Pokharapatra National Daily

पोखरामा भुटानबाट पहिलो व्यावसायिक उडान सुरु

पोखरामा अन्तर्राष्ट्रिय पहिलो व्यवसायिक उडान गर्न सुरु गरेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटानको डुक एयरले शनिबार पहिलो व्यवसायीक अन्तर्राष्ट्रिय उडान गर्न सफल भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
ड्रुकले ९ सेप्टेम्बर (२३ भदौ) का दिन पारोबाट पोखरा उडान गर्न अनुमति प्राप्त गरेसंगै शनिबार तीन जना यात्रु सहित डुक एयरले पहिलो व्यवसायीक अन्तर्राष्ट्रिय उडान गर्न सफल भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख देवचन्द्रलाल कर्णले बताउनु भयो । भूटानको पारो विमानस्थलबाट शनिबार बिहान ५ः५५ बजे उडान भरेको उक्त विमानमा बिहान ६ः४० मा पोखरा विमानस्थलमा अवतरण गरेको उहाँले बताउनु भयो । नेपाली, अमेरीका र भेतनामका ३ जना यात्रु रहेको प्रमुख कर्णले बताउनु भयो । त्यसै गरी पोखरा आएको उक्त विमान करिब एक घण्टा पछि अधिकांश अमेरीकन, केही भारतीय पर्यटक सहित ४२ जना यात्रु लियर भूटान तर्फ प्रस्थान गरेको उहाँले जनाकारी गराउनु भयो । नेपाल सरकारले विमानस्थलबाट दुई प्रकारको राजश्व संकलन गर्ने गरेको उल्लेख गर्दै प्रमुख कर्णले पोखराबाट बाहिरिएका प्रति यात्रु ३ हजार रुपैया राजश्व संकलन भएको प्रमुख कर्णले बताउनु भयो । त्यस्तै ग्राउण्ड हेण्डलीङ गर्दाको ५० प्रतिशत मात्र शुल्क लाग्ने त्यो बाहेक पार्किङ, सुरक्षा लगायतमा निःशुल्क रहेको उहाँले बताउनु भयो । उक्त रकम नेपाल एयरलायन्सलाई दिनुपर्ने जसबाट १५ प्रतिशत पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई प्राप्त हुने विमानस्थलले जनाएको छ । पोखराको नयाँ विमानस्थलमा होल्डीङ गर्न पनि नपर्ने, यात्रुलाई समेत सुविधाहरु हुने गरेको विभिन्न अन्तर्राष्ट्रिय एयरलायन्स कम्पनीहरुसंग छोटो दुरीका हवाई उडान गर्नको लागि आग्रह गर्दै गरेको प्रमुख कर्णले बताउनु भयो ।
अन्तर्राष्ट्रिय सम्बन्धका आधारमा भुटानको डुक एयरका सिनियर क्याप्टेनलाई पोखरामा आउन आग्रह गरे अनुसार उहाँको टिम पोखरामा आएसंगै निकै उत्साहित भएको तथा आगामी दिनमा पुनः उडान गर्ने भएको उहाँले विश्वास व्यक्त गर्नु भयो । डुकको न्यारोबडी जहाज जुन १ सय ५० सिटरको रहेको थियो ।
भुटानको अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने भएसंगै पोखरा आउने र पोखराबाट भुटान जाने पर्यटकहरुलाई विमानस्थलमा पोखराका पर्यटन व्यवसायीहरुले स्वागत तथा बिदाई गर्नु भएको पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनु भयो । स्वागत तथा विधाई कार्यक्रममा सहभागि हुनु भएको गण्डकी प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री दीपेन्द्र बहादुर थापाले पोखरा विमानस्थललाई विभिन्न देशसंग हवाई उडान गर्ने गराउने बिषयमा संघ सरकार, पोखरा बिमानस्थल र विभिन्न एयरलायन्स कम्पनीले चासो दिनुपर्ने बताउनु भयो । प्रदेश सरकारले पोखरा विमानस्थलले नचिन्ने गरेकोले प्रदेश सरकारले गर्नुपर्ने बिषयमा सरकार तयार रहेको उहाँको भनाई थियो । पोखराका मेयर धनराज आचार्यले चिनबाट र भूटानबाट अन्तराष्ट्रिय हवाई उडान भएसंगै अब पोखरा अन्तराष्ट्रिय हवाई उडान गर्न तयार छ भन्ने कुराको पुष्टि भएको दाबी गर्नु भयो । अब सेप्टेम्बर पछि पोखरामा अन्तराष्ट्रिय नियमित हवाई उडान उच्चस्तरिय तहमा कुराकानी भएको मेयर आचार्यले बताउनु भयो । केही समयमै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चिन भ्रमणमा जाने कार्यक्रम रहेकोले उहाँले पोखरा देखि चाइनाका केही शहरहरुसंग हवाइै उडान गर्ने बिषयमा समेत छलफल हुने उहाँले बताउनु भयो । यसअघि चीनको छेन्दुकबाट आएको सिचुआन एयरलाइन्सको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । ड्रागन बोर्ट प्रतियोगितामा सहभागि खेलाडी तथा अफिसियल सहितको टोली चार्टर मार्फत पोखरामा पहिलो अन्तराष्ट्रिय उडान भए पछि हाल भुटानबाट भने व्यवसायीक उडान भएको हो । चार्टर्ड उडानको रिपोर्टका आधारमा ड्रुकले भुटानबाट नियमित उडानको समेत आश्वासन दिएको प्राधिकरणले जनाएको छ । अंग्रेजी नयाँ वर्षको अवसरमा १ जनवरी २०२३ का दिन उद्घाटन भएको थियो । करिब २३ अर्ब ऋण लगानी भएको विमानस्थलबाट अन्तराष्ट्रिय हवाई उडान गर्न नसके पोखरेली र नेपाललाई नै यसले आर्थिक रुपमा ठुलो असर पार्ने पोखरेलीहरुले गुनासो गर्दै आउनु भएको छ ।

प्रतिकृया दिनुहोस्