Pokharapatra National Daily

महासचिव गुटेरेसद्वारा जलवायु परिवर्तनको असर न्यूनीकरणमा सहयोग गर्ने प्रतिबद्धता

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालमा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाल भ्रमणमा रहेका महासचिव गुटेरेसले आज पोखरा विमानस्थलमा पत्रकारहरु माझ संक्षिप्त कुरा राख्दै उक्त कुरा बताएका हुन् । मंगलबार बिहान अन्नपूर्ण आधार शिविर(एबीसी) पुगेका उनले विकसित तथा औद्योगिक राष्ट्रका कारण जलवायु परिवर्तन भइरहेको बताउँदै त्यसको नतिजा नेपालले भोगिरहेको उल्लेख गरे । जलवायु परिवर्तनको बढ्दो असरका सन्दर्भमा नेपालको त्यस बिषयमा भूमिका नभएको उनको भनाई थियो । विश्वव्यापी तापमान वृद्धिका कारण हिमाली शृङ्खलाको हिउँ दिनप्रतिदिन घटिरहेको उल्लेख गर्दै उनले हिउँ पग्लिएकै कारण पहिरो तथा बाढीले समुदायमा क्षति पुग्न थालेको महासचिव गुटेरेसले बताए । धनी तथा औद्योगिक राष्ट्रलाई जलवायु परिवर्तनको असर न्यूनीकरण हुने गरी प्रविधि तथा उपाय अपनाउन उनले आह्वान गरे । नेपाली सेनाको हेलिकोप्टरबाट अन्नपूर्ण आधार शिविर पुग्नुभएका महासचिव गुटेरेसलाई अन्नपूर्ण गाउँपालिकाका प्रमुख विष्णुबहादुर केसी, छोम्रोङ पर्यटन समितिका पदाधिकारी तथा स्थानीय पर्यटन व्यवसायीले स्वागत गरेका थिए । पोखरा विमानस्थलमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखराका मेयर धनराज आचार्य, पुम्दीकोट कोट बिकास समितिका अध्यक्ष चन्द्रकान्त बराल, पोखरा २२ का वडा अध्यक्ष हिमलाल बराल, नेपाल पत्रकार महासघ कास्कीका अध्यक्ष विमला भण्डारीले मायाको चिनो हस्तान्तरण गर्दै विदाई गरेका थिए । नेपाली सेनाको हेलिकोप्टरबाट महासचिव गुटेरेस भैरहवा प्रस्थान गरेका हुन् । त्यसै गरी सोमबार महासचिव गुटेरेस पोखराको नयाँ पर्यटकीय गन्तव्य पोखरा २२ मा रहेको बिशाल महादेवको मुर्ति अवलोकन गरेका थिए भने बुलेका साँझ पोखराको फेवातालमा डुंगा सयर समेत गरेका थिए । यसैबिच, संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसलाई कास्कीको अन्नपूर्ण गाउँपालिका स्थानियले जलवायू परिवर्तनको असरलाई न्यूनिकरण गर्न आग्रह गरे ।
कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं.११ (साविक घान्द्रुक गाविस) मा पर्ने अन्नपूर्ण आधार शिविर (एबीसी) मा मंगलबार बिहान महासचिव गुटेरेसलाई स्वागत गर्दै स्थानियले जलवायु परिवर्तको असर हिमाली क्षेत्रमा पर्न थालेकोले त्यसलाई न्यूनिकरण गर्न आवश्यक पहल गर्न माग गरे । जलवायु परिवर्तनको असरबारे प्रत्यक्ष अनुभव गर्न र स्थानीयसँग कुरा गर्नका लागि एबीसी पुग्नु भएको महासचिव गुटेरेसलाई स्थानीयले झाँकी सहित स्वागत गरिएकोे थियो । उनको स्वागतको लागि एविसीमा छुट्टै हेलिप्याड बनाइएको स्थानिय भरत गुरुङले बताए । अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णु बहादुर केसी सहितको टोलीले महासचिव गुटेरेस समक्ष जलवायु परिवर्तनका समग्र असरबारे जानकारी गराउर्दै जलवायु परिवर्तन बाट प्रभावित क्षेत्रलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, विकास र समृद्धिमा साथ सहयोग गर्नुपर्ने र जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने सम्बन्धि ध्यानाकर्षण गराएका थिए । वडाध्यक्ष हिम गुरुङले पहिलाका चरन क्षेत्र र हिमाल भन्दा तल्लो क्षेत्रका बस्तीमा जलवायूपरिवर्तनले मानव जीवनलाई समस्यामा पार्न थालेको उल्लेख गरे ।

प्रतिकृया दिनुहोस्