयासरत, ताल र हिमालको शहर पनि । पोखराको पर्यटन विकास र व्यवसायमा सकारात्मक सोच लगायतका विषयवस्तु माथि केन्द्रित रहेर पोखरा महानगरपालिका अन्र्तगत शहरी योजना आयोगका उपाध्यक्ष तथा सकारात्मक सोचका प्रर्वतक डा. रामचन्द्र लामिछानेसँग पोखरापत्र दैनिकका दीपेन्द्र पहारीले गरेको कुराकानी ।

 विश्वका शहरहरुमाँझ पोखरा शहरलाई हेर्दा, तपाईको नजरमा, पोखरा कस्तो शहर हो ?
– करीब २० वटा देशका विकसित शहरहरुको यात्रा गर्दाको मेरो अनुभवमा, पोखरा शहर प्राकृतिक सुन्दरताले सुसज्जित शहर हो । अझ यसलाई भौतिक रुपमा समेत विकास गर्न सके विश्वकै उत्कृष्ट शहर हुने सम्भावना बोकेको शहर हो, पोखरा ।
 शहरी योजना आयोगको बागडोर सम्हालेपछिको अनुभव कस्तो रह्यो ?
– भौतिक रुपमा पोखरामा केही सुधार भएको छ । सँगसगै पोखराको प्राकृतिक वातावरणको सन्तुलन र मौलिक संस्कृति संरक्षण गर्दै समग्र शहरको आर्थिक विकास गर्न तर्फ आयोग अघि बढिरहेको छ ।
 पोखराको आर्थिक विकासका लागि आयोगले कस्तो भूमिका खेलिरहेको छ ?
– अब बन्ने योजनाले पोखराको अर्थतन्त्र लाई दिशानिर्देश गर्ने नै छ । सोही अनुसार शुष्म तरिकाले अध्ययन गरी आर्थिक विकासका योजनाहरु बनाईरहेका छांै ।
 पोखरा एक पर्यटकीय शहर पनि भएको नाताले पर्यटन मार्फत आर्थिक समृद्धिको संभावना कत्तिको देख्नुहुन्छ ?
– यो पोस्ट कोभिडको अवस्थामा पर्यटनको प्याराडायम शिफ्ट भएको छ । अब पर्यटकका लागि प्राकृतिक सुन्दरता र संस्कृतिसँगै नविनतम् ज्ञान पनि दिनुपर्ने हुन्छ ताकी पोखरा पर्यटकको पहिलो रोजाईमा पर्न सकोस् । अहिले विश्वमा नै पूर्वीय संस्कृतिको ज्ञानको निकै माग बढिरहेको छ । जस्तै, पोखरामा तालको किनारमा बसेर पर्यटकले हिमाल हेर्दै ध्यान, योग, मेडिटेशन लगायतका गतिविधि गर्न सक्छन् । यो सँगै पोखरा, संस्कृति र वैज्ञानिक खोजको केन्द्र पनि बन्न सक्छ । यसो गर्दा आर्थिक समृद्धिको आधार अझ बलियो हुन जान्छ ।
 पछिल्ला दिनहरुमा पर्यटन क्षेत्रमा पूर्वीय दर्शनको प्रयोग कस्तो पाउनुभएको छ ?
– हाम्रा पुरानो सम्पदा र मौलिक संस्कृति सँगै पूर्वीय दर्शनलाई पनि टुरीजम प्रोडक्ट बनाएर अगाडि बढाउन यहाँका पर्यटन व्यवसायी र नीति निर्माताहरुले शुरुवात त गर्नुभएको छ तर धेरै गर्न बाँकी छ । यसका लागि पूर्वाधर सँगै उच्च परिकल्पना शक्तिको खाँचो हुन्छ ।
 पर्यटनमा पूर्वीय दर्शनको औचित्य कसरी पुष्टी गर्न सकिन्छ ?
