Pokharapatra National Daily

मनाङमा छ महिनामा नौ हजार सातसय बढी पर्यटक भित्रिए

हिमाली जिल्ला मनाङ घुम्नका लागि मौसम अनुकूल मानिन्छ । यस समयमा पर्यटक आगमनको उल्लेख्य सुरुआत भएको छ । मनाङ भ्रमणको अनुकूल वातावरण हुनासाथ यहाँ पर्यटकको आगमन वृद्धि भएको छ । विसं २०८० को वैशाखदेखि असोज मसान्तसम्म मनाङमा कूल नौ हजार सात सय ६२ बाह्य पर्यटक भित्रिएका छन् ।
अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना इलाका कार्यालय (एक्याप) मनाङका अनुसार यहाँ आउने पर्यटकले अन्नपूर्ण पदमार्ग र नार्पाभूमिस्थित लार्केपास दवै क्षेत्रको भ्रमण गर्ने गरेको तथ्याङ्कमा उल्लेख छ । अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना इलाका कार्यालय (एक्याप) मनाङका प्रमुख ढकबहादुर भुजेलले नौ हजार दुई सय २८ पर्यटकले अन्नपूर्ण पदमार्ग मात्र भ्रमण गरेका जानकारी दिनुभयो । उहाँका अनुसार पाँच सय २८ पर्यटकले नार्पाभूमिस्थित लार्केपास गरेका छन् । यस क्षेत्रबाट गोरखाको चुङनुम्री हुँदै पर्यटक गन्तव्यतर्फ निस्कने गर्दछन् ।
त्यस्तै असोज मसान्तसम्ममा मात्रै चार हजार तीन सय ५७ बाह्य पर्यटक भित्रिएका छन् । वैशाखमा तीन हजार दुई सय ६६, जेठमा छ सय ६१, असारमा दुई सय ५९, साउनमा दुई सय ९६, भदौमा नौ सय १३ बाह्य पर्यटक भित्रिएको तथ्याङ्कमा उल्लेख छ । गतवर्ष विसं २०७९ को साउनदेखि मङ्सिरसम्ममा एक हजार ७२ पर्यटक भित्रिएका प्रमुख भुजेलले बताउनुभयो ।
गत वर्षको तुलनामा यसवर्ष उल्लेख्य रुपमा पर्यटक वृद्धि भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँको मुख्य आयस्रोत नै पर्यटन क्षेत्र हुनुपर्छ । पर्यटकको आगमन बिना यहाँको राजस्वसमेत उठ्न मुस्किल हुन्छ । यसले नै यहाँका स्थानीयवासीलाई यही बस्ने वातावरण बनाएको छ ।” यहाँका स्थानीयवासीले होटल तथा पर्यटन व्यवसायसँगै कृषि क्षेत्रमा पनि आवद्ध रहेका छन् ।
आयातित वस्तुभन्दा यहाँका स्थानीयवासीले पर्यटकलाई यहीँ उत्पादित खाद्यवस्तु पर्यटकलाई उपलब्ध गराउने गरेका पाइन्छ । “सिजनमा यसवर्ष उल्लेख्य पर्यटकको आगमन भएको छ । यसले व्यावसायिकलाई उत्साह थपेको छ”, पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले भन्नुभयो, “आजभोलि आन्तरिक पर्यटकको आगमन पनि वृद्धि भएको छ ।”
बाह्य पर्यटकसँगै आन्तरिक पर्यटकको पनि उल्लेख्य आगमन भएको उहाँले बताउनुभयो ।“बाह्य पर्यटकले पहिले नै बुकिङ गरेका हुन्छन् । जसले गर्दा उहाँहरुलाई सहज रुपमा बस्ने स्थानको निश्चित भइसकेको हुन्छ । तर, आन्तरिक पर्यटकले यहीँ आएर मात्रै होटल खोज्दा भने समस्या खेप्नु परेको पाइएको छ । यस सिजनमा मनाङ आउँदा पहिलेदेखि नै यहाँका होटल बुकिङ भइसक्ने भएकाले यससम्बन्धी जानकारी लिएर र होटलसम्बन्धी जानकारी लिन आग्रह गर्छु । जसले गर्दा चिसोमा समस्या भोग्न नपरोस् ।”
अहिलेको मौसममा मनाङका विभिन्न क्षेत्र भ्रमणका लागि अनुकूल वातावरण रहेको छ । अलिअलि हिमपात, सेता हिमाल टल्कने, डाँडापाखामा नै हिउँ रहँदा पर्यटकलाई लोभ्याउने गर्दछ । अहिले नेपालीमा घुम्ने, नयाँ नयाँ पर्यटकीय गन्तव्यमा पुग्ने प्रचलन बढ्दै गएको छ । जसले गर्दा मनाङका विभिन्न स्थानको भ्रमणमा आउने आन्तरिक पर्यटक समेत ह्वात्तै बढेका छन् ।
आन्तरिक पर्यटकको तथ्याङ्क त राखिने गरिएको छैन । तर, दैनिक रुपमा यहाँ आउने आन्तरिक पर्यटकको सङ्ख्या उल्लेख्य वृद्धि भएको एक्यापका प्रमुख भुजेलले बताउनुभयो । दैनिक रुपमा एक हजार बढी आन्तरिक पर्यटक आउने गरेका होटल व्यवसायी बाबुराम गुरुङले बताउनुभयो । यसरी पर्यटक आउँदा बन्द व्यापार खुलाएर उत्साह थपिदिएको उहाँले बताउनुभयो । अहिले यहाँका होटल व्यवसायीमा खुसीसँगै उत्साह बढेको उहाँले बताउनुभयो । हिउँद लाग्ने बेलामा र वर्षायाम सुरुआतको समयमा गरी दुई सिजनमा मनाङ घुम्नका लागि अनुकूल समय मानिन्छ । यसै समयलाई मध्यनजर गरी मनाङमा पर्यटक घुम्न आउने गर्दछन् । पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नुका साथै मनाङबाट थोराङ्लापास गरी कोही मुस्ताङ त कोही पोखरा पुग्दछन् । अन्नपूर्ण पदमार्गमार्फत पदयात्रा गरी पर्यटक आ–आफ्नो गन्तव्यतर्फ जाने गर्दछन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङे चौतारा हो । पर्यटकले यहाँबाट सुरु गरिएको यात्रा विशेष गरी मुस्ताङ पुग्ने गर्दछन् । अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच वटा जिल्ला जोडिएको छ ।
काठमाडौँ, पोखरा, चितवन, बुटवललगायतका स्थानदेखि बेँसीसहरसम्म सवारीसाधनमार्फत मनाङ आउन सकिन्छ । पदमार्गबाट मनाङका विभिन्न स्थानको अवलोकनसहित यात्राको सुरुआत गर्दछन् ।

प्रतिकृया दिनुहोस्