– अहिले मानिसको जीवनशैलीका कारणले धेरै रोगहरु निम्ती रहेका छन् । यस्तो अवस्थामा पूर्वीय दर्शनको ज्ञान पश्चिमाहरुका लागि अचुक औषधी हुन सक्छ । यसका लागि ज्ञान केन्द्र निर्माण लगायतमा सबैको प्रयास उत्तिकै महत्वपूर्ण हुन्छ । अहिले शिथिल रहेको पर्यटनमा यो प्रयास सहयोगी सिद्ध हुन सक्छ ।
 पर्यटनमा पूर्वीय दर्शन एक प्रोडक्टको रुपमा अघि बढाउन के के गर्नुपर्ला ?
– पोखरा नजिकै लुम्बिनी, मुक्तिनाथ, हिमाल, ताल, बुद्ध बिहारहरु भएकाले यो आँफैमा पूर्वीय दर्शनका लागि आवश्यक उचित भौगोलिक स्थान हो । यी सबै कुरा पोखरालाई ब्रान्डिङ गर्न पर्याप्त छन् । यसको विकासका लागि सरोकारवाला सबै एकजुट भई छलफलको विषय बनाउनु जरुरी छ ताकी यो बिषय राष्ट्रिय नीतिमा समेत प्रतिबिम्बित हुन सकोस् । अनि यो विषय जतिसक्दो छिटो अन्र्तर्राष्ट्रिय पर्यटन बजारमा जानकारी गराउनुपर्ने हुन्छ ।
 जनशक्ति र पूर्वाधरको हिसाबले पोखराको समृद्धिको यात्रामा हामी कहाँ छांै ?
– आज स्थानीय कफिले बजार पाईरहेको हुँदैन, तर बिदेशी ब्रान्डले पोखरामा बजार पाईरहेको छ । त्यसैले अबको जमाना भनेको उत्पादनको होइन, ज्ञानको हो । तसर्थ समृद्धिका लागि पोखराका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रर्बद्धन गर्न सक्नुप¥यो । अनि हामीसँग पर्यटनमा राम्रा होटेल लगायतका पूर्वाधार भएता पनि त्यसमा काम गर्ने दक्ष जनशक्तिको कमी छ । यसले सेवाको गुणस्तर प्रवाहमा असर परेको छ, त्यसतर्फ हामीले जोड दिनुपर्छ ।
 कस्तो चुनौतीले गर्दा पोखराको विकासको सोचेको गतिमा हुन सकिरहेको छैन ?
– पोखराको विकासमा सबै जना लागि परेता पनि सर्वप्रथम पोखरेली जनतानै जागरुक हुनुपर्ने देख्छु । पोखराका कुनैपनि विकासका गतिविधिमा नगरबासीको चासोले बढी महत्वपूर्ण भूमिका खेलेको हुन्छ । तब मात्र विकासले गति लिन्छ ।
 योजना निर्माण र सकारात्मक सोच बीच कस्तो सम्बन्ध छ ?
– सकारात्मक सोचले बनाएका योजनाहरु सधै सफल हुन्छन् । योजना बनाउदा हामीले धेरै सम्भावना देख्न जान्नु पर्दछ । यो सँगै भविष्यलाई देखेर योजना बनाउनुपर्छ र त्यो भविष्य भनेको नै सकारात्मक सोच हो । त्यस्ता योजनामा नयाँपन पनि हुन्छ ।
 व्यावसायिक सफलताका लागि सकारात्मक सोच कति जरुरी छ ?
– अन्तर्राष्ट्रिय क्षेत्रको कुरा गर्ने हो भने जुन व्यवसायमा सकारात्मक सोच बढी हुन्छ, त्यो व्यवसाय कैयौ गुना बढी सफल भएका उदाहरणहरु छन् । त्यसकारण सकारात्मक सोच त व्यवसायको मुटु नै हो ।

प्रतिकृया दिनुहोस्